जहाँ जाम त्यहाँ सीताराम : जहाँ पुग्यो, त्यहीँ भवन ‘अनुदान’

भर्‍याङमुनीबाट सुविधासम्पन्न भवनसम्म

 माघ ११, २०७६ शनिबार १६:१९:४४ | लक्ष्मण कार्की
unn.prixa.net

सीताराम हाछेथुले २९ वर्ष जागिर खाए । २०४७ सालमा असईको तालिम सकेलगत्तै ट्राफिकतर्फ परेका उनले २९ वर्षमा कहिल्यै जनपथतर्फ फर्किन पाएनन् वा भनौँ फर्किनु परेन ।

मतलव २९ वर्ष ‘वन्ली सिटी, नो लाठी ।’

इन्स्पेक्टर बनेर पेन्सन पकाउँदासम्म सीताराम ट्राफिक प्रहरीका एक ‘मानक’ बन्न सफल भए । 
नारा नै बन्यो–जहाँ जाम त्यहाँ सीताराम । 

हुन पनि जाम खुलाउन उनले अनेकै गरे । कहिले जथाभावी बाटो काट्ने पैदलयात्रीलाई गुलाबको फूल वा सुन्तला दिएर ‘भद्र व्यग्य’ गर्दै लाजले रातो पिरो बनाए । कहिले नाच्दै संकेत दिइरहेको र जाम खुलाइरहेको भिडियो बनाए । कहिले सडक भत्काइरहेका त कहिले भवन बनाइरहेका भेटिए । 

सीतारामको अग्रसरतामा ट्राफिक प्रहरीका लागि पाँचवटा भवन बनेका छन् । जाम घटाउन खटाइने सीतारामले ती ठाउँमा जाम कम गर्ने ड्युटी त पूरा गरे नै सँगै, पाँच ठाउँमा ट्राफिक प्रहरीका लागि उपहार स्वरुप भवन बनाए पनि । 

जनसेवा र भर्‍याङमुनीको कार्यालय 

सीताराम २०५४ सालमा काठमाण्डौको जनसेवामा ट्राफिक इञ्चार्ज बनेर खटिए । कडा मिजासका सीतारामले नियम उल्लंघन गर्ने चालकका लाइसेन्स र ब्लूबुक नियन्त्रणमा लिएर चौकीमा लगे र सोधीखोजी गरे– कागजपत्र कता राख्ने गरिएको छ ?

हवल्दार मेजरले एउटा टिनको ट्याँको र काटेको ड्रम देखाइदिए । सिँगो कार्यालय टिनको ट्याँकामा ? अचम्म नमानेर धर ? सीताराम आश्चर्यचकित भए ।

‘प्रहरीलाई श्रोतसाधनको अभावै हुने हो तर त्यो अवस्था देखेर दिक्कै लाग्यो’ सीतारामले सम्झिए । 

त्यसपछि औडाहा बढ्योे । यस्तो अवस्थाको ट्राफिक प्रहरीलाई नागरिकले के टेरुन् ? भन्ने प्रश्न मनमा आइ बस्यो । त्यसबेला जनपथ र ट्राफिक प्रहरी सँगै बस्थे । जनसेवाका इन्चार्ज थिए इन्स्पेक्टर जगतमान श्रेष्ठ । उनले जगतमानलाई जाहेर गरे, ‘साप ! यो अवस्था सुधार गर्न पाए हुन्थ्यो ।’

जगतमानले चोर औँलाले ठाउँ देखाउँदै भने, ‘उसो भए यहाँ बनाउ तिम्रो अफिस ।’ ठाउँ देखेर उनलाई पत्यार लागेन । ‘सुरुमा सरले जिस्क्याको होला जस्तो पनि लाग्यो, बेलुकाको रोलकलपछि फेरि उही कुरा दोहोर्‍याए, साब ट्राफिक प्रहरीलाई कार्यालय छैन.....’ कुरा नसक्दै जगतमानले अलि फौजीको हाकिमी शैलीमा भने ‘तिम्लाई बिहानै ठाउँ देखाएको होइन ?’

भोलिपल्ट उनले खोले ‘ट्राफिक प्रहरी कार्यालय, जनसेवा ।’ जसको मुकाम थियो प्रहरी कार्यालयको भर्‍याङ्ग मुनी । 

नयाँ कार्यालयमा हाकिमको ‘कुर्सी’ थियो गाडीको सिट । त्यो त तैबिसेक । सेवाग्राही बस्ने कुर्सी अझ खतरानक थियो । खतरनाक ? अँ त खतरनाक । 
स्प्रिङ बिग्रिएको गाडीको सिट । जुन मानिस बस्दा ह्वात्तै तल जान्थ्यो र लिखिरलिखर हल्लिन्थ्यो । मतलब सेवाग्राहीको सातो उडाउँथ्यो । 

एकदिन एकजना कारधनीले सीतारामलाई हप्काए नै । बस्न खोज्दा सिट लच्किएर तल पुगेपछि उनी रिसाएका थिए । के पारा हो ? यस्तो पनि अफिस ? मान्छे मार्ने धराप जस्तो ? सीतारामसँग जवाफ थिएन । बाहिर त्यत्रो फूर्तिफार्ती हुने ट्राफिक प्रहरीको कार्यालयको अवस्था टिठलाग्दो थियो । 

अर्का सेवाग्राहीले त परैबाट हेरेर भने ‘म त यो भर्‍याङ मुनी बस्दिनँ ।’ शिर निहुर्‍याउनुको विकल्प थिएन । 
केही गर्नुपर्ने थियो । तर कसरी उनैलाई थाहा थिएन । 

अब कालीमाटी चौकीको कथा 

जनसेवामा बसेको केही महिनामै उनको काँधमा अर्को तारा थपियो । अर्थात सीताराम सई बने । तरकारी बजारका कारण त्यसबेला धेरै जाम हुने ठाउँ थियो, कालीमाटी । बाटो पनि साँघुरो र फोहोर पनि उस्तै ।

भर्खरै बढुवा भएको उत्साहका साथ सीताराम कालीमाटीमा खटिए । जहाँ जनसेवामा जस्तो भर्‍याङ मुनी नै त बस्नुपरेन तर अण्डरग्राउण्ड कोठामा रहेको कार्यालयकै अगाडि ढल थियो । ढल ढक्कन नलगाइएको अर्थात खुल्लै थियो । नाकै पिरो बनाउँदै आउने गन्ध हटाउन मुठा मुठा धुप बालिँदो रहेछ ।

१९ जना ट्राफिक प्रहरी थिए । बस्ने ठाउँ थिएन । बेलुका ड्युटी सकेपछि उनीहरु अलि पर्तिरको गोदाममा सुत्न जान्थे । ‘गोदाममा बाहिरबाट साहुले ताला लगाइदिँदा रहेछन् । राति कुनै दुर्घटना भयो भने ट्राफिक प्रहरीलाई बोलाउनै नसकिने’ सीताराम सम्झिरहेका छन् । 

जनसेवा र कालीमाटीको कहालीलाग्दो अवस्था देखेपछि सीताराम सोच्न थाले ।

बाहिर चाहिँ चिटिक्क परेर टाइसुट लगाएर हिँड्ने अनि कार्यालय चाहिँ ढलमाथि ? उनले निष्कर्ष निकाले, सेवाग्राही आउँदा चिटिक्कको कार्यालयमा बसाउन पाए पो ट्राफिक प्रहरीप्रति उनीहरुको धारणा पनि राम्रो हुन्छ । 

ट्राफिक प्रहरीका लागि आफ्नै भवन बनाउन जरुरी छ । सोच्न सजिलो थियो तर बनाउन सजिलो थिएन । भवन कहाँ बनाउने ? पैसा कहाँबाट ल्याउने ?

तर उनले काम थाले । सुरुमा जग्गा खोजे । जनपथ प्रहरीको भवन नजिकै फोहोर फ्याँक्ने गरिएको जमिन सरकारी हो भन्ने पत्तो लगाए । साँधसिमाना लगाए । ३ रोपनी रहेछ ।

ट्राफिक प्रहरीका एसपी ज्ञानेन्द्रविक्रम महतलाई आइडिया सुनाए । हेडक्वाटरलाई जानकारी गराए । नक्सा लगायतको प्रक्रिया पूरा गरे । अब श्रोत खोज्नुथियो भवन बनाउन ।

त्यसबेलासम्म कालीमाटीको जाम घटिसकेको थियो । सीतारामलाई धेरैले स्याबासी दिन थालेका थिए । ट्राफिक प्रहरी हाम्रा लागि महत्वपूर्ण रहेछ भन्ने छाप मानिसलाई परिसकेको थियो । 

समुदायका गन्यमान्य र जान्नेसुन्ने व्यक्तिलाई अघि सार्‍याे भने काम गर्न सजिलो हुन्छ भन्ने सीतारामले बुझेकै थिए । भेटे, कालीमाटी क्षेत्रका महाजन हिक्मतबहादुर मालीलाई । माली पेट्रोल पम्पका सञ्चालक हिक्मतबहादुरले उनलाई हिम्मत मात्र दिएनन् र होस्टेहैँसे गरे । हिक्मत नै अध्यक्ष रहेको समिति बन्यो र भवन पनि ।

२०५७ साल जेठ १३ गते तत्कालीन प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलबाट उद्घाटन गराए । नमूना भवन बनाएको भनेर आईजी सापले सीतारामलाई स्याबासी दिए ।

प्रहरी महानिरीक्षकले प्रशंसा गर्दा सीताराम दङ्ग त परे नै, त्योभन्दा धेरै दङ्ग कालीमाटी ट्राफिक प्रहरी कार्यालयका प्रहरीहरु भए ।
गोदाममा सुत्नुपर्ने अनि ढलको गन्धबाट बच्न कार्यालयमा अगरबत्तिको मुठो बाल्नुपर्ने अवस्थाबाट मुक्ति जो मिलेको थियो । 
आहा भन्ने गरी चिटिक्कको भवन बनेको थियो । 

सीताराम नयाँ भवनका हाकिम भए । ‘नयाँ भवनमा बसेर काम गर्दा जोश नै अर्काे हुन्थ्यो नि सीताराम हाँस्दै भन्छन्, त्यो बाटोबाट आउजाउ गर्नेहरु पनि दङ्ग पर्दै हेर्थे मलाई थप मज्जा आउँथ्यो ।’

कोटेश्वरमा नयाँ तरिका 

सीतारामले नयाँ भवनमा बसेर धेरै काम गर्न पाएनन् । किनकी कालीमाटीमा जाम हटिसकेको थियो । र जाम बढेको थियो कोटेश्वरमा ।

सीताराम कोटेश्वर प्रहरी चौकीमा हाजिर भए । पारा उही । साँघुरो चौकी । छेउमा पानपसल जस्तो सानो कोठामा ट्राफिक प्रहरी कार्यालय । ट्राफिक प्रहरी अलि परको प्याज गोदाममा सुत्ने । दुर्घटनामा परेका मोटरसाइकल वा गाडी बेलुका ९ बजेपछि चौकीमा ल्याउन नपाइने नियम । 

र सबैभन्दा सास्ती बिहान शौचालयको लाइन । पालो पर्खिंदापर्खिंदा हत्तुहैरान । 

कोटेश्वरमा जाम खुलाउने मुख्य जिम्मेवारीसँगै भवन बनाउनेबारे पनि सीतारामले काम थाले । नयाँ, चिटिक्कको अनि फराकिलो भवनमा बस्ने बानी जो लागिसकेको थियो । 

विमानस्थलको नाममा रहेको जग्गा निकै सकसपछि प्रहरीको नाममा ल्याउने सफलता मिल्यो । कोटेश्वर क्षेत्रका गन्यमान्य भरत पराजुलीलाई निर्माण समितिको अध्यक्ष बनाइयो । सीतारामले अर्को आइडिया फुराए । 

भक्तपुरतिरबाट आउने ट्रक टिप्परका साहु र इँटाभट्टा र क्रसर मालिकसँग कुरा गरे र कुरा मिलाए । एउटा ट्रकमा ५ देखि १० वटासम्म बढी इँटा र १० साबेल बालुवा र गिट्टी पठाइ मागे । सहचालकले भवन बन्ने चौरमा ती बस्तु झारिदिन थाले । 

हार्डवेयर पसलेसँग डण्डी, ढुँगावालासँग ढुँगा मागे । सिमेण्ट कारखानासँग सिमेण्ट एवम् प्रकारले सम्बन्धित कम्पनी र पसलेसँग सहयोग मागे ।

सरकारकै डोजर र लोडर मगाए । मतलब ज्यालाका लागि मात्र पैसा खर्च भयो । काम थालेको एक वर्षमा कोेटेश्वरमा पनि चिटिक्को भवन बन्यो । ट्राफिक प्रहरी रहरलाग्दो भवनमा कार्यालय सञ्चालन गर्न र बस्न थाले । 

दरबारमार्ग चौकीको दशा 

कोटेश्वर सूर्यविनायक सडक विस्तारको मुख्य काम सकियो । ट्राफिक प्रहरीको भवन पनि बनिसक्यो । जाम कम भयो । सीतारामको पनि बढुवा भयो ।

इन्सपेक्टर भएपछि सीतारामको, दरबारमार्गमा सरुवा भयो । चौकी त्यहाँ पनि गतिलो थिएन । ‘अरु त के कुरा गर्नु, ट्वाइलेटमा चुकुलधरि थिएन’, सीताराम सम्झिन्छन्, ‘एकहातले डोेरी तानेर दिसा पिसाब गर्नुपर्थ्याे ।’

‘एउटा चुकुल त हाल्न सकिन्छ नि, तर हाम्रो पारा नै त्यस्तै क्या’, सीताराम भन्छन् । त्यहाँ पनि भवन बनाउनुपर्ने भयो । यत्रो भीआईपी क्षेत्रमा ट्राफिक प्रहरीको भवन बनाउन पाए ट्राफिक प्रहरीकोे छाप अझ राम्रो हुने उनको ठम्याइ थियो ।

सरकारी जग्गा खोजे । उद्योगी गोपाल कक्षपतिलाई अध्यक्ष बनाइयो । लगभग एक वर्षमा दरबारमार्गमा ट्राफिक प्रहरीको भवन ठडियो । ६५ लाख रुपैयाँको लागतमा । 

ललितपुरको रमाइलो 

त्यसपछि सीताराम खटिए जिल्ला ट्राफिक प्रहरी प्रमुखका रुपमा ललितपुरमा । ललितपुरमा पनि ट्राफिक प्रहरीको भवन त किन हुन्थ्यो र ? चक्रपथ विस्तारका कारण सातदोबाटोमा गाडीको बढ्दो चाप व्यवस्थापन गर्दै सीतारामले सोचे एउटा भवन त ललितपुरमा पनि बनाउनैपर्छ ।

सातदोबाटो चोकैमा सरकारी जग्गा फेला पर्‍याे । नक्सा बनाउने, हेडक्वाटरबाट स्वीकृति लिने कुरा सकियो । भवन निर्माण समितिका अध्यक्ष बनाए सुमेरु समूहका अध्यक्ष भरत महर्जनलाई । महर्जनले १५ लाख रुपैयाँ सहयोग गरे ।

यस क्रममा रमाइला घटना पनि धेरै भएको सीताराम सुनाउँछन् । सीताराम सहयोगका लागि बुद्ध एयरका मालिक बीरेन्द्रबहादुर बस्नेतलाई भेट्न पुगे । बस्नेतले एकै वचनमा चेक काटिदिए ।

सीतारामले झुलुक्क चेक हेरे । ५ अंक र पछाडि केही शून्य थिए । ५० हजार होला भन्ठाने । र खल्तीमा चेक हालेर हिँडे । चेक जम्मा गर्न बैँकमा पुग्दा पो थाहा भयो चेकमा त उनले सोचेको भन्दा एउटा शून्य बढी रहेछ । मतलव, ५ लाख । उनी थप दंग परे । 

चक्रपथ विस्तार गरिरहेको चिनियाँ कम्पनीका म्यानेजरले आफू बस्ने ब्यारेकसहितको भवन ट्राफिक प्रहरी आफैँले बनाइरहेको छ भन्ने कुरा थाहा पाएछन् । उनले केही टिप्पर गिट्टीवालुवा सहयोग गरे र काम गर्न हौसला पनि दिए ।

भवन ठडिएको थियो तर झ्यालढोका हालिएको थिएन । एकदिन फेरि उनै बीरेन्द्रबहादुर बस्नेतले सोधे, ‘भवनमा किन झ्याल नहालेको?’ ‘पैसा पुगेन सर’ सीतारामकोे जवाफ थियो ।

सीताराम फेरि बीरेन्द्रलाई भेट्न बुद्ध एयरको कार्यालय पुगे । उनको हातमा पर्‍याे ५ लाख रुपैयाँको अर्को चेक । जसले भवनको झ्याल ढोका हालियो ।

साढे ३ करोडजति खर्चमा बनेको यो भवन सबैभन्दा सुविधासम्पन्न, फराकिलो र चिटिक्कको छ । ४५ जना ट्राफिक प्रहरी सबै सुत्न मिल्ने ब्यारेकसँगै भान्छा, टिभी कोठा, हाकिमका लागि आवास लगायतको व्यवस्थासहित ।

यो भवनमा पनि उनी धेरै चाहिँ बस्न पाएनन् । किनकी उनको अवकाशको समय आइहाल्यो । २९ वर्षे सेवा अवधि पूरा भयो । मतलब सीतारामले अवकाश पाए र घर फर्किए । 

अवकाशपछि पनि निरन्तर 

लतिलपुरमै कार्यरत रहँदा भक्तपुर इँटाभट्टा व्यवासायी संघका अध्यक्ष नविन प्रजापतिले सीतारामलाई भने, ‘दाई ललितपुर र काठमाण्डौमा मात्र भवन बनाउने ?

ट्राफिक प्रहरीको कार्यालय त भक्तपुरमा पनि त छैन नि ।’ सर्वेन्द्र खनाल ट्राफिक प्रहरी महाशाखाका प्रमुख अर्थात डीआइजी भएको बेला थियो त्यो । खनालको अनुमति लिएर उनले भक्तपुरमा पनि भवन बनाउने काम सुरु गरे ।

सीताराम संयोजक र नविन प्रजापति अध्यक्ष बनेको समितिले काम थाल्यो । समुदायको सहयोगकै मोडलमा भक्तपुरको चुनदेवीस्थानमा पनि ट्राफिक प्रहरीको भवन बनिसक्यो । जसको उद्घाटन केही दिनमै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गर्दैछन् । 

२९ वर्षको सेवामा अनेकाैँ कुरा भए । ट्राफिक प्रहरीका क्षेत्रमा केही गर्न सकेँ भन्ने सम्झिँदा गर्व लाग्ने सीताराम बताउँछन् । आफ्नै अग्रसरतामा पाँच ठाउँमा भवन बनाउन पाएकोमा सीतारामलाई थप आनन्द लाग्छ रे । 

उज्यालो अनुहार लगाएर सीतारामले सफलताको कुरा सुनाइरहँदा काठमाण्डौको भद्रकालीमा रहेको ‘काठमाण्डौ प्रहरी परिसरको भवन निर्माणस्थल’ लेखिएको बोर्डको सम्झना आयो ।

२०७२ सालको भूकम्पले भत्काएपछि अहिलेम्म भवन बन्न नसक्दा टेकुको प्रहरी कार्यालयको निन्याउरो चित्रले प्रहरी संगठनलाई मात्र होइन राज्यलाई नै कुरीकुरी गरिरहेको छ ।

अन्तिम अपडेट: फागुन १३, २०७६

लक्ष्मण कार्की

उज्यालोमा कार्यरत लक्ष्मण कार्की राजनीति, समाज, खेल र समसामयिक विषयमा कलम चलाउनुहुन्छ।  

तपाईको प्रतिक्रिया