विभिन्न ठाउँका दुर्घटनामा पाँच जनाकाे ज्यान गयाे

 फागुन २, २०७६ शुक्रबार ९:४७:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – बिहीबार राति र शुक्रबार बिहान धादिङ, काभ्रे, दोलखा, कैलाली, कञ्चनपुर र बाँकेमा भएका सवारी दुर्घटनामा पाँच जनाको ज्यान गएको छ । 

धादिङको बेनीघाट रोराङ गाउँपालिका ५ चरौँदी पुलनजिकै शुक्रबार बिहान स्कुटरलाई पहिचान नखुलेको गाडीले ठक्कर दिँदा एक जनाकाे ज्यान गएकाे छ । गाडीले ठक्कर दिँदा स्कुटर चालक सोलुखुम्बुको मुक्ली गाउँपालिका १ घर भइ काठमाडौ बस्ने प्रकाश बस्नेतको ज्यान गएको प्रहरीले जनाएको छ । 

यस्तै काभ्रेको पनौतीमा पर्खालमा मोटरसाइकल ठोक्किँदा धुलिखेल नगरपालिका १२ पस्कोटका सञ्जिव तामाङको ज्यान गएको छ ।  

कैलालीको लम्कीचुहा नगरपालिका ५ काे चौरीमा जीपमा चढेर खेल्ने क्रममा ढालाले लागेर जनक चन्दका डेढ वर्षीय छोराको ज्यान गएको छ । 

यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका १० काे चकमेलीमा बिहीबार राति तीन जना चढेको मोटरसाइकल पल्टिँदा चालक धनगढी उपमहानगरपालिका ११ का शिवराज रानाको ज्यान गएको छ । 

रानाकाे उपचारको क्रममा प्रादेशिक अस्पताल धनगढीमा राति पौने १२ बजे ज्यान गएकाे हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा पछाडि सवार २० वर्षीय लालबहादुर राना र २३ वर्षीय धनीराम रानाको अवस्था भने सामान्य रहेको छ । 

बाँकेको राप्ती सोनारी गाँउपालिका १ काे सिक्टा मोडमा पनि बिहीबार राति तीन जना सवार भे४प ६७४६ नम्बको मोटरसाइकल अनिन्यत्रित भएर पल्टिँदा एक जनाको ज्यान गएकाे छ भने अन्य दुई जना घाइते भएका छन् ।

ज्यान गुमाउनेमा मोटरसाइकलमा पछाडि सवार पुरुष रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा राती पौने ११ बजे ज्यान गएकाे हाे, उनकाे पहिचान भएकाे छैन । 

घाइते भएका मोटरसाइकल चालक बाँकेकै सोनारी गाँउपालिका ५ का ३० वर्षीय दिलबहादुर विक, पछाडि सवार अर्का सोनारी गाँउपालिका २ का विजयकुमार चौधरीको भने त्यही अस्पतालमै उपचार भइरहेको इलाका प्रहरी कार्यालय कुसुमाले जनाएको छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया