सेक्युरिटी प्रेस प्रकरणमा लेखासमितिको विश्वसनीयतामाथि आक्रमण भएको भन्दै छानबिन गर्न माग

 फागुन ८, २०७६ बिहिबार १५:६:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सेक्युरिटी प्रिन्टिङ स्थापना प्रकरणलाई लिएर सामाजिक सञ्जालमा लेखासमितिको विश्वसनीयतामाथि आक्रमण गर्ने काम भएको भन्दै समिति सदस्यहरुले तत्काल छानबिन गर्न सभापतिको ध्यानाकर्षण गराएका छन् । 

संघीय संसद प्रतिनिधिसभा अन्र्तगतको सार्वजनिक लेखा समितिको बिहीबारको बैठकमा समिति सदस्यहरुले सामाजिक सञ्जालमा समिति र आफूहरुको चरित्र हत्या गर्ने काम भएको भन्दै त्यस्ता प्रयोगकर्तालाई छानबिनको दायरामा ल्याइ साइबर अपराध अन्र्तगत कारवाही गर्न माग गरेका हुन् ।

सेक्युरिटी प्रिन्टिङ स्थापना प्रकरणमा स्वीस कम्पनीसँग कमिसन मागेको भिडियो सार्वजनिक भएलगत्तै “जर्मन कम्पनीलाई दिनका लागि लेखा समितिका मान्छेले पनि कमिसन खानेगरी सेटिङ गरिसकेका थिए” भन्दै समितिका सदस्यहरुको तस्बिर सार्वजनिक भएको देखाउँदै उनीहरुले सभापतिको ध्यानाकर्षण गराएका हुन् ।

समिति सदस्य सूर्य पाठकले सांसदहरुको चरित्र हत्या गर्ने काम भएको र सो आफूलाई स्वीकार्य नुहने भन्दै कारबाही प्रक्रिया अघि बढाउन माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आज हामीले यो अडियो बाहिर नल्याएको भए आजै लेखा समितिबाट जर्मन कम्पनीलाई ठेक्का दिने सहमति हुँदै थियो । लेखा समितिका मान्छेले पनि कमिसन खानेगरी सेटिङ गरिसकेका थिए भन्ने खालको आरोप छ यसमा सभापतिको गम्भीर ध्यान जाओस् । हामीले अहिलेसम्म निर्णय गरेका छैनौँ । छलफल गरेका छैनौँ । विषय वस्तुमा प्रवेश गरेका छैनौँ । यसरी चरित्र हत्या गर्न पाइन्छ कि पाइँदैन ? यसबारे गम्भीरतापूर्वक छलफल गर्नुपर्छ । जसलाई विज्ञ भनेर बोलाउनुभयो, उहाँले यो कुरा बोल्नुभएको छ र सामाजिक सञ्जालमा हाम्रा तस्बिरहरु भ्रष्टाचारी भनेर सार्वजनिक गरिएको छ । यसको बारेमा छानबिन गर्नुपर्छ भन्नेजोडदार माग गर्न चाहन्छु ।’

अर्का सदस्य डाक्टर मिनेन्द्र रिजालले ‘७४ करोड होइन ४ अर्ब खाएर आज जर्मन कम्पनीलाई ठेक्का दिन थालेपछि स्विस एजेन्टले क्लिप बाहिर ल्याएको’ भन्दै प्रभात किशोर उपाध्यायको नाममा सामाजिक सञ्जालमा आफूहरुको तस्बिर पनि सार्वजनिक हुनु लेखा समितिमाथिकै आक्रमण भएको भन्दै गम्भीरतापूर्वक लिन आग्रह गर्नुभयो ।

सरकारले गरेका अन्य वद्मासीका काम पनि छानबिन नहोस् र प्रभावित बनुन् भनेर समितिमाथि आक्रमण गर्ने काम भएको भन्दै उहाँले त्यस्ता प्रयोगकर्तामाथि तत्काल छानविन थाल्न सभापतिको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो, “यो लेखा समितिको विश्वसनियता माथिको आक्रमण हो । लेखा समिति माथि आक्रमण गरेर सरकारका अरु यस्ता किसिमको बद्मासी र अनियमितताको छानविन गर्न नसकोस् भनेर लेखा समितिको विश्वास माथि आक्रमण गरिएको छ । यसलाई गम्भीरतापूर्वक लिनुपर्छ । ”

मोहम्मद इस्तियाक राईले पनि सांसदहरुको चरित्र हत्या गर्ने काम भएको भन्दै यस प्रकरणमा सार्वजनिक भएका भिडियो लगायतका सामाग्री सबैको अध्ययन गर्नुपर्ने धारणा राख्नुभयो । त्यसैगरी धर्मशिला चापागाईले सेक्युरिटी प्रिन्टिङ स्थापना प्रकरण सम्बन्धमा छिटो छिटो रुपमा विभिन्न कोणका सामाग्री बाहिर आईरहेकाले समिति त्यसतर्फ गम्भीर हुनुपर्ने आवश्यकता औल्याउनुभयो ।

सांसदहरुले विज्ञको रुपमा आएका स्वीस कम्पनीका स्थानीय एजेण्टले सार्वजनिक गरेको भिडियोका सम्बन्धमा पनि समितिमा झिकाई छलफल गर्नुपर्ने माग गरेका थिए ।

‘४ अर्ब खाएर जर्मन कम्पनीलाई ठेक्का दिने कार्यमा संलग्न सांसदहरु’ भन्दै समितिका सदस्यहरुको तस्वीर सार्वजनिक सञ्जालमा आएपछि सांसदहरु आक्रोशित बन्दा बैठकमा केहीसमय होहल्ला मच्चिएको थियो ।

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया