बाँसुरी बजाउनु अगाडि प्रधानमन्त्री ओलीका तीन घण्टा

 माघ २२, २०७६ बुधबार १६:५१:३७ | गोपाल गुरागाईं
unn.prixa.net

तस्बिर : लेखक

काठमाण्डाै - मंगलबार दिउँसो पौने तीन बजे बालुवाटार बोलाइएका सम्पादकहरुले दुई राउण्ड चिया पिइसकेपछि मुस्कुराउँदै हात जोडेर प्रधानमन्त्री केपी शर्मा ओली बैठक कक्षमा पस्नुभयो । सधैँ झैँ ओलीका लामा भाषण सुन्न तयार भएर पुगेका सम्पादकलाई ओलीले प्रश्न र जिज्ञासा मात्र होइन, सुरुमै मन्तव्यसमेत राख्न अनुरोध गरेर आफू फेरिन थालेको छनक दिनुभयो । ओलीको यो फेरिएको शैलीका कारण बैठक कक्ष करिब १ मिनेट सुनसान भयो ।

सम्पादक प्रतीक प्रधानले मिडिया विधेयकहरुले खुम्च्याउने प्रेस स्वतन्त्रता, सरकारको काम गर्ने शैली र थप विषयहरुमा लामै मन्तव्य व्यक्त गरेपछि सम्पादकहरुले मिडिया विधेयक, ललिता निवास र यति होल्डिंग्स, एमसीसी, पार्टीको फेरिँदो समीकरणलगायत सरकार असहिष्णु हुँदै गएको विषय निकालेर करिब दुई घण्टा चर्कै टिप्पणी गरे ।

सरकारी बाहेकका सरकारप्रति आलोचनात्मक २५ जना सम्पादकहरुको कुरा मुस्कुराउँदै, गम्भीर हुँदै र पानी पिउँदै सुनेपछि प्रधानमन्त्री ओलीले सम्पादकहरुले राखेका जिज्ञासाको जवाफ दिनुभयो ।

सम्पादकका मन्तव्य र प्रश्नको जवाफ दिने क्रममा पहिलेजस्तो व्यंग्य र कटाक्ष मिसाउनु भएन । सुरुदेखि नै प्रधानमन्त्री ‘रिल्याक्स्ड मूड’मा देखिनुभयो । उहाँको अभिव्यक्ति, शारीरिक हाउभाउ र शैली देख्दा लाग्थ्यो, प्रधानमन्त्री फेरिन थाल्नुभयो । अरुलाई चिढ्याएर होइन, साथमा लिएर काम गर्न चाहेको स्पष्ट संकेत दिँदै ओलीले सम्पादकहरुसित सरकारलाई ‘कोअपरेट’ गर्न आग्रह पनि गर्नुभयो । 

प्रेस स्वतन्त्रता र मानव अधिकार खुम्चँदैन 

प्रधानमन्त्री ओलीले सबैभन्दा पहिले सम्पादकहरुलाई लोकतन्त्र र प्रेस स्वतन्त्रतामा अलिकति पनि शंका नगर्न आग्रह गर्नुभयो । मिडिया विधेयकबारे सम्पादकहरुले गरेका टिप्पणीको जवाफ दिँदै ओलीले भन्नुभयो, ‘प्रेस, वाकलगायत आवतजावत जस्ता कुनै पनि खालका स्वतन्त्रता कुण्ठित गर्ने काम सरकारले गर्दैन । म आफैँ स्वतन्त्रताको निम्ति ५५ वर्ष लडेको छु । मानवअधिकार र स्वतन्त्रताको अभावको अवस्था कस्तो हुन्छ भन्ने तपाईंँहरुले धेरै लेख्नुभएको छ, तर मैले धेरै भोगेको छु । त्यसैले चिन्ता लिनु पर्दैन ।’

तस्बिर : लेखक

प्रधानमन्त्रीले प्रेससम्बन्धी कानुनमा कुनै त्रुटि रहेको भए त्यसलाई सच्याउने प्रतिबद्धता पनि जनाउनुभयो । तर, स्वतन्त्रताका कारण वैयक्तिक, पारिवारिक र व्यावसायिक क्षति हुँदा के गर्ने भन्ने प्रश्न पनि विचारणीय छ भन्ने उहाँको भनाइ थियो ।   

‘तपाईंँहरुले धेरै बलिङ गर्नुभो, थोरै ब्याटिङ मैले पनि गरेँ’

आलोचना गर्नेहरुप्रति सरकार असहिष्णु हुँदै गएको सम्पादकहरुको टिप्पणीप्रति प्रधानमन्त्रीले भन्नुभयो, ‘सरकार असहिष्णु होइन, हुनै सक्दैन । सरकारले सबैका कुरा सुनेको छ । सरकारको र मेरो आलोचना जति गरे पनि हुन्छ, तर देशलाई नोक्सान हुने र नागरिकमा निराशा पैदा गर्ने काम हुनु हुँदैन ।’ 

सुरुदेखि नै रिल्याक्स मुडमा देखिएका ओलीले ठट्टा गर्दै भन्नुभयो, ‘कहिलेकाहीँ म पनि भन्छु- तपाईंँहरु कति साह्रो असहिष्णु ? मैले भन्नै नपाउने त ? तपाईँहरु अरुलाई सहिष्णु हुनुपर्छ, सुन्नुपर्छ भन्नुहुन्छ । मैले राम्रो कुराको प्रशंसा गर्ने मुटु छैन भन्दा तपाईँहरुले चाहिँ अलिकति सहिष्णु हुनु पर्दैन ? त्यति कुरामा उत्पात मच्चाउने ?’ 

प्रधानमन्त्रीको नरम र शालीन ठट्टा यतिमै रोकिएन । भन्नुभयो, ‘तपाईंँहरुले सबैथोक लेख्न, छाप्न हुने ! मन लागेको कार्टुन बनाउन, व्यंग्य, कविता, लेख, टिप्पणी लेख्न र छाप्न हुने । अनि मैले यसो साथीहरुले त अति नै गरे हौ भनेर टिप्पणी गर्दा लौ उत्पात भयो भन्ने ! अलिअलि त हामीले पनि भन्न पाउनुपर्छ नि । तपाईंँहरुले दनादन बलिङ गरेपछि मैले पनि एक दुई ब्याटिङ त गर्नुपर्‍यो ! यसलाई अन्यथा नमादिनुहोला ।’

‘मिर्गौला प्रत्यारोपण गरेर बेस्सरी काम गर्छु’

प्रधानमन्त्री ओलीले अबको बाँकी तीन वर्ष आफैंले सरकार चलाउने र प्रभावकारी रुपमा काम गरेर देखाउने प्रतिबद्धता जनाउनुभयो । कामलाई सहज बनाउन छिट्टै मिर्गौला प्रत्यारोपण गर्न लागेको जानकारी पनि दिनुभयो । 

‘बेस्सरी काम गर्न सजिलो होस् भनेर फेरि मिर्गौला राख्न लागेको छु, छिट्टै प्रत्यारोपण गर्छु । सजिलोसँग बेस्सरी काम गर्न सकियोस् भनेरै फेरि मिर्गौला प्रत्यारोपण गर्न लागेको हो ।’

तत्कालीन एमाले र माओवादीबीच एकीकरण हुँदा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सरकारमा आलोपालो गर्ने सहमति भए पनि अहिले आफैंले पुरै समय सरकार चलाउन मार्गप्रशस्त भएको उहाँले उल्लेख गर्नुभयो । 

सरकार र पार्टीको नेतृत्वलाई लिएर आलोचना भैरहेकोतर्फ संकेत गर्दै उहाँले सबैलाई मिलाएर अघि बढ्न खोज्दा यस्तो भएको बताउनुभयो । ‘५० औँ वर्ष राजनीति गरेर खली खाएका, आफूभन्दा अगाडि अध्यक्ष र प्रधानमन्त्री रहिसकेका नेताहरु छन् । अनि यसो गरौँ भनेर आदेश दिन त मिल्दैन । त्यसैले अलिअलि जटिलता त हुन्छ नै ।’

उहाँले धेरै सोचविचार र छलफल गरेरै पार्टी एकता भएको सम्झनुभयो । 

प्रधानमन्त्रीले सरकार अत्यन्त सफल र सन्तुलित तरिकाले अगाडि बढिरहेको दावी पनि गर्नुभयो । विकासको फल जनताले अनुभव गर्न नसकेको र देखिन र अनुभूत हुन नसकेको सम्पादकहरुको टिप्पणीको जवाफ दिँदै ओलीले फेरि ठट्टा गर्नुभयो, ‘विकास भनेको व्रतबन्ध गरेर केटालाई चौकामा चढाए जस्तो हुँदो रहेनछ । व्रतबन्ध गरेर चौकामा चढ्नेबित्तिकै व्यक्तिको स्ट्याटस परिवर्तन भएजस्तो देशको स्ट्याटस रातारात फेर्न सकिँदैन । हामीले काम गरिरहेका छौँ, परिवर्तन देखिन थालेको छ । लोकतन्त्रको प्रतिफल आउन समय लाग्छ ।’

‘एमसीसी पारित हुन्छ’

प्रधानमन्त्री ओलीले आफ्नै दलभित्र विवाद उत्पन्न भए पनि अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोेसन सम्झौता (एमसीसी) संसदबाट छिट्टै पारित हुने बताउनुभयो । एमसीसीबारे रहेको भ्रम अन्त्य गर्न पार्टीभित्र कार्यदल बनाएको भन्दै ओलीले त्यसको प्रतिवेदन आएपछि यसलाई संसदबाट पारित गर्ने प्रक्रियातर्फ अघि बढ्ने बताउनुभयो ।

एमसीसीको विषयमा अमेरिकाले सुशासन, लोकतान्त्रिक प्रणाली र आर्थिक स्वतन्त्रताको विषयमा मात्रै शर्त राखेकाले यसमा नकारात्मक हुनु नपर्ने ओलीको भनाइ थियो । पहिले आफूलाई हटाएर बनेको कांग्रेस नेतृत्वको सरकारले सम्झौता गरेको भए पनि उपयुक्त भएकाले नै यसलाई निरन्तरता दिन लागेको उहाँले प्रष्ट पार्नुभयो ।
‘मलाई हटाएर बनेको सरकार (देउवा सरकार)ले सम्झौता गरेको हो । ठिक सम्झौतालाई ठिक भन्नुपर्छ । त्यतिबेला पनि मैले ठिक छ भनेको हुँ र अहिले पनि ठिक छ भन्छु’, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

‘रिल्याक्स्ड’ र शालीन ओली रुपको रहस्य

तीन घण्टा पत्रकारसँग भलाकुसारी गरी प्रधानमन्त्रीको सचिवालयमा आयोजना गरिएको सारंगी साँझमा पुगेका प्रधानमन्त्री निम्तारुका हरेक टेबुलमा पुग्नुभयो र हल्का फुल्का ठट्टा गर्नुभयो । सारंगी साँझमा आफूभन्दा वरिष्ठ नेताहरु माधब कुमार नेपाल र झलनाथ खनाललाई दायाँबायाँ राखेर सारंगी थमाइ आफुले बाँसुरी बजाउनु भयो । एमसीसी लगायत अनेक तनावका बीच प्रधानमन्त्रीको यो फेरिएको शैलीले सम्भवतः वरिष्ठ नेता खनाल र नेपाल पनि चकित भएको हुनुपर्छ ।    

मंगलबार सारंगी बजाउन जानु अघि दुई घण्टा सम्पादकहरुका कुरा सुनेर एक घण्टा सम्पादकहरुलाई जवाफ दिएका प्रधानमन्त्रीको स्वर नम्र थियो भने हाउभाउमा अरुबेला जस्तो दम्भ देखिँदैनथ्यो । सम्पादकहरुले ओलीको यो शालीन र रिल्याक्स्ड मुड पहिलोपल्ट देखेका थिए । तर ओलीको यो फेरिएको रुप र स्वाभावको कारण के होला भन्ने विषयमा चाहिँ पत्रकारहरुले अलग-अलग अनुमान र विश्लेषण गरेका छन् । 

पार्टीभित्र घट्दै गएको शक्तिका कारण प्रधानमन्त्री ओली रक्षात्मक देखिएको एकथरीको विश्लेषण छ । अर्काथरीले भने यसलाई दुई वर्षपछि प्रधानमन्त्री दुई तिहाईको ह्याङ्गओभरबाट भएको व्यक्तित्वको क्षतिलाई रोक्ने प्रयास भनेका छन् ।

अर्काथरी विश्लेषक प्रधानमन्त्री दुई तिहाईले मात्र समृद्धि सपना साकार गर्नसक्ने रहेनछ भन्ने अनुभूत गरेर उहाँ अन्तरमनदेखि नै फेरिन थालेको र सबैभन्दा पहिले आफू फेरिएको जानकारी दिन चुनिएका २५ जना सम्पादकसित अन्तरंग कुरा गरेको अडकल गरेका छन् ।

अन्तिम अपडेट: चैत १४, २०८०

गोपाल गुरागाईं

गोपाल गुरागाईं  चार दशकदेखि छापा र रेडियो पत्रकारितामा हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया