‘छाउ हुँदा हामी घरभित्रै बस्छौँ : अनिष्ट भएको छैन, बरु सुरक्षित भएका छौं’

 माघ १०, २०७६ शुक्रबार १३:४६:३६ | इन्द्रसरा खड्का
unn.prixa.net

खेतमा धमाधम गहुँ छर्ने काम भैरहेको थियो । ८ जना खेतला थिए । दिउँसो सबैलाई खाजा बनाएर दिनुपर्ने । अछाम मेल्लेख ६ की मिनादेवी खड्कालाई भ्याइनभ्याई थियो । एकछिन खेतको काम गरेर उहाँ खाजा बनाउन घर पुग्नुभयो । घर पुग्नेबित्तिकै छाउ (महिनावारी) भयो । 

घरमा अरु खाजा बनाउने कोही थिएनन् । श्रीमान स्कुलमा पढाउने, छोराछोरी सानै । अब के गर्ने ? अछामकी मिनादेवी खड्काकि त आफैं रोटी पकाउनुपर्‍यो कि खेतालालाई भोकभोकै काममा लगाउनु पर्‍योे ।

मिनाले आँट गर्नुभयो – आज कसैलाई थाहै नदिई आफैँ रोटी पकाउँछु । उहाँले आफैँ खाजा बनाउनुभयो । खेतमा खाजा लिएर जानुभयो । मनमा डर थियो – अब के हुन्छ ? डरैडरमा सबैलाई खाजा दिनुभयो । साँझ काम सकेर सबैजना घर गए । कसैलाई केही भएन ।

मिनाले यो कुरा साँझ श्रीमानलाई सुनाउनुभयो । श्रीमानले अब कसैलाई नभन्नु र घरमै बस्नु भने । त्यसपछि मिनाले महिनावारी हुँदा गाई भैंसी दुहुने, मोही पार्ने लगायत सबै काम गर्न थाल्नुभयो ।

यो २०५९ साल मंसिर महिनाको कुरा हो । मिनाले सुरुमा कसैलाई नभने पनि बिस्तारै घरमा थाहा भयो । गाउँलेले पनि थाहा पाए । त्यसपछि परिवारले महिनावारी भएको बेला दुध, दही दिन छाडे ।

उहाँले पकाएको खानेकुरा खाएनन् । अरु गाउँलेहरुले पनि कुरा काट्न थाले । उहाँले छोएको धारा र उहाँ हिँडेको बाटो हिँड्न छोडे । गाउँलेले देवीदेवताको विरोधी भन्दै गाली गरे ।

गाउँमा कसैको गाईभैंसी मरे पनि मिनालाई दोष दिन्थे । उहाँले सबै सहनुभयो, तर महिनावारी भएको बेला घरभित्रै बस्न छाड्नुभएन ।

उहाँ महिनावारी भएको बेला घरभित्र बसेको केही वर्षपछि मात्र छाउपडी कुप्रथाबारे बहस हुन थाल्यो । ‘काम गर्ने कोही मान्छे नहुँदा मैले छाउ भएको बेला बाध्यताले काम गरेँ, घरमै बस्न थालेँ ।

‘अहिले गाउँगाउँमा जनचेतना फैलिएपछि धेरै दिदीबहिनी छाउ भएको बेला घरभित्रै बस्न थालेको देख्दा खुशी लाग्छ’, उज्यालोसँगको कुराकानीमा मिनाले सन्तुष्टी पोख्नुभयो ।

मिनाजस्तै शोडषादेवीकी खिनादेवी खड्का पनि महिनावारी भएको बेला घरभित्रै बस्न थालेको १७ वर्ष भयो । तर उहाँ मिनाको जस्तै बाध्यताले भने हैन । बिहे गरेर घर पुगेको दिनमै महिनावारी हुँदा उहाँलाई छाउगोठमा जान परेन ।

शोडषादेवीकी खिनादेवी खड्कानयाँ गाउँमा गोठमा बस्न डर लागेकै कारण गोठ नगएकी खिना त्यसपछिका हरेक महिनावारीमा घरमै बस्न थाल्नुभयो । छाउ हुँदा घरभित्र बसेकै कारण मिनाकोभन्दा बढी दुःख खिनाले भोग्नुपर्यो ।

खिनालाई घरभित्रै बस्न थालेको थाहा पाएपछि सासुससुराले नै घरबाट अलग गराए । 

घर बिगार्न आएकी भन्दै गाली गरेर घरबाटै निस्कन भनेपछि खिना र उहाँका श्रीमान प्रेम खड्का छुट्टै बस्न थाले । एउटा घर, त्यसैमा पनि परिवारले बस्न नदिएपछि खिना धेरै दिन दिदीको घरमा बस्नु पर्‍यो ।

खिनाले ती दिन सम्झँदै भन्नुभयो, ‘सासुले घर जान दिनुभएन । अर्को बस्ने ठाउँ नै थिएन । नजिकै दिदीको घरमा बसेर पछि आफैं घर बनाएर बसेँ, घरभित्रै बस्दा कम्ती दुःख सहनु परेन ।’

मिनालाई जस्तै खिनालाई पनि गाउँलेले धारामा पानी भर्न, बाँडेर खान रोक लगाए । छिमेकीसँग उहाँको दिनहुँ झगडा पर्न थाल्यो । ९ वर्षसम्म खिनाले गाउँलेको भनाई र विभेद सहनुपर्यो । पछि खिनाकै वडा छाउपडी गोठमुक्त हुने कुरा चल्न थाल्यो । 

अहिले खिना, मिनाजस्तै त्यही ठाउँका रामदेवी खड्का, गीता नेपाली, मन्सरा खड्का लगायत धेरै महिला महिनावारी भएको बेला घरभित्रै बस्छन् र घरको सबै काम गर्छन् ।

रामदेवी खड्कालाई घरभित्रै बस्दा आफ्नै जेठानी देउरानीले पनि कुरा काटे । गोठमा नजाँदा लामो समयसम्म पनि महिनावारी भइनछ भन्दै कोसँग हिँडडुल गर्छेस्, कहाँ जान्छेस् भन्ने प्रश्न गरे । गीता नेपाली

‘डिपो लगाएँ, औषधी खाएँ भन्दै ढाँटे, तर पछि सबैले थाहा पाए’, रामदेवीले भन्नुभयो। 
रामदेवी स्वास्थ्य स्वयंसेविका पनि हुनुहुन्छ ।  

गाउँलेले कुरा काटे – किन महिनावारी हुँदैनन् ?

छाउपडी बस्ने गोठ सामूहिक हुन्छ । गोठमा आए, गएको सबैले देख्छन् । विवाहित महिला गोठमा गइनन् भने अरुले कानेखुशी गर्छन् – फलानो त आमा बन्ने भइछ कि क्या हो ? अझै छाउ भएको छैन । 

यदि अविवाहित किशोरी छाउगोठमा गइनन् भने कसको पेट बोकिछ भनेर गाउँलेले कुरा काट्न थाल्छन् । 
मिना, खिना, रामदेवीलाई पनि परिवार र गाउँलेले यस्तै शंका गरे । तर पछि उनीहरु घरभित्रै बस्ने गरेको कुरा सबैलाई थाहा भयो । 

बिस्तारै अरु महिलाले सिको गरे 

सुरुमा बाध्यताले छाउगोठ नगएर घरभित्रै बसेका महिलालाई पछि आँट आउन थाल्यो । महिनावारी भएको बेला घरमै बस्दा पनि केही हुने रहेनछ भनेर उनीहरुले अरुलाई भन्न थाले ।  

घरभित्रै बसे काम गर्न पनि पाइने, गोठको जस्तो असुरक्षित पनि नहुने भनेपछि उनीहरुको सिको अरुले गर्न थाले । अहिले मिनाका गाउँका १२ जना महिला महिनावारी भएको बेला घरमै बसेर सबै काम गर्छन् । 

सबै काम नगरे पनि प्रायः सबै महिला महिनावारी भएको बेला घरकै छुट्टै कोठामा बस्छन् । मेल्लेख गाउँपालिका वडा नम्बर ६ अर्थात पहिलेको शोडषादेवी गाविस वडा नम्बर ६ , ७ र ८ नम्बरका झण्डै ३ सय परिवारका महिला महिनावारी भएको बेला घरमै बस्ने गरेका छन् ।

‘सफा बस्नुपर्छ’ 

घरभित्र बसे देवता रिसाउँछन्, अनिष्ट हुन्छ भन्नेहरुलाई मिना, खिना र मन्सरा एक स्वरले भन्छन्, ‘महिनावारी भएको बेला घरभित्र बस्दा अनिष्ट हुँदैन, बरु सुरक्षित भइन्छ ।’

महिनावारी हुँदा घरमै बस्ने गीता नेपाली भन्नुहुन्छ, ‘सरसफाइमा बढी ध्यान दिनुपर्छ । यस्तो बेला सरसफाइ गर्न नस्कदा नै पहिले महिलालाई छुट्टै राख्ने चलन चलेको हो ।’

पहिले महिलाले भित्री वस्त्र लगाउँदैन थिए । एकसरो पातलो धोती मात्र लगाउँथे । भित्री वस्त्र नलगाउँदा महिनावारीको बेला बग्ने रगत सबै बाहिर देखिन्थ्यो । फोहोर हुन्थ्यो ।

‘यस्तो बेलामा फोहोर हुन्छ भन्दै महिलालाई छुट्टै राख्ने चलन बसेको हो’ऽ गीताले भन्नुभयो, ‘यसैको फाइदा उठाएर गलत संस्कारको विकास भएको हो । तर महिनावारी भएको बेलामा सरसफाइमा बढी ध्यान दिएर घरभित्रै बस्दा केही हुँदैन ।’ 

अन्तिम अपडेट: जेठ १६, २०७७

इन्द्रसरा खड्का

इन्द्रसरा खड्का महिला अधिकार र सामाजिक विषयमा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया