राष्ट्रिय सभा सदस्यका उम्मेदवार सिंहकाे उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी दर्ता

 माघ ६, २०७६ सोमबार १७:१३:४५ | सुभाष कर्ण
unn.prixa.net

धनुषा - राष्ट्रिय सभा सदस्यका लागि माघ ९ गते हुने चुनावमा प्रदेश २ बाट राष्ट्रिय जनता पार्टी नेपालले उठाएकाे उम्मेदवार शेखर सिंहकाे उम्मेदवारी खारेजीकाे माग गर्दै उजुरी परेकाे छ । 

नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार भाेला पंजियारले सप्तरी तिलाठी कोइलाडीका सिंहकाे विरुद्द उजुरी दिनुभएकाे हाे । 

सिंह अदालतबाट कुटपिट मुद्दामा दुई वर्षको कैद सजाय सुनाइएका व्यक्ति रहेकाे भन्दै उनकाे उम्मेदवारी खारेज गर्न माग गर्दै पंजियारले निर्वाचन अधिकृत राजुकुमार खतिवडा समक्ष उजुरी दर्ता गराएका हुन् ।

उजुरी पत्रमा जिल्ला अदालतबाट २०४४ असार ३० गतेका दिन सिंह विरुद्ध कुटपिट मुद्दामा दुई वर्ष कैद सजाय सुनाइएको उल्लेख छ । अदालतले सुनाएकाे सजाय सिंहले हालसम्म भुक्तान नगरेकाे उजुरीमा दाबी गरिएकाे छ । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ को दफा १२ बमोजिम कैदमा बसेको अवधिसम्म उम्मेदवार हुन नपाउने व्यवस्था छ ।

याे व्यवस्था अनुसार राष्ट्रिय सभा सदस्यका लागि मनोनयन दर्ता गराएका सिंहले हालसम्म कैद सजाय भुक्तान नगरेकोले उम्मेदवार हुन नपाउने भनी उम्मेदवारी खारेज भागी हुने माग उजुरी पत्रमा छ ।

सिंहविरुद्ध कुटपिट मुद्दामा जिल्ला अदालतको आदेश पश्चात २०५६ पुष १ गते तत्कालीन सगरमाथा अञ्चल अदालतबाटसमेत पुनरावलोकनको निस्सा नहुने भन्ने फैसला भएकाे थियाे ।  

अदालतले कैद सजाय सुनाएका व्यक्तिलाई प्रहरीले पक्राउ गर्न चासाे नदिएकाे पनि उजुरीमा उल्लेख छ ।  

अन्तिम अपडेट: बैशाख २, २०८१

सुभाष कर्ण

कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया