राजावादीको सक्रियतालाई लिएर सामाजिक सञ्जाल, सडक हुँदै संसदसम्म चर्चा

 चैत ४, २०८१ सोमबार १८:३:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्वीर

काठमाण्डाै – राजावादीहरूको सक्रियतासँगै संसददेखि सडक र चोकदेखि सामाजिक सञ्जालसम्म राजा फर्कने र रोक्ने कुराको चर्चा बढेको छ ।

प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहको सन्देश सार्वजनिक भएलगत्तै राजावादीको सक्रियता बढेको हो । त्यसपछि राजावादी र गणतन्त्रबादीबीच आरोप–प्रत्यारोप भइरहेको छ । अझ राजावादीहरूले फागुन २५ गते काठमाण्डौमा प्रदर्शन गरेपछि त गणतन्त्रवादीहरू झस्किएका छन् ।

राजावादीको प्रदर्शनकै कारण नेकपा (माओवादी केन्द्र) ले तराई–मधेशमा आफ्नो अभियान नै रोक्यो । त्यसपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्नुभएको छ । संवादका क्रममा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाले सरकार परिणाममुखी काम गर्न प्रतिबद्ध भएको बताउनुभएको प्रचण्डको सचिवालयले जनाएको छ ।

यस्तै संसदमा पनि राजा र राजावादीको सक्रियताको विषयले स्थान पाइरहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजा फर्काएर देखाउने चुनौती दिएको छ भने गणतन्त्रवादीहरूले विरोध गरिरहेका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहले आफू राजनीतिक खेलाडीका रूपमा मैदानमा आएँ भन्न सक्नुपर्ने बताउनुभयो । यस्तै प्रतिनिधिसभाकाे बैठकमा माओवादी केन्द्रकी सांसद उर्मिला अर्यालले राजनीतिक दलको यस्तै प्रवृत्तिका कारण नागरिक एउटै राजा पालेको भए हुन्थ्यो भन्ने भ्रममा पर्ने डर रहेको बताउनुभयो ।

आज काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै राजावादीहरूले आफूहरूको एजेन्डालाई कमजोरी ठानेर अपव्याख्या गर्न थालिए त्यसको मूल्य महँगो पर्ने चेतावनी दिएका छन् । तर सडकमा पूर्वराजाको समर्थनमा देखिएको भीडको जस कसले लिने भन्ने विषयमा राजावादीहरूबीच विवाद छ ।

अन्तिम अपडेट: चैत ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया