घरकाे काममा रमाउने वडा सदस्य

 फागुन २५, २०७६ आइतबार १७:४१:४७ | इन्द्रसरा खड्का

 

दैलेख – घाँस काट्ने, भाँडा धुने, घर बढार्ने, लिपपोत गर्ने काम गर्ने पुरुष कमै हुन्छन् । पढेलेखेका, जागिर खाने पुरुषहरुले त अझ घरभित्रको काम छुन खोज्दैनन् । कतिलाई लाग्छ, पुरुषले पैसा कमाउने हो घरको काम गर्ने हैन । 

तर कोही पुरुष यस्ता पनि छन्, जसले महिलाले मात्रै गर्ने भनिएको काम मज्जाले गर्छन् । यस्तै मध्येमा पर्नुहुन्छ, दैलेखको आठबिस नगरपालिका वडा नम्बर ६ का वडा सदस्य जोरासिंह थापा ।

उहाँले पहिले भारतमा चौकीदारको काम गर्नुहुन्थ्यो । अहिले जनप्रतिनिधि हुनुहुन्छ । ५० वर्षीय जोरासिंह श्रीमतीलाई घरभित्रको सबै काममा सघाउनुहुन्छ । 

काम गरेर सानो भइँदैन

जोरा सिंह थापाकी श्रीमती बालिसरा थापा खेतीपातीको काम गर्नुहुन्छ । बिहान उठ्ने, खाना पकाउने, खेतबारीको काम गर्ने, खाना खाने, फेरि खेतबारी या गोठालो गरी मेलापात गर्ने, साँझ खाना पकाउने र घरधन्दा गर्ने काम गर्दै बालिसराका दिनहरु बित्छन् । 

चार छोराछोरीका आमाबुवा जोरा र बालिसराका छोरीहरुले बिहे गरिसके । छोरा एक जना कक्षा १२ र अर्को ११ मा पढिरहेका छन् । जनप्रतिनिधि हुनुअघि जोरा भारतमा मजदुरी गर्नुहुन्थ्यो । 

जनप्रतिनिधि भइसकेपछि उहाँको भारतमा गएर मजदुरी गर्ने बाटो रोकियो । तर घरायसी काम भने उसैगरी गरिरहनुहुन्छ । अझै घरभित्रको काम थपिएको छ ।
बिहान ९ बजे नै वडा कार्यालय पुग्नुपर्छ ।

बालिसरा बारीको काममा जाँदा घरभित्रको खाना पकाउने, भाँडा धुने, सरसफाइ गर्ने सबै काम जोरासिंहले नै गर्नुपर्छ । महिलाले गर्ने काम पुरुषले गरेमा सानो भइँदैन भन्ने उदाहरण बन्नुभएको छ, जोरासिंह थापा ।

‘घरको काम गर्दा जोइटिङ्ग्रे भन्छन्’

गाउँघरमा प्रायः पुरुषहरु चिया गफमा भुल्छन् । उनीहरुलाई देशमा के भइरहेको छ, गाउँमा के हुँदैछ, फलानोले कसरी काम गर्छ भन्ने कुरा गर्नै ठिक्क हुन्छ । अझ कतिपय पुरुषहरु त दिनभर तास खेल्ने, बरालिएर हिँड्ने, रात पर्दा जाँडरक्सी खाने गरेको पनि भेटिन्छ ।

जोराकै गाउँमा पनि यस्ता पुरुष छन् । जोराले घरको काम गरिरहेको देख्दा उनीहरुले ‘जोइटिङ्ग्रे’ भएको भन्छन् । अझै कसैकसैले त ‘जनप्रतिनिधिले नै ढिकी जाँतो गर्ने, यो त भएन नि’ भनेर जिस्क्याउँछन् पनि । तर जोरालाई यस्ता कुराले फरक पर्दैन ।

उहाँ साथीभाइहरुसँग भेट्ने, बस्ने समय पनि मिलाउनुहुन्छ । तर, आफूले गर्नुपर्ने काम भने कहिल्यै छोड्नुहुन्न । 

‘काम गर्न सानैदेखि सिकेँ’

जोरा तीन वर्षको हुँदा आमाको निधन भयो । बुवा बिरामी हुनुहुन्थ्यो । तीन दाजुभाइमा उहाँ कान्छो । विद्यालय जाने उमेरमा उहाँले घरको काम गर्न थाल्नुभयो । 

ठूला दाइहरुहरुले बारीको काम गर्दा उहाँले घरको काम सिक्नुभयो । तीन वर्षको हुँदादेखि नै काममा गएका दाइहरुलाई खाना पकाउने, बिरामी बुवालाई पानी तताएर खुवाउने, घरको हेरचाह गर्ने जिम्मा आइलाग्यो । 

जोरासँगैका साथीहरु विद्यालय जान्थे । आमा बुवाको हात समाउँदै रमाउँथे । आमाको काखमा लुटुपुटु गर्थे । तर जोराले त्यो बेला नै घरभित्रको र बाहिरको काम कसरी गर्ने भन्ने पाठ सिके । साथीहरु विद्यालय हुँदा उहाँ भान्सा र बारीमा व्यस्त हुनुभयो । 

बालिसरासँग भेट

रोलका जोरा र राकमकी बालिसराको दिनहुँ भेट भइरहन्थ्यो । गाउँ फरक । मेलापात, गोठालो गर्ने जङ्गल एउटै । मेलापात गोठालो जाँदा दिनहुँ भेट हुन्थ्यो । जङ्गलमा भेट नभएको दिन जोरा राकम बजारमै पुग्नु हुन्थ्यो ।

कहिले नुन तेल किन्ने निहुँमा त कहिले केही सामान किन्ने निहुँ पारेर राकम बजारमै पुगेर बालिसरालाई भेट्नुहुनथ्यो । दिनहुँको भेटघाटले बालिसरा र जोराले एकअर्कालाई मन पराउन थाले ।

उनीहरुले अन्ततः बिहे गर्ने निर्णय गरे । २०५१ साल  वैशाख १३ गते जोरा र बालिसराले भागेर बिहे गर्नुभयो । श्रीमानले घरमा सहयोग गर्दा बालिसरालाई खासै नौलो भने लाग्दैन ।

किनकि बालिसराले माइतीघरमा बुवा दाजुभाइले पनि यो काम गरिरहेको देख्नुभएको थियो ।  बालिसरा जोराको घर आएको दिनमै जोरा एक्लै हुनुहुन्थ्यो । दाइहरु अलग भइसकेका थिए ।  

जोरा र बालिसराले त्यही दिनदेखि यो तैंले यो मैले गर्ने भनेर काममा कहिल्यै भागबण्डा लगाएनन् । सबै काम मिलेर गर्न थाले । त्यसपछि अहिलेसम्म बालिसरा र जोरा दुवैले कामको बाँडफाँड नगरि समान काम गर्ने गरेका छन् ।

घरभित्रको काम होस् वा घर बाहिरको श्रीमान् र श्रीमती मिलेर गर्नुहुन्छ । 

अन्तिम अपडेट: जेठ २०, २०७७

इन्द्रसरा खड्का

इन्द्रसरा खड्का महिला अधिकार र सामाजिक विषयमा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया