बाख्रा पालेर आफ्नै माटोमा पसिना चुहाउँदै भारतीय सेनाका पूर्व लाहुरे

 फागुन ९, २०७६ शुक्रबार १८:४२:५० | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – बुवा कुलबहादुर खड्का भारतीय सेनाका जागिरे । त्यसैले पनि सेनामा भर्ती हुने सानैदेखिको सपना थियो, सुन्दरबजार नगरपालिका–८, अकलाटोलका सीताराम खड्काको । एसएलसी उतीर्ण गरेपछि उहाँ भारतीय सेनामा भर्ती हुन जानुभयो र भर्ती हुन सफल पनि हुनुभयो ।

‘बुवा पनि भारतीय सेना हुनुहुन्थ्यो । उहाँको प्रभावले पनि भारतीय सेनामा भर्ती हुन गएँ । सफल पनि भएँ,’ उहाँले भन्नुभयो । सीतारामका दाइ बलराम खड्का पनि भारतीय सेनामा हुनुहुन्छ । भाइ अर्जुन खड्का कतारमा हुनुहुन्छ ।

श्रम–पसिना गाउँको माटोमा पोख्दै

सीतारामले आफ्नो जोश–जाँगर १८ वर्षसम्म भारतीय सेनामा खर्चनुभयो । अहिले उहाँ भारतीय सेनाबाट अवकाशप्राप्त भइसक्नुभएको छ । उहाँले अवकाश लिएको ३ महिना भएको छ ।

जागिरबाट अवकाश लिए पनि उहाँले आफ्नो समयलाई त्यसै खेर फाल्नुएको छैन । आफ्नो जोश–जाँगर, श्रम–पसिना उहाँले अहिले आफ्नै गाउँको माटोमा पोख्दै हुनुहुन्छ । कृषि कर्म गरी देशको सेवामा लाग्नुभएको छ ।

खड्काले अहिले घरगाउँमै व्यवसायिक बाख्रापालन सुरु गर्नुभएको छ । ‘खड्का बाख्रा कृषि फर्म’ दर्ता गरी उहाँले व्यवसायिक रुपमा ‘बोयर’ जातको बाख्रापालन सुरु गर्नुभएको छ । 

घरआडैमा व्यवस्थित बाख्राको खोर बनाएर उहाँले बाख्रा पाल्नुभएको छ । खोरमा अहिले १६ वटा बोयर जातका बाख्रा छन् । स्थानीय जातका बाख्रा ४ वटा छन् ।

बोयर पाठापाठी उत्पादन गर्ने लक्ष्य

उहाँको खोरमा ५०–प्रतिशत–बोयर–बाख्रा ४ वटा, ७५–प्रतिशत–बोयर–बाख्रा १२ वटा छन् । उहाँले ५०–प्रतिशत–बोयर–बाख्रा प्रतिकेजी १ हजार रुपैयाँ र ७५–प्रतिशत–बोयर–बाख्रा प्रतिकेजी १८ सय रुपैयाँमा खरिद गरेर ल्याउनुभएको छ ।

यस्तै, उहाँको फर्ममा एउटा ७५–प्रतिशत–बोयर–बोका पनि छ । ‘७५–प्रतिशत–बोयर–बोका ८४ हजारमा किनेर ल्याएको हुँ,’ उहाँले भन्नुभयो, ‘मासुका साथै बोयर पाठापाठी उत्पादन गर्ने लक्ष्यका साथ बोयर बाख्रापालनमा लागेको हुँ ।’

१० लाखभन्दा बढी खर्च

बाख्रा फर्मलाई वरिपरि तारजालीले घेरिएको छ । बाख्राको खोर निर्माणका साथै बाख्रा खरिद गरी सुरुवातीे चरणमै झण्डै १० लाखभन्दा बढी रुपैयाँ खर्च भइसकेको खड्काले बताउनुभयो ।

‘खाली समयको सदुपयोगका साथै कृषि कर्मबाट देशमै कमाउन सकिन्छ भन्ने सोचका साथ म बाख्रापालनमा लागेको हुँ,’ उहाँले भन्नुभयो, ‘लामो समय भारतीय सेनामा सेवा गरेँ । अब आफ्नै माटो कृषि कर्म गरी देशको सेवा गर्दैछु ।’

सेनामा रहँदै जागिरबाट अवकाश लिएपछि गाउँघरमै बसेर कृषि कर्म गर्ने सोच उहाँमा थियो । त्यही सोचअनुसार अवकाशपछिको समयलाई अहिले उहाँ जोस–जाँगरका साथ कृषि कर्ममा खर्चनुभएको छ ।

बजारमा बोयर जातको मासुका साथै पाठापाठीको माग उच्च रहेकाले पनि आफूले बोयर जातको बाख्रापालन सुरु गरेको खड्का बताउनुहुन्छ । अचेल बाख्राको रेखदेख र स्याहारसुसार गर्नमै उहाँको साँझ–बिहान बित्ने गर्छ । बाख्रापालन व्यवसायलाई अघि बढाउन श्रीमती शान्ता खड्काको पनि प्रयाप्त साथ सहयोग मिलेको छ उहाँलाई ।

किसानमा आकर्षण

बाख्रा छिट्टै बढ्ने, उत्पादन बढी हुने, जुम्ल्याहा बच्चा जन्माउने र  बोयर जातको बाख्रासँग प्रजनन गरी स्थानीय जातको बाख्राको नश्ल सुधारमा पनि टेवा पुग्ने भएकाले स्थानीय किसान बोयर जातको बाख्रापालनप्रति आकर्षित भएका छन् । मागअनुसारको बोयर बाख्रा देशमा उत्पादन हुन नसक्नु र बाहिरबाट शुद्ध बोयर ल्याउँदा यो जातको बाख्रापालन केही खर्चिलो हुन पुगेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका प्रमुख डा. रुपेश श्रेष्ठले बताउनुभयो । 

खर्चिलो तर आम्दानी राम्रो

‘बोयर जातको बाख्रापालन केही खर्चिलो भए पनि यसको मासु र पाठापाठीको माग उच्च रहेकाले आम्दानी राम्रो हुन्छ,’ डा. श्रेष्ठले भन्नुभयो । डा. श्रेष्ठका अनुसार हिमाली क्षेत्र र उच्च पहाडी क्षेत्रमा बाहेक अन्य ठाउँमा पनि बोयर जातको बाख्रापालन गर्न सकिन्छ । यसबाट मनग्य आम्दानी गर्न सकिन्छ । 


डा. श्रेष्ठले पहाडी जिल्ला लमजुङमा पनि बोयर जातको बाख्रापालनको सम्भावना उच्च रहेको बताउनुभयो । पशु सेवा विज्ञ केन्दका अनुसार जिल्लाकै मालिङका उमेश गुरुङले डि. के. बाख्रा फर्म र उस्ताबेँसीका डम्बर गुरुङले साइँला दाइको बाख्रा फार्म सञ्चालन गरी विभिन्न प्रतिशतका बोयर बाख्रा व्यवसायिक रुपमा पालन गर्दै आउनुभएको छ । 

आम्दानी राम्रो हुने आशा

बोयर जातको बाख्रापालनमा तुलनात्मक रुपमा खर्च धेरै भए पनि आम्दानी पनि राम्रै हुनेमा खड्का आशावादी हुनुहुन्छ । ‘खर्च पनि छ । तर उत्पादनबाट राम्रै आम्दानी हुनेमा विश्वस्त छौँ,’ उहाँले भन्नुभयो, ‘हाम्रो उत्पादन खपत हुने क्षेत्र सुन्दरबजार, भोटेओडार र बेसीशहर हुन् ।’

बाख्राका लागि आवश्यक दाना उनीहरु घरमै तयार गर्छन् । खड्का दम्पत्तिले ४ रोपनी धान फल्ने जग्गामा जै घाँस लगाएका छन् । घरपरिवारको साथमा रहेर कृषि कर्म गर्न पाउँदा शान्ता निकै खुशी हुनुहुन्छ । ‘दुःख गर्न सके गाउँघरमा पनि कमाउन सकिन्छ । घरपरिवारसँगै रहेर यसरी कृृषि कर्म गर्न पाउँदा हामी साह्रै खुशी छौँ,’ शान्ताले भन्नुभयो । खड्का दम्पत्तिका १ छोरा र १ छोरी छन् । उनीहरु पढ्दै छन् ।

बाख्रापालनलाई थप व्यवस्थित र विस्तार गर्दै अघि बढाउने आफूहरुको लक्ष्य रहेको ३७ वर्षीया शान्ताले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

1 Comments

  • kriparam bk

    Feb. 22, 2020, 7:48 a.m.

    New

  •  0 Reply

तपाईको प्रतिक्रिया