सेक्युरिटी प्रिन्टिङ प्रेसबारे झूटाे विवरण बनाएर ‘गुमराह’मा नराख्नुस् : लेखा समिति

 फागुन ८, २०७६ बिहिबार २०:२८:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सांसदहरुले सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापना सम्बन्धमा झूटाे विवरण दिएर संसदीय समितिलाई गुमराहमा नराख्न सरकारलाई चेतावनी दिएका छन् । 

सेक्युरिटी प्रेस स्थापनाका सम्बन्धमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सुरक्षण मुद्रण केन्द्रका कर्मचारीसँगको छलफलका क्रममा सार्वजनिक लेखा समितिका सदस्यहरुले समितिलाई झूटो विवरण दिएर उम्कने गल्ति नगर्न मन्त्रालयका कर्मचारीलाई चेतावनी दिएका हुन् । 

सेक्युरिटी प्रेस स्थापनाकाे सम्बन्धमा मन्त्रालयका सचिव दिपक सुवेदी र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलको जवाफ गोलमोटल र स्पष्ट नभएपछि सांसदहरुले गलत जवाफ नदिन सचेत गराएका हुन् ।

सांसद विरोध खतिवडाले फ्रान्स र जर्मनीमा मन्त्रालयका तर्फबाट पटक पटक भएको भ्रमणको खर्च कसले ब्यहोरेकाे छ भनेर प्रश्न गर्दा मुद्रण केन्द्रका कार्यकारी निर्देशक पौडेलले सबै नेपाल सरकारको तर्फबाट भएको जवाफ दिनुभएको थियो ।

पौडेलले आफ्नो भनाइ छिनमै बदलेपछि सांसदहरुले सबै भ्रमणको सही विवरण बुझाउन सचेत गराएका थिए । सांसद डाक्टर मिनेन्द्र रिजालले चेतावनी दिँदै भन्नुभयो,  ‘तपाईँले यहाँ बोल्या कुरा झूटाे भयो, प्रमाणभन्दा बाहिर गयो भने संसदको विशेषाधिकार आकर्षित हुन्छ । यो विषय गम्भीर हो । हाम्लाई पनि शंका लागेको छ । प्रश्न गर्ने क्रम सकिएको छैन ।’

सांसद इस्तियाक राईले भन्नुभयो, ‘मैले पनि मन्त्रालय चलाएकै हो । कुनै पनि इन्जिनियरले दर रेटभन्दा फरक ल्याउँछ भने किन र के का लागि ल्याएको भनी प्रष्ट हामीले ब्रिफिङ लिएर मात्रै प्रक्रिया अगाडि बढाउँछौ तसर्थ तपाईँ पन्छिन मिल्दैन ।’

 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया