संसदलाई सम्बाेधन गर्दै उपसभामुख पदबाट तुम्बाहाङ्फेकाे राजीनामा

 माघ ६, २०७६ सोमबार १३:३५:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - शिवमाया तुम्बाहाङ्फेले उपसभामुख पदबाट राजीनामा दिनु भएको छ ।

सोमबार बसेको प्रतिनिधि सभाकाे संसद बैठकलाई सम्बाेधन गर्दै तुम्बाहाङ्फेले पदबाट राजीनामा दिनु भएको हो । राजीनामा दिँदै उहाँले दुई वर्षसँगै रहेर काम गर्न सहयाेग गर्ने सबैलाई धन्यवाद पनि दिनु भएकाे छ । 

उपसभामुखले राजीनामा दिएसँगै सभामुख चयनकाे प्रकृया पनि अब अघि बढ्ने छ । उपसभामुखको राजीनामासँगै बैठक फेरि दिउँसाे १ बजे बस्ने गरी स्थगित भएकाे छ । 

आजै दिउँसो १ बजेपछि बस्ने प्रतिनिधि सभाको बैठक ज्येष्ठ सदस्य महन्थ ठाकुरले सञ्चालन गर्नुहुने छ ।  

बैठकमा ज्येष्ठ सदस्यले सभामुख चयनको प्रक्रिया थाल्न संसदका महासचिव मनोहर भट्टराईलाई निर्देशन दिएपछि सभामुखको चुनावी प्रक्रिया थाल्ने सचिवालयको तयारी छ । सचिवालय स्राेतका अनुसार यही माघ ८ गतेका लागि सभामुखको चुनाव हुने सम्भावना छ ।

सचिवालयले उपसभामुखका लागि भने चुनावी प्रक्रिया आज सुरु नगर्ने भएको छ । सत्तारुढ दल नेकपाले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

मुख्य विपक्षी दल काङ्ग्रेसले भने सभामुखमा पुष्पा भुषाललाई उठाउने तयारी गरेकाे छ । सभामुख र उपसभामुख भिन्न भिन्न दलका हुनुपर्ने संवैधानिक व्यवस्था छ । 

यस्ताे छ तुम्बाहाङ्फेले संसदमा गर्नु भएकाे सम्बाेधन

एउटा अप्रत्याशित र अस्वभाविक परिस्थितिका कारण केही समयदेखि सभामुख पद रिक्त रहँदै आएकाे कुरा यहाँहरुलाई जानकारी नै छ । सार्वभाैम संसदकाे महत्वपूर्ण अङ्ग प्रतिनिधि सभा लामाे समयसम्म सभामुखविहीन हुँदा उत्पन्न भएकाे जटिलता र यसले सिर्जना गरेका समस्याका बारेमा हामी सबै जानकार नै छाैँ । यस्ताे स्थिति अब कायम रहनु हुँदैन ।

यसले छिटाे निकास पाउनु पर्छ भन्ने माननीय सदस्यहरुकाे भावनालाई मध्यनजर गर्दै पटक–पटक सम्बन्धित निकायलाई जानकारी गराएकाे यहाँहरुलाई थाहा नै छ । अन्याैलपूर्ण अवस्थामा उपसभामुख पद रिक्त गरेर यस गरिमामय सदनलाई नेतृत्वविहीन राख्नु उचित नहुने मान्यताकाे आधारमा सभामुख चयनको ठोस आधार सिर्जना भएपछि आफूले मार्ग प्रशस्त गर्ने भनेर मैले सार्वजनिकरुपमा राखेको मान्यता सम्मानित सदनसमक्ष अभिलेखित गराउन चाहन्छु ।

समावेशी लोकतन्त्र हाम्रो संवैधानिक व्यवस्थाको विशेषताको रुपमा रहेको छ । संविधानको यो मर्म अक्षर या वचनबाट होइन, हाम्रा अभ्यास र आचरणबाट मात्रै कार्यान्वयन हुन सक्छ भन्ने मलाई लाग्छ । राज्यको उच्च ओहदाहरुमा समाजका सबै अङ्गहरुको प्रतिबिम्ब झल्किन सके मात्रै वास्तविक अर्थमा लोकतन्त्र सुदृढ हुन सक्छ भन्ने यथार्थरुपमा संविधान निर्माणमा अगुवाइ गर्नु हुने राजनीतिक दल र नेतृत्व वर्ग सहमत हुनुहुन्छ भन्ने मैले आशा लिएको छु ।

यसै विषयमा आधारित रहेर मैले आफ्नो धारणाहरु सम्बन्धित निकायहरुमा प्रस्तुत गरेकी हुँ । मेरा यी धारणाहरु कुनै अस्वभाविक महत्वकाङ्क्षा या अनुचित आग्रहबाट प्रेरित थिएनन् भन्ने कुरा म दृढ छु । यससम्बन्धी विभिन्न प्रतिकृयाहरु मैले नजिकबाट नियालेको छु । समयले यस बारेमा वस्तुनिष्ठ मूल्याङ्कन गर्ने नै छ भन्ने मेरो विश्वास छ ।

लोकतन्त्र र खुला समाजमा हामीले गर्ने हरेक निर्णयहरु जनताको सुक्ष्म निगरानीमा रहेका हुन्छन् । तिनको औचित्य परीक्षा समयको कसीसँगै घोटिएर भएझै हुन्छ । निर्णय र सार्वजनिक जवाफदेहिताको बीचमा उचित सामञ्जस्यता हुनु पर्ने कुरा सबै सम्बन्धित पक्षले ध्यान पुर्‍याउनु पर्छ भन्ने मलाई लाग्छ । दलबाट सिफारिस या निर्वाचित भएर प्राप्त हुने जिम्मेवारी भएता पनि संवैधानिक ओहोदामा बसुन्जेल सम्बन्धित व्यक्ति दलको सम्बन्धबाट अलग रहेको हुन्छ । त्यस ओहोदामा रहँदा ऊ दलको निर्देशनमा होइन ।

संविधान र कानुनको प्रबन्धअनुसार निर्देशित भएर क्रियाशील हुन्छ । मैले पनि यसैअनुसार नै इमान्दारिताका साथ कर्तव्य पूरा गर्ने प्रयास गरेको छु । तर कसैले पनि आफ्ना जराहरु बिर्सनु हुन्न । धरातल भुल्न हुन्न । र स्वतन्त्रतालाई निरपेक्ष रुपमा बुझ्नु हुँदैन भन्ने कुरामा पनि म सचेत छु । विभिन्न पक्षहरुका बीचमा यस अन्योललाई निकास दिन चलिरहेको छलफललाई मैले सुक्ष्म अध्ययन गरिरहेको छु ।

प्रतिनिधि सभामा बहुदल प्राप्त दलले आफ्नो तर्फबाट नेतृत्वको दावा गरेको अवस्था हाम्रा प्रचलित संवैधानिक र कानुनी अवस्थाका आधारमा त्यसलाई कार्यान्वयनका लागि मैले सहजीकरण गर्नु आवश्यक भएको छ । यसैअनुसार मैले मार्ग प्रशस्त गर्ने निष्कर्षमा पुगेको ब्यहाेरा सम्मानित सदनसमक्ष निवेदन गर्न चाहन्छु ।

उपसभामुखको रुपमा विगत झण्डै दुई वर्षसम्म माननीय सदस्यहरुसँग बिताउन पाएको अवधि मेरो जीवनमा अविस्मरणीय र सुखद् अवधिको रुपमा स्मृतिमा रहने छ । एउटा महिला त्यसमाथि पनि एकल अवस्थामा रहेको र जनजाति पृष्ठभूमिबाट आएको म जस्तो व्यक्तिले जनताको सार्वभौम अधिकार अभ्यास गर्ने यस सर्वोच्च र गरिमामय अङ्गको नेतृत्व गर्न पाएको अवसरलाई अत्यन्त महत्वपूर्ण ठानेकी छु ।

यसको श्रेय  हाम्रो लोकतान्त्रिक प्रणाली र राजनीतिक दलहरुलाई जान्छ । समावेशी लोकतन्त्रका माध्यमबाट न्यायपूर्ण र समृद्ध समाज निर्माण गर्ने अभियानमा म भिन्न रुपमा अविचलित र विश्रान्तरुपमा क्रियाशील  भइरहने छु ।

मलाई कर्तव्य निर्वाहको सिलसिलामा प्राप्त सहयोगका लागि माननीय सदस्यहरु र संसद सचिवालयका कर्मचारीहरुलाई धन्यवाद दिन चाहन्छु । धन्यवाद । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया