जनकपुरमा मन्त्रीलाई कालोमोसो दल्न गएका एक दर्जन युवा पक्राउ

 फागुन ३, २०७६ शनिबार १६:१३:२३ | सुभाष कर्ण
unn.prixa.net

धनुषा - प्रदेश २ का समाजिक विकास मन्त्री नवलकिशोर साहलाई कालोमोसो दल्न गएका एक दर्जन युवा पक्राउ परेका छन् । 

शनिबार बिहान प्रदेश राजधानी जनकपुरको जानकी हेल्थ केयरको एक खोप कार्यक्रममा सहभागी हुन जानुभएका मन्त्री साहलाई घेरेर कालोमोसो दल्न गएका राष्ट्रिय जनता पार्टी नेपालका झण्डै १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको हो ।

मन्त्री साह राजपा नेपालका उपाध्यक्ष समेत हुनुहुन्छ । कालोमोसो दल्ने योजना बनाएर प्रवेशद्वार नै अवरुद्ध गरेर बसेपछि उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको हो । युवाहरुले कार्यक्रमस्थलमै घेरेपछि मन्त्रीले झण्डै १ घण्टा अस्पतालमै बस्नुपरेको थियो । 

पछि प्रहरी परिचालन गरेर युवाहरुलाई पक्राउ गरी मन्त्री साहलाई सुरक्षित गन्तव्यमा पुर्याइएको छ । त्यस क्रममा राजपा नेपालका हिरेन्द्र सिंहलगायतका युवाले मन्त्री साहलाई कालो झण्डा समेत देखाएका छन् ।

शुक्रबार राजपा नेपालका धनुषा जिल्ला अध्यक्ष मण्डलका सदस्य ज्ञानेन्द्र झा मन्त्री साहको चेम्बरमा गुनासो गर्न पुगेका थिए । मन्त्रालय र मन्त्रीको कामकारबाहीको विषयमा असन्तुष्टि व्यक्त गर्दा मन्त्री साह  र नेता झाबीच भनाभन भएको थियो । 

त्यसपछि नेता झाले समाजिक सञ्जालमार्फत् मन्त्री साहलाई जनकपुरको कुनै कार्यक्रममा सहभागी भएर देखाउन चुनौती दिँदै कालोमोसो दल्ने चेतावनी दिएका थिए । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

सुभाष कर्ण

कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया