पढाई पूरा गर्न परिवारभित्रै संघर्ष गर्ने किशाेरी

 माघ १८, २०७६ शनिबार ९:५८:१८ | इन्द्रसरा खड्का

काठमाण्डौ - बिहानै उठ्दा दाइ सचिनको हातमा किताब हुन्थ्यो । प्रीतिको काम चाहिँ बिहान उठ्नेबित्तिकै खाना पकाउनुपर्ने । सचिन खाना खाएर विद्यालय जान तयार हुन्थे । प्रीति चाहिँ बाख्रा लिएर जङ्गल जानुहुन्थ्यो । 

उहाँलाई पनि दाइकोजस्तै ड्रेस लगाएर विद्यालय जान मन लाग्थ्यो । तर उहाँको काम बाख्रा चराउनु थियो । दाइ किताब बोक्दै विद्यालय जाँदा प्रीति बाख्रा लिएर जङ्गल जानुहुन्थ्यो ।

रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर ५ की प्रीतिकुमारी मेहता विद्यालय नै नगएको भने हैन । सुरुमा दाइ सचिनसँगै विद्यालय जानु भएको थियो । पढ्दापढ्दै बुवाले सबैलाई भारत लैजानु भयो । जहाँ आफू काम गर्नुहुन्थ्यो । बुवासँगै भारत जाँदा प्रीतिको पढाइ छुट्यो । 

त्यतिखेर प्रीति कक्षा ५ मा पढ्नुहुन्थ्यो । भारतको दिल्लीमा उहाँ बाआमासँगै करिब ३ वर्ष बस्नुभयो । भारत बस्दा उहाँको काम भयो साँझबिहान खाना पकाउने, अनि भाइबहिनी हेर्ने । 

सबै भारत गए पनि उहाँका दाइ भने नेपालमा बोर्डिङमा पढिरहनु भएको थियो । नेपाल फर्किएपछि प्रीतिलाई फेरि विद्यालय जान मन लाग्यो । तर पाउनु भएन । प्रीतिले विद्यालय जान सानै उमेरमा परिवारभित्रै सङ्घर्ष गर्नुपर्याे ।  अहिले उहाँ गाउँमै रहेको आधारभूत माबिमा कक्षा ६ मा पढ्नुहुन्छ ।

प्रीति जस्तै जटहराकै अञ्जली कुमारी मेहता पनि अहिले विद्यालय जान थाल्नु भएको छ । पहिले प्रीतिजस्तै उहाँले विद्यालय जान पाउनु भएन । उहाँ कक्षा ३ मा पढ्दा भाइ जन्मियो । त्यसपछि भाइ हेर्नुपर्ने काम आइलाग्यो । 

अञ्जलीले विद्यालय जाने समयमा भाइलाई बोक्नु पर्‍यो । भाइ जन्मेको दुई वर्षपछि फेरि बहिनीको जन्म भयो । उहाँको १० वर्ष भाइबहिनी खेलाउँदै बित्यो ।

उहाँसँगैका साथीहरु विद्यालय जान्थे । उनीहरु विद्यालय गएको देख्दा अञ्जलीलाई पनि रहर लाग्थ्यो । आमाबुवासँग विद्यालय जाने कुरा गर्नुहुन्थ्यो । तर उहाँको कुरा कसैले सुन्दैन थिए । 

अञ्जली पनि गाउँमा सञ्चालन भएको सामुदायिक छलफल केन्द्रमा जान थाल्नुभयो । छलफल केन्द्रमा अञ्जली विद्यालय नजाने गरेको थाहा भएपछि सहजकर्ताले घर परिवारलाई सम्झाएर विद्यालय पठाउन थाले ।

रौतहटमा अञ्जली र प्रीतिजस्तै १ सय ३३ जना किशोरी फेरि विद्यालय जान थालेका छन् । कोही विद्यालय नै नगएका, कतिपय विद्यालय छोडेर घरमै बसेका गरी १ सय ३३ जना बालिका विद्यालय जान थालेका छन् ।

विद्यालय पठाउन गरेको संघर्ष

जटहरामा बालविवाह र महिला हिंसा अन्त्यका लागि सामुदायिक छलफल केन्द्र सञ्चालनमा थियो । प्रीति र अञ्जली छलफल केन्द्रमा जान थाले । छलफल केन्द्रमा सहजकर्ताले दुबै जनालाई कति कक्षामा पढ्छौ भनेर सोधे । प्रतिउत्तरमा उनीहरुले टाउको हल्लाए, ‘हामी विद्यालय जाँदैनौं ।’

उनीहरुले पढ्ने रहर भएको, तर आमाबुवाले पढ्न नपठाएको भनेपछि सहजकर्ता उनीहरुको घरमै पुगे । आमाबुवालाई सम्झाइ बुझाइ गरे । सुरुमा अभिभावकले मानेनन् । 

छोराछोरीलाई पढाउँदा उनीहरु आफ्नो खुट्टामा आफै उभिन सक्छन् भनेपछि बिस्तारै उनीहरुले बुझे, अनि प्रीति र अञ्जलीलाई विद्यालय पठाउन अभिभावक तयार भए । 

फेरि विद्यालय पठाउन सहज छैन 

ग्रामिण विकास केन्द्र आरडीसीका कार्यक्रम संयोजक धर्मेन्द्रकुमार साहका अनुसार रौतहटमा धेरै बालिका विद्यालय बाहिर छन् । पहिलो विद्यालय नै नगएका, दोस्रो तीन चार कक्षा पढेर छोडेका र तेस्रो मुस्लिम समुदायको धार्मिक शिक्षा मात्रै लिएका बालिका धेरै छन् । 

त्यस्ता बालिका यति छन् भन्ने यकिन तथ्याङ्क नभए पनि धेरै बालिका विद्यालयको पहुँच बाहिर रहेको साह बताउनुहुन्छ । बालबालिकालाई विद्यालय पढाउनुपर्छ भन्दा धेरैजसो अभिभावकहरु नै तयार हुँदैनन् । बालिकालाई विद्यालय  पठाउने अभियान चलाए पनि सहज नभएको साहको अनुभव छ । 

यस्ता विद्यार्थीलाई कतिपय विद्यालयले नै सहयोग गर्दैनन् । साह भन्नुहुन्छ, ‘संस्थाले पठाएको विद्यार्थी भन्दै विद्यालयले हेर्ने दृष्टिकोण नै फरक हुन्छ । जसले गर्दा विद्यार्थीलाई समस्या भएको छ भने अर्कोतिर आन्तरिक समस्या पनि उत्तिकै छ ।’

फेरि विद्यालय भर्ना हुँदा उमेर धेरै भैसकेको हुनाले कतिपय किशोरीले लाज मान्ने गरेका छन् । तर पढाईलाई उमेरले छेक्दैन भनेर विद्यालयमा रमाउने किशोरीको संख्या पनि धेरै छ । 

भिडियाे हेर्नुहाेस्ः

अन्तिम अपडेट: जेठ १२, २०७७

इन्द्रसरा खड्का

इन्द्रसरा खड्का महिला अधिकार र सामाजिक विषयमा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया