‘पेनडाउन’ काे विराेध र मेयर साहको राजीनामा माग गर्दै जनकपुरधाममा युवाहरुको प्रदर्शन

 माघ २४, २०७६ शुक्रबार १५:२०:१० | सुभाष कर्ण
unn.prixa.net

धनुषा - दुई दिनदेखि जनकपुरधाम उपमहागरपालिकाका कर्मचारीले गरेको ‘पेनडाउन’ काे विराेधमा स्थानीय युवाहरुले विरोध प्रदर्शन गरेका छन् ।

गएकाे पुस २२ गते नगरप्रमुख साहको कार्यकक्षमा पत्रकारमाथि भएको दुर्व्यवहार एवं कुटपिटकाे विषयलाई लिएर उपमहानगरपालिकाका कर्मचारीहरुले दुई दिनदेखि ‘पेनडाउन’ गरेकाले उपमहानगरपालिका सहित २५ वटै वडा बन्द रहेका छन् ।

जनकपुरधाम-८ मा रहेकाे रामनन्द चाेकमा युवाहरुले एक घण्टा सडक अवराेध गरेर मेयर लालकिशोर साह र उपमेयर रिता मिश्रसहित कर्मचारी युनियनका अध्यक्ष कृष्णकुमार झाको राजीनामा मागेका छन् ।

युवाहरुकाे प्रदर्शनका कारण जनकपुर-ढल्केवर सडकखण्डका लामो तथा छोटो दूरीका सवारी साधन अवरुद्ध भएका थिए ।

प्रदर्शनकारी युवाहरुले पत्रकारलाई दुर्व्यवहार एवं कुटपिट गर्ने उपमहानगरपालिकाका मेयर र कर्मचारीविरुद्ध कारबाही हुनुपर्ने उल्टै सेवाग्राहीलाई दु:ख दिनेगरी गरेको पेनडाउनकाे विरोध गरेको बताएका छन् ।

प्रदर्शनमा सहभागी युवाहरुले ‘पत्रकारलाई न्याय देउ, तत्काल पालिककाको काम कारबाही सुचारु गर, भ्रष्टाचारी मेयर साह राजीनामा देउ’ लगायतका प्लेडकार्ड समेत प्रदर्शन गरेका छन् ।

पछिल्लो समय जानकी मन्दिर फुलबारी जग्गाको अतिक्रमणबारे प्रतिक्रिया लिन पुगेका पत्रकारहरुलाई मेयर साहको निर्देशनमा उनकै कार्यकक्षमा कुटपिट गराइएको थियो ।

अन्तिम अपडेट: चैत १६, २०८०

सुभाष कर्ण

कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया