स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशकमा महेन्द्रप्रसाद श्रेष्ठ

 फागुन ८, २०७६ बिहिबार २०:६:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशकमा महेन्द्र प्रसाद श्रेष्ठ नियुक्त हुनुभएको छ ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दैै श्रेष्ठलाई यो जिम्मेवारी दिनुभएको हो । विभागका निमित्त महानिर्देशक रहेका डा रोशन पोखरेललाई भने स्वास्थ्य मन्त्रालय सरुवा गरिएको छ ।

यस्तै मन्त्रालयकाे नीति योजना महाशाखाको जिम्मेवारी डा गुणराज लोहनीले पाउनुभएको छ । यसअघि डा विकास देवकोटाले मन्त्रालयमा नीति योजना महाशाखा सम्हाल्दै आउनुभएको थियो । डा देवकोटालाई भने स्वास्थ्य समन्वय महाशाखाकाे जिम्मेवारी दिइएको छ ।

यस्तै कान्ति बाल अस्पतालको निर्देशकको जिम्मेवारी डा कृष्णप्रसाद पौडेललाई दिइएको छ । साविकका अस्पताल निर्देशक डा आरपी बिच्चालाई भने सरुवा गरिएकाे छैन । उहाँलाई हाल यही अस्पतालमै राखिएको छ ।

यसै क्रममा डा सन्तोष पौडेल राष्ट्रिय ट्रमा सेन्टरकोे निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट हुनुभएको छ । टेकुमा रहेको शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशक रहेका डा बासुदेव पाण्डेलाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशकको जिम्मेवारी दिइएको छ ।

त्यहाँका निर्देशक डा विवेक कुमार लाललाई राष्ट्रिय क्षयरोग केन्द्रमा पठाइएको छ । राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशन डा सागरराज भण्डारीलाई टेकु अस्पतालको निर्देशक बनाइएको छ ।

यस्तै डा रविन खड्कालाई वीर अस्पतालमा ल्याइएको छ । कोशी अस्पतालको मेडिकल सुपरिन्टेन्डेन्टकाे जिम्मेवारी डा चुमनलाल दाशलाई तथा भेरी अस्पतालको मेडिकल सुपरिन्टेन्डेन्टकाे जिम्मेवारी डा प्रकाश थापालाई दिइएको छ ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया