नेकपा अध्यक्ष दाहालद्वारा ‘मिथिला माध्यमिकी परिक्रमा’ काे शुभारम्भ

प्रदेश २ मा सरकार फेरिने दाहालको संकेत

 फागुन ११, २०७६ आइतबार १३:३६:४२ | सुभाष कर्ण
unn.prixa.net

धनुषा - मिथिलाञ्चल क्षेत्रको महाकुम्भको रुपमा रहेको १५ दिने मिथिला मध्यमा परिक्रमाको डोला उठाएर नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले शुभारम्भ गर्नुभएको छ ।

नेपाल भारतकै सांस्कृतिक सम्बन्ध कायम राख्दै आएको माध्यमिकी परिक्रमामा धनुषाको मिथिलाबिहारी नगरपालिकाको मन्दिरबाट श्रीरामको डोला र जनकपुरको रत्नसागर मन्दिरबाट सीताको डोलाको प्रमुख सहभागिता रहने गरेको छ ।

दुवै मन्दिरबाट उठाइएको डोला जनकपुरको हनुमान नगरमा रहेकाे हनुमान गढीबाट परिक्रमाका लागि सँगै उठेपछि प्रस्थानकाे औपचारिक शुभारम्भ हुने परम्परा रहँदै आएको छ ।

डोला उठाउने अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रदेश नम्बर २ मा सरकार परिवर्तन हुने संकेत गर्नुभएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले प्रदेश नम्बर २ को सरकार परिवर्तन हुने तर्फ संकेत गर्दै यसका लागि राजपा नेपालसँग आन्तरिक कार्यहरु भइरहेको बताउनुभयाे । उहाँले राजपा नेपालसँगको आन्तरिक गृहकार्य सम्पन्न भएलगत्तै प्रदेश सरकार फेरिने जानकारी दिनुभयो ।

मिथिला मध्यमा परिक्रमाले नेपाल–भारतको धार्मिक तथा सांस्कृतिक आदान प्रदानमा ठूलो योगदान पुर्याइरहेको बताउनु भयो । आफू पहिलो पटक प्रधानमन्त्री रहेको बेला परिक्रमा मार्गको लागि सहयोग गर्ने अवसर पाएको स्मरण गर्दै उहाँले मिथिलाबिहारी परिषद् गठन गर्न पनि आफ्नो सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

फागुन शुक्ल औंसी तिथिको दिन कचुरीबाट मिथिलाबिहारीको डोला लिएर सुरु हुने परिक्रमा साँझसम्म जनकपुरधाममा रहेकाे रत्नसागर मन्दिर पुग्दै हनुमाननगरमा विश्राम गरेर भाेलिपल्ट बिहानै भारतको कलनामा रहेकाे कल्याणेश्वर मन्दिरतर्फ लागि प्रस्थान गर्नेछन् ।

नेपालका धार्मिक तथा ऐतिहासिक ठाउँहरुको ९० किलोमिटर र भारतको ३० किलोमिटर गरी जम्मा १ सय २० किलोमिटर भू-भागको यात्रालाई मिथिला माध्यमिकी परिक्रमा भन्ने गरिन्छ ।

अन्तिम अपडेट: चैत २, २०८०

सुभाष कर्ण

कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया