ए डिभिजन लिग : अन्तिम चरणका खेल सुरु, तीन खेल हुँदै

 फागुन १, २०७६ बिहिबार ८:३०:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत बिहीबारदेखि अन्तिम चरणका खेलहरु सुरु हुँदैछन् ।

एन्फा कम्प्लेक्स मैदानमा बिहीबार तीन वटा खेल हुँदैछन् । तीन खेलमध्ये सबैको नजर दोस्रो खेलमा हुनेछ । जुन खेलले 'बी' डिभिजनमा झर्ने दोस्रो टिमकाे टुङ्गो लाग्नेछ ।

दिउँसो १२ः१५ बजे विभागीय क्लब एपीएफ र ब्रिगेड ब्वाइज प्रतिस्पर्धा गर्दैछन् । १२औँ चरणको खेल सकिँदा ब्रिगेड ब्वाइज र एपीएफ समान आठ–आठ अङ्कका साथ पुछारबाट क्रमशः दोस्रो र तेस्रो स्थानमा छ ।

याे खेलमा जित हात पार्ने टोली रेलिगेशनबाट बच्नेछ । यदि खेल बराबरी भएमा ब्रिगेड ब्वाइज रेलिगेशनमा पर्नेछ । गोल अन्तरका आधारमा एपीएफ अघि छ ।

एपीएफले १४ गोल गर्दै २० गोल खाँदा उसकाे गोल अन्तर –६ रहेको छ । ब्रिगेड ब्वाइजले भने चार गोल गरेर १४ गोल खाएको छ । रेलिगेशनबाट बच्न ब्रिगेड ब्वाइजलाई तीन अङ्क अनिवार्य छ । यसअघि सरस्वती युथ क्लब रेलिगेशनमा परिसकेको छ ।

बिहीबार सरस्वतीले शीर्ष डिभिजनको अन्तिम खेल खेल्दैछ । दिउँसो साढे ३ बजे एन्फा कम्प्लेक्स मैदानमा सरस्वती र सङ्कटा क्लब प्रतिस्पर्धा गर्दैछन् ।

संकटा १५ अङ्क बनाउँदै नवौँ स्थानमा छ । आजको जितले सङ्कटाको 'सुपर सिक्स' को स्थान सुरक्षित बनाउनेछ । तर त्यसअघि नेपाल पुलिस क्लबले खेल्दैछ । विभागीय टोली पुलिसले बिहान सवा आठ बजेपछि हुने खेलमा फ्रेण्ड्स क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।

याे खेलमा जित हात पारेको खण्डमा नेपाल पुलिस क्लबले छैटौँ स्थान हासिल गर्नेछ । पुलिसको १७ अङ्क छ । फ्रेण्ड्सको भने १४ अङ्क छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया