गौतमबुद्ध विमानस्थल चल्न अझै एक वर्ष लाग्ने, असारयता काम सकिने सम्भावना कम

 माघ १५, २०७६ बुधबार १४:७:५३ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डाै – भैरहवामा बनिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०२० अर्थात् यो अङ्ग्रेजी वर्षमा नियमित अन्तर्राष्ट्रिय उडान नहुने भएको छ ।

विमानस्थलको भौतिक पूर्वाधार निर्माणको काम यो आर्थिक वर्षभित्र सकिन मुश्किल हुने र त्यसपछि पनि अन्य प्राविधिक काममा हुने ढिलाइले सन् २०२० मा विमानस्थल सञ्चालन गर्न समस्या देखिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले उज्यालो अनलाइनलाई बताए । 

विसं २०७१ सालमा सुरु भएको राष्ट्रिय गौरवको यो आयोजना २०७४ सालमा सक्ने योजना थियो । भूकम्प र नाकाबन्दीका कारण ढिलाइ भएको आयोजना सम्पन्न हुने म्याद २०७४ सालयता चार पटक सरिसकेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले गएको असारमा सन् २०१९ को डिसेम्बरमा आयोजना सक्ने भनेको थियो । तर पूरा नभएपछि आयोजना सक्ने नयाँ मिति २०२० को मार्च अर्थात् चैतलाई तोकेको छ । तर चैतमा पनि भौतिक पूर्वाधारको काम नसकिने निश्चित छ । अहिले समग्रमा ८६ प्रतिशत काम मात्रै सकिएको छ ।

विमानस्थलको मुआब्जा वितरणमा २३ अर्ब ६० करोड रुपैयाँ खर्च भएको छ । मुख्य संरचना निर्माणको लागि चिनियाँ कम्पनीले ६ अर्ब ८२ करोड रुपैयाँमा काम गरिरहेको छ । यस्तै उपकरण जडानको लागि एरो थाइ कम्पनीले ५८ करोड रुपैयाँमा ठेक्का पाएर उपकरण जडानको काम गरिरहेको छ । 

उपकरण जडानको काम जेठयता नसकिने, अन्य संरचना निर्माण असारमा मात्र सकिने 

फोटो : नागरिक उड्डयन प्राधिकरणका कर्मचारी प्रतावबाबु तिवारीको ट्विटरबाट

विमानस्थलका मुख्य संरचना निर्माणको काम नै अहिले सकिएको छैन । मुख्य संरचना निर्माणको काम नसकिँदा अन्य काम पनि प्रभावित भएका छन् । 

रन वे, ट्याक्सी वे, पार्किङ, टर्मिनल भवन, टावर लगायतका ‘आइसीवी जेरो टू’ अन्तर्गतका काम गएको डिसेम्बरमा नै सक्ने जिम्मा पाएको चिनियाँ ठेकेदार कम्पनी नर्थवेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्ट्रक्शनले तेस्रो पटक म्याद थप गरेर मार्च महिनासम्म सक्ने बताएको छ । 

अहिले रन वे को काम सकिएको छ, ट्याक्सी वे को काम पनि सकिएको छ । पार्किङको काम पनि लगभग सकिएको छ । तर टर्मिनल भवनको काम बाँकी रहेको आयोजना प्रमुख प्रवेश अधिकारीको भनाइ छ । 

‘बाहिर हेर्दा देखिने ठूला संरचनाको काम लगभग सकिएको छ, तर फिनिसिङको कामले समय लाग्ने रहेछ, त्यसैले हामीले अनुमान गरेको समयभन्दा हरेक काम ढिलाइ भैरहेको छ’ अधिकारीले भन्नुभयो, ‘अहिले नै वैशाखमा काम सकिन्न भन्न त मिल्दैन । तर देख्दा सानो लागे पनि फिनिसिङको काममा ढिलाइ भैरहेको छ ।’

यो कामको पूरै फिनिसिङ हुन कम्तीमा पनि असार कुनुपर्ने आयोजनाका कर्मचारी बताउँछन् । 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मुख्य संरचनाको लागि जिम्मा पाएको ठेकेदार कम्पनीभन्दा फरक कम्पनी एरो थाइले उपकरण जडानको जिम्मा पाएको छ । धावन मार्ग, टावर र अध्यागमन तथा प्रस्थान कक्षमा विद्युतीय तथा सूचना संयन्त्रका उपकरणहरूको जडानको जिम्मा पाएको एरो थाइ कम्पनीले सबै उपकरण आएको र अहिले जडानको काम भैरहेको जनाएको छ । 

आइसिवी जेरो टू अन्तर्गत पर्ने यी कामको लागि सन् २०१९ को मार्चमा एरो थाइ कम्पनीसँग झण्डै ५२ करोड रुपैयाँमा सम्झौता भएको थियो । तर जति छिटो गरे पनि जेठयता काम सकिने छाँट नदेखिएको आयोजनाकाे स्रोत बताउँछ ।

‘कसैको प्रेसरमा वैशाखमै विमास्थलको काम सकिन्छ भन्नु एउटा कुरा हो तर एरो थाइले नै जेठयता काम सक्ने लक्षण देखाएको छैन’ एक जना अधिकारीले भने । 

विमानस्थल आयोजनाका प्रमुख इञ्जिनियर प्रवेश अधिकारीले पनि एरो थाइले सबै सामग्री ल्याएको तर जडानमा समय लाग्ने बताउनु भयो । 

‘विभिन्न कारणले गर्दा एरो थाइले सामग्री ल्याउन लामो समय लगायो, अहिले बल्ल झण्डै झण्डै सबै सामान आइपुगेका छन्, अब जडानको काम तीव्र पार्छौं भनेका छन्, वैशाखसम्म सक्ने आशा गरेका छौं’ आयोजना प्रमुख प्रवेश अधिकारीले उज्यालो अनलाइनसँग भन्नुभयो । 

अहिले धावनमार्गमा लाइटिङको लागि फाउन्डेशनको काम भैरहेको आयोजनाले जनाएको छ । यसमा पनि तीन महिनाभन्दा धेरैको समय लाग्नेछ ।

‘सन् २०२० मा अन्तर्राष्ट्रिय उडानको सम्भावना कम’

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्ष २०२० मा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले पनि टेवा दिने र आउँदो बुद्ध पूर्णिमादेखि विमानस्थल सञ्चालनमा आउने भन्नुभएको थियो । उज्यालोसँगको कुराकानीमा भट्टराईले भन्नुभएको थियो, ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आउँदो बुद्ध पूर्णिमादेखि विमान आवतजावत, भिटिज नेपालमा यसले कनेक्टिभिटीको समस्या कम गर्नेछ ।’

तर बुद्ध पूर्णिमासम्ममा विमास्थल निर्माणको काम नै नसकिने आयोजनाले घुमाउरो पारामा स्वीकार गरिसकेको छ ।

भौतिक पूर्वाधार निर्माणको काम सकिए पनि विमानस्थल कसले चलाउने भन्ने टुङ्गो लागेको छैन । अनि अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन आईकाओले नेपालको विमानस्थल भ्रमण गर्नुपर्ने छ र त्यसका केही पूर्वतयारी र शर्तहरु पूरा गर्न पनि कम्तीमा ६ महिना लाग्ने नागरिक उड्डयन प्राधिकरणकै भनाइ छ । 

‘यो अङ्ग्रेजी वर्षमा हामीले कम्तीमा परीक्षण उडान गर्न सक्छौँ कि भन्ने आशा हो, बाहिर हल्ला भएजस्तो आउँदो जेठ असारमै विमानस्थल पूर्ण क्षमतामा चल्छ र भैरहवाबाटै फटाफट अन्तर्राष्ट्रिय उडान हुन्छन् भन्ने कुरा साँचो होइन’ नागरिक उड्डयन प्राधिकरण स्रोतले उज्यालो अनलाइनसँग भन्यो । 

विमानस्थल पूरा भएपछि अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन आइकाओबाट प्रमाणीकरण गराउनुपर्ने हुन्छ । त्यसको लागि कम्तीमा पनि ६ महिना लाग्नेछ । विदेशमा अन्तर्राष्ट्रिय विमानस्थल पूरा भएपछि त्यसको सञ्चालनका सबै प्रक्रिया पुर्‍याउन ख्याति प्राप्त कम्पनीलाई जिम्मा दिइने गरिन्छ । तर नेपालमा पनि यो काम नेपाल नागरिक उड्डयन प्राधिकरण आफैले गर्ने तयारी गरेको छ । यो काम विमानस्थलको निर्माण सम्पन्न भएपछि मात्रै सुरु हुनेछ । 

विमानस्थल कसले चलाउने भन्ने टुङ्गो छैन 

भैहरवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलाइ भएको मात्रै होइन, कसले चलाउने भन्ने पनि अहिलेसम्म अन्योलमै छ ।  अन्तर्राष्ट्रिय ख्याति प्राप्त सरकारी कम्पनीलाई विमानस्थल चलाउन दिने निर्णयअनुसार सरकारले जर्मनीको म्युनिख विमानस्थलसँग कुरा अघि बढाएको छ । तर म्युनिखले नै चलाउने भन्ने ग्यारेण्टी छैन । सरकारले म्युनिख विमास्थलका प्रतिनिधिलाई नेपाल बोलाएको छ । 

यदि म्युनिखले चलाउने भए पनि तयारीको लागि कम्तीमा ६/७ महिना लाग्ने नागरिक उड्डयन प्राधिकरणका अधिकारी बताउँछन् । 

‘अहिलेसम्म म्युनिखसँग ठोस कुरा भएको छैन, यदि उसले नै विमानस्थल सञ्चालन गर्ने हो भने पनि ६/७ महिना त पक्कै लाग्ला, अन्तर्राष्ट्रिय विमास्थल भनेको जहाज आउने र जाने मात्रै होइन, व्यवस्थापनको लागि लामो समय लाग्छ’ प्राधिकरणका एक कर्मचारीले भने । 

सरकारले विमानस्थल सञ्चालनको लागि अन्तर्राष्ट्रिय कम्पनी नआउञ्जेल नेपाल नागरिक उड्डयन प्राधिकरणले नै चलाउने भन्दै आएको छ । तर अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नै प्रभावकारी रुपमा सञ्चालन गर्न नसकेको प्राधिकरणले अर्को विमानस्थल कसरी चलाउन सक्छ भन्ने प्रश्न पनि उठेको छ ।

मिति तोक्न सकिन्न, जति सक्यो छिटो विमानस्थल सञ्चालन गर्ने हाम्रो लक्ष्य हो : महानिर्देशक पोख्रेल

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोख्रेल अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने विषय सोचेजस्तो सजिलो नभएको बताउनु हुन्छ । 

‘यही दिनदेखि विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान र अवतरण हुन्छ भनेर किटान गर्ने गरी काम सकिएको छैन तर हामीले जति सक्यो छिटो हुने गरी काम  गरिरहेका छौँ', पोख्रेलले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘पहिले कन्स्ट्रक्शनको काम सकियोस् अनि हामी अरु कागजी काम थाल्नेछौँ ।’

विदेशमा विमानस्थलको भौतिक पूर्वाधारको काम सकिएपछि आइकाओबाट प्रमाणित हुन र टेस्ट गर्न चाहिने डकुमेन्ट तयार गर्न कम्तीमा ६ महिना लाग्ने गरेको तर नेपालमा भने डकुमेन्टको काम तीन महिनामै सक्ने गरी तयारी थालेको उहाँको दाबी छ । 

‘विमानस्थल निर्माणपछि पनि हामीलाई कागजी फाइलहरु तयार पार्न कम्तीमा तीन महिना लाग्छ, त्यसपछि आईकाओको टोलीले भ्रमण गरेर स्वीकृति दिएपछि मात्रै उडान सुरु हुन्छ’, महानिर्देशक पोख्रेलले भन्नुभयो । 

पछिल्लो पुस्तासँग नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको अनुभव पनि नभएकोले धेरै नै सिक्नुपर्ने र प्राविधिक अफ्ठेरा झेल्नुपर्ने देखिएको उहाँको भनाइ छ । 

(फोटो : नागरिक उड्डयन प्राधिकरणका कर्मचारी प्रतावबाबु तिवारीको ट्विटरबाट)

अन्तिम अपडेट: चैत ५, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया