‘भिटामिन खुवाउने अन्टी’, झरना

 माघ १४, २०७६ मंगलबार १३:३:५१ | इन्द्रसरा खड्का
unn.prixa.net

निलो रङको ब्लाउज, निलै सारी । काँधमा झोला भिरेर घरदैलो गर्नुपर्छ । बिरामी भएकालाई स्वास्थ्य संस्था लैजान सुझाव दिनुपर्छ । देशभरका महिला स्वास्थ्य स्वयंसेविकाको काम यही हो ।

परिवार नियोजनका साधनबारे चेतना दिनु, परिवार नियोजनका अस्थायी साधन वितरण गर्नु, गर्भवती जाँच गर्नु, बालबालिकालाई भिटामिन खुवाउनु, प्राथमकि स्वास्थ्य सेवा दिनु र स्वास्थ्य शिक्षा प्रदान गर्ने काम पनि स्वास्थ्य स्वयंसेविकाले नै गर्नुपर्छ । 

यस्तै स्वयंसेवी मध्येकी एक हुन्, बाँकेको राप्ती सोनारी गाउँपालिका ५ चिलरीयाकी झरना थारु । उहाँ २०६५ सालदेखि महिला स्वास्थ्य स्वयंसेविकाको काम गर्दै आउनु भएको छ । २७ वर्षीया झरना घरको काम सँगसँगै गाउँघरमा गइ गर्भवती, सुत्केरी महिलालाई भेट्नु हुन्छ ।

उहाँको टोलमा रहेका ६२ घरधुरीमा झरनाले स्वास्थ्य सेवा दिइरहनु भएको छ । पखाला लागेमा जिवनजल, टाउको दुखेमा सिटामोलसँगै परिवार नियोजनका अस्थाइ साधन त उहाँको झोलामा कहिल्यै खालि हुदैनन् ।

झरनाले कति वर्षको फरकमा बच्चा जन्माउँदा राम्रो हुन्छ । यसको लागि कुन परिवार नियोजनका साधनले कस्तो काम गर्छ भन्नेबारे पनि जनचेतना दिनुहुन्छ । उहाँको यही चेतनाले गाउँघरका मान्छे भरनालाई डाक्टर्नी भन्ने गर्दछन् । 

देशभर झरना जस्तै ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका छन् । रातदिन स्वास्थ्य सेवामा लागि रहेका महिलाहरु केवल भत्ताको भरमा काम गरिरहेका छन् । 

गाउँमा कुनै स्वास्थ्यसम्बन्धी कार्यक्रम गर्नुपरेमा महिनाको एक वा दुई महिनाको एक पटक उनीहरुले भत्ता पाउँछन् । त्योभन्दा बाहेक उनीहरुले पैसा पाउँदैनन् । 
कतिपय ठाउँका महिला स्वास्थ्य स्वयंसेविकालाई स्थानीय पालिकाले स्मार्ट फोन वितरण गरेका छन् । मोबाइलमार्फत गर्भवती, सुत्केरीको जाँच गरिन्छ ।

मोबाइलबाटै काम

रोचक कुरा त के छ भने झरना अहिले घरमै बसी गर्भवती महिलाको तथ्याङ्क राख्नुहुन्छ । स्वास्थ्य स्वंसेविका भएको ९ वर्षपछि २०७४ सालमा झरनाले मोबाइल पाउनु भयो । जिल्ला स्वास्थ्य कार्यालयबाट वितरण गरेको मोबाइलले उहाँलाई काम गर्न पहिलेको भन्दा धेरै सहज भएको छ । 

पहिले स्वास्थ्य चौकीमै पुगेर गर्भवतीको तथ्याङ्क राखिन्थ्यो भने अहिले घरमै बसेर काम गर्न सकिन्छ । मोबाइलबाटै फरक तरिकाले काम गर्दा झरनालाई रमाइलो लाग्छ । 

झरनाले अहिले गर्भवतीको नाम दर्ता गराउन स्वास्थ्य चौकी पुग्नु पर्दैन । गाउँमा कोही महिला गर्भवती भएको थाहा पाउने बित्तिकै स्वास्थ्य चौकीको ९८६०९७४९०४ नम्बरमा म्यासेज आउँछ । 

म्यासेजमा गर्भवतीको नाम, ठेगाना, उमेर र पहिलो पटक हो कि दोस्रो पटक हो लेखेर पठाउनु पर्छ । त्यसपछि ४, ६, ८ र ९ महिनामा झरनाको मोबाइलमा म्यासेज आउँछ ।

गर्भवतीको नामसहित ‘उहाँको यति महिनाको गर्भ जाँच गर्ने समय भयो, उहाँलाई स्वास्थ्य चौकी पठाउनुहोस्’, झरनाको मोबाइलमा म्यासेज आइसकेपछि झरनाले महिलालाई भेटेर स्वास्थ्य संस्था जान सल्लाह दिनुहुन्छ । 

गर्भवतीले जाँच गराइसकेपछि फेरि झरनाको मोबाइलमा म्यासेज आउँछ, ‘गर्भ जाँच गराउन पठाउनु भएकोमा धन्यवाद ।’ सुरुमा झरना आफैलाई अचम्म लाग्यो तर अहिले बानी परिसक्यो । यो प्रविधिले पहिलेको भन्दा काम गर्न सहज र रमाइलो भएको झरनाको अनुभव छ । 

झरनाको टोलमा अहिले ६ जना गर्भवती महिला छन् । उहाँ म्यासेजकै आधारमा सल्लाह दिनुहुन्छ । यो भन्दाबाहेक झरनाले गर्भावस्थामा टाउको दुखेमा, पेट दुखेमा, रगत बगेमा खतराको लक्षण हुने भन्दै यस्तो अवस्थामा स्वास्थ्य चौकी जान सल्लाह दिनुहुन्छ । 

यसले गर्भवती महिलाको तथ्याङ्क राख्न सजिलो भएको छ । जसले गर्दा मातृ मृत्युदर र बाल मृत्युदर घटाउन सघाउ पुगेको छ ।

बालबालिका भन्छन्, भिटामिन कहिले खुवाउने ?

वर्षमा दुई पटक खुवाइने भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने काम महिला स्वास्थ्य स्वंसेविकाको नै हो । झरना पनि आफ्नो टोलका पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाउनु हुन्छ । झरनाले सुत्केरी गराउन लगेका र भिटामिन खुवाएका बालबालिका अहिले ठूला भइसके । 

उनीहरु सबै जना विद्यालय जान्छन् । विद्यालय आउँदा, जाँदा घरमै हुँदा ती बालबालिकासँग झरनाको भेट हुन्छ । 

उनीहरु झरनालाई देख्ने बित्तिकै ‘भिटामिन खुवाउने अन्टी’ भन्छन् । कोही ‘दिदी’ कोही ‘अन्टी’ हामीलाई भिटामिन अब कहिले खुवाउनु हुन्छ भनेर सोध्छन् । 

बालबालिकाले भिटामिन खुवाउने अन्टी भन्दा झरनालाई सबैभन्दा खुशी लाग्छ । बाटोमा हिँड्दै गर्दा, विद्यालय वा घरमा भेटिँदा पनि ‘हामीलाई तपाईँले भिटामिन खुवाउनु भएको हो नि !’ है भन्दै सोध्ने गर्दा झरनालाई केटाकेटीको झनै माया लाग्छ ।

भिडियाे हेर्नुहाेस्ः

अन्तिम अपडेट: जेठ १०, २०७७

इन्द्रसरा खड्का

इन्द्रसरा खड्का महिला अधिकार र सामाजिक विषयमा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया