नेपालको जनयुद्धको घटना विश्व इतिहासमै बिरलै हुने ऐतिहासक घटना हाे : नेता गाैतम

 फागुन १, २०७६ बिहिबार १४:१०:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले नेपालको जनयुद्धको घटना विश्व इतिहासमा बिरलै हुने ऐतिहासक घटना भएको बताउनुभएकाे छ । 

नेकपा केन्द्रीय कार्यालय धुम्रबाराहीमा ‘जनआन्दोलन र जनयुद्धका शहीदको स्मृतिमा आज आयोजित श्रद्धाञ्जलि सभा’ मा नेता गाैतमले जनयुद्ध र जनआन्दोलनले सामन्तवादलाई परास्त गरेको र साम्रज्यवादलाई कमजोर बनाउने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, 'जनयुद्ध बलिदानको युद्ध हो, मुक्ति र सङ्घर्षको युद्ध हो, यति ठूलो बलिदान संसारको इतिहासमा भएको थिएन, ती शहीदहरुलाई सम्मान गर्दै अब हामीले बहुदलीय प्रतिस्पर्धाका आधारमा समाजवाद स्थापनामा लाग्नुपर्छ ।'

उहाँले जनयुद्धका बेला तत्कालीन एमालेले पनि ठूलो क्षति बेहोर्नुपरेको उल्लेख गर्दै गल्ती र कमजोरी नगरि कोही अगाडि बढ्न नसक्ने समेत बताउनुभयो । उहाँले पछिल्लो समय पार्टी एकता हुँदा देशमा स्थायित्व आएकाले पार्टीभित्र देखिएका अन्तरविरोधहरु छिट्टै हल गर्न नेतृत्व सफल हुने विश्वास पनि व्यक्त गर्नुभयो ।

उपाध्यक्ष गौतमले जनयुद्धका क्रममा तत्कालीन एमालेका झण्डै तीन सय नेता–कार्यकर्ता मारिएकामा त्यसको लेखाजोखा पनि हुनुपर्ने बताउनुभयो । कार्यक्रममा शहीदहरुप्रति श्रद्धाञ्जलि व्यक्त गरिएको थियो ।

कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध र जनआन्दोलनको बलमा शान्ति प्रक्रिया हुँदै समाजवादको आधार निर्माणमा देश अघि बढेकाले अब जनयुद्धको नक्कल गरेर विद्रोह सम्भव नहुने बताउनुभएको छ ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच गत २०७५ जेठ ३ गते एकता भएपछि हरेक फागुन १ लाई ‘जनआन्दोलन र जनयुद्धका शहीदको स्मृतिमा आज आयोजित श्रद्धाञ्जलिसभा’ का रुपमा मनाउन थालिएको छ । 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया