वैदेशिक रोजगारीको पीडा : पैसा नि फस्यो, मान्छे नि जेलमा !

 फागुन १५, २०७६ बिहिबार १३:८:२५ | बेदानन्द जाेशी

काठमाण्डौ – संखुवासभाकी अम्बिका सुन्दास डेढ वर्षदेखि वैदेशिक रोजगार न्यायाधीकरण धाइरहनुभएको छ । वैदेशिक रोजगारीमा मकाउ जाने क्रममा एजेण्टबाट  ठगिएका श्रीमान्, मिनबहादुर सुन्दास उल्टै जेल परेपछि हिजोआज अम्बिकाको दैनिकी श्रीमानको न्यायको लागि दौडधुपमै बित्छ ।

धन कमाएर परिवारलाई खुसी दिने सपना बोकेर मिनबहादुर २०७३ सालमा कतार जानुभएको थियो । कतारमा काम गरिरहँदा मकाउ जाने सोच बनाउनुभयो । कतारमा सँगै काम गरेका एकजना मोहन भन्ने भारतीय साथीले मिनबहादुरलाई मकाउ जानको लागि फकाए । मोहन र मिनबहादुरले केही समय कतारमा सँगै काम गरेका थिए । तर पछि मोहन कतार छाडेर मकाउ गएका थिए । मोहनले मिनबहादुरलाई होटलको काम, कतारको भन्दा धेरै कमाइ र सजिलै जान सकिने भन्ने विश्वास दिलाए । त्यसपछि कतार गएको १८ महिनापछि मिनबहादुर २०७५ को असारमा नेपाल फर्किनुभयो ।

मिनबहादुर कतारमा छँदै मोहनले कसरी र कहिले मकाउ जाने भनेर योजना बनाइसकेका थिए । उहाँ नेपाल आएर सिधै मकाउ जाने भनेर तयारीमा जुट्नुभयो । त्यहीबेला उहाँका आफन्तहरुले ‘काम राम्रो पाए त आफूहरु नि जाने’ भन्ने कुरा गरे । गाउँले दाजुभाइ पनि जाने भएपछि त मिनबहादुर झन सजिलो हुनेभयो भनेर खुशी हुनुभयो । त्यसपछि नजिकका दाइ, भिनाजु, काका नाता पर्ने चारजना र मिनबहादुर मकाउ जानको लागि तयार भए ।

कम्बोडिया हुँदै मकाउ जाने योजना

मिनबहादुरले साथीको विश्वासको भरमा मोहनले जे जे भने त्यही त्यही मान्नुभयो । सुरुमा कम्बोडिया जाने र त्यहाँ पुगेपछि मकाउको भिसा आउँछ भनेको थियो ।पाँचै जनालाई कम्बोडियासम्म पुर्याउने जिम्मा दिपक मल्ल नाम गरेका एजेण्टको थियोे । दिपक मल्ल को हुन्, के काम गर्थे भन्ने अम्बिकालाई केही थाहा छैन । तर मोहनले नै कम्बोडियासम्म आउनको लागि काठमाण्डौमा दिपक मल्ललाई  पैसा बुझाउनु भनेका थिए । 

सबैले कम्बोडियासम्म जान लाग्ने टिकट खर्चको लागि दिपकलाई बैंकमार्फत पैसा पठाइदिए । मकाउ जानको लागि बाँकी पैसा कम्बोडिया पुगेपछि बुझाउनुपर्ने भनेको थियो । त्यसपछि सबैले मकाउसम्म पुग्न लाग्ने रुपैयाँ डलरमा साटे र २०७५ सालको साउन अन्तिमतिर पाँचैजना नेपालबाट सिधै कम्बोडिया गए ।

कम्बोडियामा अलपत्र

कम्बोडिया पुगेपछि भिसा आउँछ भनेको थियो । सबैलाई कतिबेला कम्बोडिया पुगिएला र कतिबेला हातमा भिसा आउला भन्ने उत्सुकता थियो । आफूहरु कम्बोडिया पुगिसकेको भन्ने खबर गरेपछि मोहनले आधा घण्टामा भिसा आउने र मकाउ जानको लागि तयार भएर बस भन्दै पैसा पठाउन लगाए । त्यसपछि भिसाको प्रतिक्षामा रहेका पाँचैजनाले मोहनको खातामा प्रतिव्यक्ति पाँच पाँच लाख रुपैयाँ हालिदिए । 

तर आफ्नो खातामा पैसा आएको घण्टी बज्नेबित्तिकै मोहनले आफ्नो मोबाइल नै बन्द गरिदिए । आधा घण्टामा आउँछ भनेको भिसा त आएन आएन फोन सम्पर्क पनि नहुने भयो । नेपालमा दिपक मल्ललाई फोन गर्दा पनि सम्पर्क भएन ।त्यसपछि बल्ल सबैले आफूहरु ठगिएको भन्ने थाहा पाए ।

जति प्रयास गरे पनि मोहनसँग सम्पर्क हुन नसकेपछि कम्बोडियाबाट नेपाल फर्किनुको विकल्प रहेन । पाँचै जना एक हप्ताको ‘रिटर्न टिकट’सहित भिजिट भिसामा कम्बोडिया पुगेका थिए । पछि त्यही टिकटमा नेपाल फर्किए ।

आफ्नैले हाल्यो मुद्दा

गन्तव्य देश पुग्नै नपाइबीच बाटोमै ठगिएर पाँचैजना नेपाल फर्किए । तर फसेको पैसा कसरी फिर्ता पाउने कुनै उपाय थिएन । प्रहरीकोमा उजुरी गरेर जसरी पनि फसेको पैसा फिर्ता ल्याउनुपर्छ भन्ने योजना बनाएका थिए । तर नेपाल फर्किएपछि भने अवस्था अर्कै भयो ।

साथमै गएका काका र भदा नाता पर्ने दुई जनाले उल्टै मिनबहादुरविरुद्ध प्रहरीकोमा उजुरी दिए । मकाउ पठाउने भनेर आफूहरुबाट १० लाख रुपैयाँ लगेर एजेण्टको मिलोमतोमा ठगी गरेको भन्ने आरोप लगाए । त्यही उजुरीको आधारमा प्रहरीले अघिल्लो वर्षको असोज २० गते मिनबहादुरलाई पक्राउ गरेर जेल हाल्यो ।

अलमलमा कानुनी प्रक्रिया

मिनबहादुर जेल परिसकेपछि अम्बिकाका समस्या चुलिए । घरमा साना छोराछोरी छाडेर उहाँ काठमाण्डौ आउनुभयो र श्रीमान्लाई न्याय दिलाउन कहिले वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार न्यायाधीकरण त कहिले प्रहरीकोमा धाउन थाल्नुभयो ।

वैदेशिक रोजगार न्यायाधीकरणले दुईटै पक्षलाई राखेर मिलापत्र गर्नको लागि भने पनि उजुरीकर्ताले मिलापत्र गर्न मानेन् । अहिले उजुरीकर्ता दुवै जना वैदेशिक रोजगारीमा गएका छन् । तर कुन देश गएको भन्ने अम्बिकालाई थाहा छैन । यता मोहन र दिपकसँग पनि सम्पर्क छैन । 

विदेशका बैंकहरुबाट गरेको पैसाको कारोबारका कागजात प्रमाण नमानिने भनेपछि मोहनविरुद्ध उजुरी गर्ने कुनै आधार नै बाँकी रहेन । 

दिपक मल्लको विरुद्ध उजुरी गर्नुभयो । न्यायाधीकरणबाट पक्राउ पुर्जी काटिसकेको भए पनि अहिलेसम्म नपक्रेको र यसबारे बुझ्न जाँदा न्यायाधीकरणको मान्छेले आफ्नो कुरा नसुन्ने गरेको उहाँ बताउनुहुन्छ ।

‘न्यायाधीकरण गयो भने यो तपाईंको विषय होइन, कानुनी कुरा हो भनेर भन्छ’, यस्ता प्रतिक्रियाले उहाँको मन बिझाउँछ, भन्नुहुन्छ, ‘मेरो श्रीमानको मुद्दा चलिरहेको छ मेरो कुरा नभएर कसको हुन्छ त ?’

यही कारणले गर्दा अहिले उहाँका श्रीमान कारागारमै हुनुहुन्छ । अदालतले के फैसला गर्छ त्यसैको प्रतिक्षामा हुनुहुन्छ अम्बिका । भन्नुहुन्छ, ‘हाम्रो पक्षमा लडेको भए जित हाम्रै हुन्छ, हैन रहेछ भने कानुनले जे सजाय तोक्छ त्यही भोग्नुपर्ने त होला नि ।’
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया