लमजुङको घोँक्रेश्वाँरामा सेवा–सुविधा थपिँदै, तर बस्ती पातलिँदै

 फागुन १०, २०७६ शनिबार ८:३७:२५ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ– यस जिल्लाका कतिपय ग्रामीण क्षेत्रका गाउँबस्ती रित्तिँदै जान थालेका छन् । अवसर र सेवा–सुविधाको खोजीमा सहर–बजारतिर बसाइँ सरेर जाने प्रवृत्ति बढेसँगै जिल्लाका कतिपय ग्रामीण क्षेत्रका गाउँबस्ती रित्तिँदै गएका हुन् । यसले अधिकांश उर्वरभूमि बाँझै पनि रहन थालेका छन् । त्यसैमध्येको एक गाउँ हो– घोँक्रेश्वाँरा । 

जिल्लाको सुन्दरनगरी भोटेओडार बजारभन्दा केही माथि रहेको घोँक्रेश्वाँरा गाउँ धार्मिक र प्राकृतिक सौन्दर्यले भरिपूर्ण र रमणीय छ । सुन्दरबजार नगरपालिका वडा नम्बर–८ मा पर्ने यो गाउँमा कच्ची भए पनि मोटरबाटो पुगेको छ । खानेपानी र बिजुली पनि पुगेको छ । शिक्षा र स्वास्थ्यसम्बन्धी सुविधा पनि छ । यसरी गाउँमा आवश्यक सेवा–सुविधा बिस्तारै थपिँदै गएका छन् भने अर्कोतिर गाउँ पातलिँदै गएको छ । अवसर र सेवा–सुविधाको खोजीमा स्थानीयबासी अन्यत्र बसाइँ सरेर जान थालेपछि गाउँ रित्तिदै गएको छ ।

उर्वरभूमि बाँझै

विशेषगरी कार्कीहरुको बाहुल्यता रहेको यस गाउँमा विगतमा ९२ घरधुरी थिए । बस्ती बाक्लो थियो । मानिसहरु खेतीपाती गर्थे । पशुपालन गर्थे । तर अहिले गाउँमा जम्मा १९ घरधुरी मात्रै छन् । बस्ती पातलिदै गएर पाती फुलेर उर्वरभूमि खेर गएको छ ।

‘पहिले गाउँमा बस्ती निकै बाक्लो थियो । सबै खेतीपाती र पशुपालन गर्थे,’ ९९ वर्षका स्थानीय हरिबहादुर कार्कीले भन्नुभयो, ‘सेवा–सुविधा र अवसरको खोजीमा मानिसहरु बेसी झर्न थाले । गाउँ पातलिदै गएको छ । उकाली–ओराली छाडेर मानिसहरु सुख–सुविधा खोज्नतिर लागे ।’

उहाँका अनुसार विगतमा हरेक घरमा ६÷७ वटा सुन्तलाका बोट हुन्थे । ‘फागुनको अन्तिमसम्म बोटमा पाकेको सुन्तला खान पाइन्थ्यो । अहिले त गाउँमा सुन्तला पनि मासिदै गयो,’ उहाँले थप्नुभयो ।

सेवा–सुविधाको खोजीमा गाउँ छाड्दै

विगतमा गाउँमा खानेपानी, बाटोघाटो, शिक्षा र स्वास्थ्यको खासै सुविधा नभएकाले स्थानीयहरु बसाइँ सरेर अकला, डुड्कुला, भोटेओडार र सिउँडीबारका साथै काठमाण्डौ, चितवन र पोखरालगातयका सहरमा बसाइँ सरेर गएको स्थानीय युवा दीपेन्द्र कार्कीले बताउनुभयो ।

‘पहिले त खासै सेवा–सुविधा थिएन । अहिले गाउँमा बिस्तारै विकास भित्रिदै गएको छ । आवश्यक सेवा–सुविधा पनि थपिँदै गएको छ । तर पनि बसाइँ सराइ रोकिन सकेको छैन । बस्ती पातलिदै गएको छ,’ उहाँले भन्नुभयो ।

घोँक्रेश्वाँराको उपल्लो भेगमा त सबै घर प्रायः खाली छन् । उर्वरभूमि बाँझै छन् । गाउँको तल्लो भेगमा रहेका घरधुरीले अहिले पनि खेतीपाती गर्छन् । पशुपालन गरेका छन् ।

तरकारीमा आत्म–निर्भर

‘गाउँको माथिल्लो भेग त रित्तिसकेको छ । तल्लो भेगमा रहेका सबै स्थानीयले तरकारी खेतीका साथै पशुपालन गरिरहेका छन्,’ दिपेन्द्रले भन्नुभयो, ‘यहाँका स्थानीयले प्रायः तरकारी किनेर खाँदैनन् । गाउँ तरकारीमा आत्म–निर्भर छ ।’

भोटेओडारबाट पैदल हिँडेर आधा घण्टामा यो गाउँ पुग्न सकिन्छ । धार्मिक, ऐतिहासिक एवम् प्राकृतिक महत्त्वको तार्कुकोटसँगै जोडिएको घोँक्रेश्वाँरामा बाटोघाटोको स्तरोन्नति र प्रभावकारी ढंगले विकास निर्माणका कामलाई तिव्रता दिन सकियो भने यस गाउँबाट हुने बसाइँसराइँ कम गर्न सकिने सरोकारवालाहरुको भनाइ छ । 

अन्तिम अपडेट: फागुन १३, २०७६

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया