युभेन्टस शीर्ष स्थानमा फर्कियो

 फागुन ५, २०७६ सोमबार ६:२८:३० | उज्यालो सहकर्मी
unn.prixa.net

इटालियन सिरिएमा युभेन्टस विजयी भएको छ । रेलिगेसन जोनको ब्रेसियालाई २–० गोलले हराउँदै युभेन्टसले अग्रता कायम राखेको हो ।

पहिलो हाफमै १० खेलाडीमा झरेको ब्रासियाविरुद्ध घरेलु टोलीलाई जित दिलाउनका लागि पाउलो डिबाला र हुवान क्वाड्राडोले गोल गरेका थिए ।

खेलको ३७औं मिनेटमा ब्रेसियाका फरवार्ड फ्लोरियन आई रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि पाहुना टोली १० खेलाडीमा सीमित बनेको थियो । त्यसैको फ्रिकिकमा पाउलो डिबालाले गोलमा परिणत गरे । ७५औैं मिनेटमा हुवान क्वाड्राडोले ब्लेइस माटुइडीको पासमा गोल गर्दै युभेन्टसको अग्रता लम्ब्याए ।

जितसँगै युभेन्टस ५७ अंक बनाउँदै शीर्ष स्थानमा फर्किएको छ ।  त्यसअघि इन्टरमिलानले लाजियोसँग पराजय भोग्दा शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ । 

इन्टरमिलानले पहिलो हाफमा लिएको एक गोलको अग्रताविरुद्ध लाजियोले दोस्रो हाफमा दुई गोल गरेको थियो । जसका कारणले गर्दा इन्टरमिलानले लिगमा अग्रता लिने मौका गुमाएको छ । लाजियो युभेन्टसभन्दा एक अंक पछि रहेर दोस्रो स्थानमा छ भने इन्टरमिलाना ५४ अंक सहित तेस्रो स्थानमा छ ।

खेलको ४४औं मिनेटमा एश्ले योङ्गले गोल गर्दै इन्टरमिलानलाई अग्रता दिलाएका थिए । गत महिना म्यान्चेष्टर युनाइटेडबाट इन्टरमिलानमा आबद्ध भएका योङ्गले गरेको गोलका कारण एन्टोनियो कोन्टेको टोलीले पहिलो हाफमा अग्रता लिएको थियो ।

५०औं मिनेटमा काइरो इम्मोबाइलले गोल गर्दै खेल बराबरीमा पुर्याए । स्टेफान डि भ्रिजलाई फल गरेका कारण पाएको पेनाल्टीलाई इम्मोबाइलले गोलमा परिणत गरेका थिए ।

यो गोलसँगै इम्मोबाइलले सिरिए गोल संख्या २६ पुर्याएका छन् । सर्वाधिक गोलकर्ताको सूचीमा दोस्रो स्थानमा रहेका रोनाल्डोको भने २० गोल छ ।

६९औं मिनेटमा सेर्जी मिलिन्कोभिच साभिचले १४ यार्ड टाढाबाट गरेको प्रहार गोलमा परिणत भए पनि लाजियोले जित हात पारेको हो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया