नेपाली महिला यसरी प्रतिबन्धित देश पुग्छन्

 फागुन २८, २०७६ बुधबार १२:४१:१५ | इन्द्रसरा खड्का
unn.prixa.net

घटना १  १५ वर्षको कलिलो उमेरमै बिहे गरेकी सर्लाहीकी अनु तामाङ श्रीमान्सँग झगडा परेपछि छोरी लिएर काठमाण्डौ आइन् । 

सानैदेखि नाच्नमा सिपालु अनु काठमाण्डौको एक डान्स बारमा नाच्न थालिन् । तर, डान्स बारको कमाइले उनलाई घर खर्च धान्नै मुस्किल भयो । यसैले, उनले विदेश जाने सुर कसिन् ।  

विदेश त जाने, तर कुन देश जाने ! युरोप, अमेरिका वा अस्ट्रेलिया जाने ल्याकत थिएन, खाडी मुलुक जाऊँ भने सरकारी प्रतिबन्ध ! तर, उनले काठमाण्डौको कुचुक्क परेको डेरा–कोठामा हुर्किरहेकी छोरीको अनुहार हेरिन् । र, जोखिम मोलेरै भए पनि गैरकानुनी बाटोबाट घरेलु कामदारका रूमा कुवेत जाने निर्णय गरिन् । 
डान्स बारकै एक साथीले उनलाई कुवेतमा रहेकी एक ‘दिदी’ को सम्पर्कमा पु¥याइन् । रीता नाम गरेकी ती महिलासँग उनले सामाजिक सञ्जाल इमोमार्फत कुरा गरिन् । रीताले उनको सम्पर्क दिल्ली बस्ने रमेश खत्रीसँग गराइन् ।

रमेशसँग उनले फेसबुक मेसेन्जरमार्फत कुरा गरिन् । रमेशले अनुको सम्पर्क नेपालगन्ज बस्ने दीपकसँग गराइदिए । दीपकले सबै ‘चाँजोपाँजो मिलाइसकेँ’ भन्दै २०७५ साल चैतमा अनुलाई काठमाण्डौबाट नेपालगन्ज बोलाए ।

दीपकसँग अर्की महिला पनि थिइन् । उनीहरू एक रात होटलमा बसेर भोलिपल्ट बिहानै नेपाल–भारत नाका रुपैडियातर्फ लागे । ती महिला दीपककै मोटरसाइलमा बसेर भारत छिरिन् । उनले भने रिक्सा चढेर नेपाल–भारत नाका पार गरिन् । 

दीपकले अनुलाई सिकाएका थिए– नाकामा प्रहरीले सोधखोज गर्छ, सामान किन्न भारतीय बजार जान लागेको भन्नू ! अनुले त्यसै भनिन् । प्रहरीले सजिलै पत्यायो ।  अनु भन्छिन्, ‘भारत छिर्न कुनै समस्या नहुँदो रहेछ ! म त सजिलै छिरेँ !’

अनु र ती अर्की महिलालाई रुपैडिया पार गर्नेबित्तिकै सोझै दिल्ली पुर्‍याएर होटलमा राखियो । अनुलाई दीपकसँग सम्पर्क गराइदिने रमेश खत्री त्यही होटल आए । 

अर्को दिन उनीहरूलाई श्रीलंका हुँदै कुवेत जाने भनी विमानस्थल पुर्या‍इयो, जहाँ १० भन्दा बढी अन्य नेपाली महिला पनि थिए । उनीहरू सबै घरेलु कामदारका रूपमा काम गर्न कुवेत जान लागेका थिए । 

अनुलाई थाहा छैन– श्रीलंकाबाट कुन–कुन ठाउँ हुँदै उनी र अन्य नेपाली महिलालाई कुवेत पु¥याइयो ! उनी यति मात्रै सम्झिन्छिन्– कुवेत पुग्दा चार वटा हवाईजहाज फेर्नुपरेको थियो । 

कतिपय विमानस्थलको अध्यागमन छिचोल्न सजिलो थिएन । अध्यागमन अधिकारीहरू केरकार गर्थे, अनु भने उनीहरूको भाषा नै बुझ्दिन थिइन् । धेरै ठाउँमा हन्डर खाँदै अनु १२ औं दिनमा कुवेत पुगिन् ।

त्यसबेला उनको समूहमा ३० जना नेपाली चेलीहरू भइसकेका थिए । उनीहरूलाई एक–अर्कासँग चिनापर्ची र बातचित गर्न भने दिइएन । कुवेत पुगेको पहिलो दिन उनीहरू सबैलाई एउटा अफिसमा लगियो ।

सबैलाई पालैपालो छुट्टाछुट्टै ठाउँमा काम गर्न लगियो । अनुलाई लिन पनि एक कुवेती महिला आइन् । ठूलो स्वर भएकी ती महिलाको पछि लागेर अनु उनैको घरमा काम गर्न गइन् । 

उमेरले ६० नाघेकी जस्ती देखिने ती महिलाका छोराछोरी भने १५ जना थिए । तीमध्ये प्रायः सबै हुर्किसकेका र विभिन्न पेसा–व्यवसायमा लागेका थिए । ३ जना भने सानै थिए । 

सुरुमा त सबैले उनीसँग राम्रै व्यवहार गरे । तर, बिस्तारै ती कुवेती महिलाले सानो कुरामा पनि रिसाउने र पिट्ने गर्न थालिन् । बिहानै उठेर शौचालय सफा गर्नुपथ्र्यो । २४ घण्टामा ६ घण्टा मात्रै सुत्न पाइन्थ्यो । उनलाई बाहिर घुम्ने र आफन्तसँग कुराकानी गर्ने स्वतन्त्रता थिएन । 

उनी भन्छिन्, ‘घर ठूलो थियो, छतले । शिरदेखि पुछार सबै सफा गर्नुपथ्र्यो । खाना पकाउने र जुठा भाँडा धुनु त छँदै थियो, साहुनीको पेन्टी पनि धुनुपथ्र्यो ।’
उनलाई साना बच्चाको हेरचाह गर्ने भनी कुवेत लगिएको थियो । तर, जसले पनि उनलाई जुनसुकै बेला पनि काम अह्राउँथे ।

उनी भन्छिन्, ‘आमाले एउटा काम लगाउँथिन्, छोरा आएर अर्को काम लाउँथे । छोरी आएर फेरि अर्कै काम लाउँथिन् । सबै काम एकैचोटि गर्न सक्दिनँ थिएँ । नसक्दा ममाथि लातमुक्का बर्सिन्थ्यो ।’

शारीरिक हिंसा त सहेकै थिइन्, अनुले यौनजन्य हिंसा पनि सहनुपर्‍यो । काम गरिरहेका बेला ती कुवेती महिलाका वयस्क छोराहरू आएर च्याप्पै हात समाउँथे, शरीरका अंगहरू छुन्थे । उनले आफूले खेपेको हिंसाबारे रीता ‘दिदी’ र रमेश खत्रीलाई भनिन् । तर, उनीहरू कसैले उनको कुरा सुनेनन् ।

एक दिन उनी भागेर रीता ‘दिदी’ कहाँ पुगिन् । तर, रीता ‘दिदी’ ले उनलाई फेरि त्यही कुवेती परिवारको जिम्मा लगाइन् । त्यसपछि उनीमाथि झन् बढी हिंसा र यातना दिन थालियो ।

यातना खेप्न नसकेर एक दिन उनी झुन्डिएर आत्महत्या गर्न लागेकी थिइन् । तर ती कुवेती महिलाकी एउटी छोरीले देखिन् र डोरी काट्दै पिटिन् । मर्न भने दिइनन् । उनले एक दिन चक्कुले आफ्नै हातसम्म काटिन् । हात देखाउँदै उनले भनिन्, ‘यी अझै खाटाहरू छन् ।’

यातनाबाट छुटकारा पाउने सारा कोशिस खेर गएपछि उनको दिमागमा एउटा आइडिया फुर्‍यो । उनले मोबाइलले आफ्नै भिडियो खिचिन्, जहाँ आफ्ना सारा दुःख पोख्दै उद्धारका लागि आग्रह गरिन् । त्यो भिडियो जसतसो फेसबुकमा अपलोड गरिन् । भिडियो भाइरल भयो । 

कुवेतमा कैदीजस्तो जीवन व्यतित गरिरहेकी आमाको करुणामय पुकार सुनेर नेपालमा रहेकी छोरीको मन पोल्यो । हाल १२ कक्षामा अध्ययनरत उनी आमालाई उद्धार गरिदिन आग्रह गर्दै परराष्ट्र मन्त्रालय र विभिन्न संस्थाहरूसम्म  पुगिन् । 

छोरीले लामो चक्कर काटेपछि बल्ल आमाको उद्धार भयो । तर, मन्त्रालयका अधिकारीहरूले  दिएको दुःख सम्झेर उनी भन्छिन्, ‘मलाई त सरकारकै मान्छे मानव तस्करीमा संलग्न छन् कि जस्तो लाग्यो । नत्र, मेरो गुहार किन सबैले त्यति लामो समयसम्म नसुनेझैं गर्थे !’ 

अनुले आफूले विदेशमा पाएको दुःख छोरीलाई सुनाउँथिन् । छोरी आमाको उद्धारका लागि धेरैठाउँ पुग्दा पनि कतैबाट पहल नहुँदा अनुले आफ्नो भिडियो बनाएर सामाजिक सञ्जालमा राखिन् । रोइकराइ गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो ।

यो भिडियो केआई नेपालका निर्देशक इन्द्रराज भट्टराईलगायतले हेरे । महिलाको निम्ति महिला मञ्च नेपाल, विश्वास नेपाल, केआई नेपालका संघसँस्थाले छोरीलाई सम्पर्क गरे ।

छोरीलाई फेरि आमाको उद्धार गरिपाउँ भन्दै निवेदन लेख्न लगाएर परराष्ट्र मन्त्रालयमा पठाए । पछिल्लो दिन तीनवटै संघसस्थाका प्रतिनिधि भिडियो लिएर महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा गए ।

मन्त्रालयका सचिव रुद्रा शर्माले उतिखेरै वैदेशिक रोजगार विभाग, परराष्ट्रलगायतका कार्यालयमा फोन गरिन् । त्यसपछि कूटनीतिक पहलबाटै अनुलाई तीन महिनाभित्रै जेठमा नेपाल ल्याइयो ।  नेपाल आएकी अनुभने आफूलाई विदेश पठाउने दलालको नाममा जाहेरी दिएकी छैनन् । 

घटना २  भारतको बाटो हुँदै कुवेत पुगेकी डेनु चौधरीको व्यथा पनि उस्तै छ । झापा, धुलाबारी घर भएकी उनी भने कुवेतमा ३३ महिना बन्धक जीवन बिताई नेपाल फर्किसकेकी छन् । उनी २०७४ साल असोजमा कुवेत पुगेकी थिइन् । 

डेनुले छोराछोरी पढाउन बैंकमा जग्गा धितो राखी २ लाख रुपैयाँ ऋण लिएकी थिइन् । तर, ऋण तिर्ने आयस्रोत थिएन । न श्रीमान्को जागिर, न आफ्नो कमाई ! उनी ऋण तिर्न विदेश जाने सोचमा पुगिन् । 

डेनुले यो कुरा आफ्नै गाउँका रामदेव बस्नेतलाई सुनाएकी थिइन् । रामदेव उनलाई ‘मद्दत’ गर्न अघि सरे । उनले डेनुको भेट काँकडभिट्टाकी कमला तामाङसँग गराए । कमलाले डेनुलाई कुवेतमा धेरै नेपाली महिलाले मज्जाले काम गर्दै राम्रो आम्दानी गरिरहेको बताइन् । डेनु झन् हौसिइन् । 

कमलाले डेनुलाई भारतकोे सिलिगुडीबाट रेल चढाई दिल्ली पु¥याइन् । दिल्लीमा उनी २५ दिन बसिन् । त्यसपछि श्रीलंका हुँदै उनलाई अन्ततः कुवेत पु¥याइयो । 
डेनुले कुवेतमा ३३ महिना काम गर्दा नेपाली रुपैयाँ ५ लाख मात्रै पाइन् ।

उनले काम गर्ने घर ४ तलाको थियो । त्यहाँ खाना पकाउनेदेखि सरसफाइसम्मका काम गर्नुपथ्र्यो । 

काम त उनी जति पनि गर्न तयार थिइन्, तर सानो गल्ती गर्नेबित्तिकै नीलडाम बस्ने गरी कुटाइ खान्थिन् । पीडा सहन गाह्रो भएपछि उनले घरमा श्रीमान्लाई फोन गरिन्, आफन्तहरूलाई पनि फोन गरिन् । तर कसैले उनलाई मद्दत गर्न सकेनन् ।

त्यसपछि उनले साहूसँग जिद्दी गरिन्– कि मलाई तुरुन्तै नेपाल फर्काऊ, नत्र म तिम्रै घरमा आत्महत्या गरिदिन्छु ! आफ्नो घरमा काम गर्न बसेकी विदेशी महिलाले आत्महत्या गरे समस्यामा परिन्छ भनेर होला साहूले उनलाई नेपाल फर्किने टिकट दियो ।

२०७६ साल असोज २४ गते उनी नेपाल फर्किन् ।  उनी भन्छिन्, ‘अब त म जति दुःख परे पनि विदेश जान्नँ ।’

घटना ३  सल्यानकी उजेली (नाम परिवर्तन) को पीडा झन् दर्दनाक छ । उनी घरेलु कामदारका रूपमा ओमान पुगेकी थिइन् । अहिले उनीसँग १४ महिनाको छोरो छ । ओमानमै साहूका भाइद्वारा बलात्कृत भई उनी गर्भवती भएकी थिइन् ।  

उजेलीले ७ कक्षा पढ्दा–पढ्दै १७ वर्षकै उमेरमा बिहे गरेकी थिइन् । तर, बिहेपछि उजेलीको जीवनबाट सबै उज्यालो हरायो । श्रीमान् जाँडरक्सी खान्थे । झगडा गर्थे । बेलाबेला पिट्थे पनि । बिहेलगत्तै उनले बच्चा पाइन्, तै पनि श्रीमानकाे व्यवहार सुध्रेन । उनी भारत पसे ।

कहिलेकाहीँ मात्रै घर आउँथे । जसोतसो ९ वर्षसम्म त उनले झेलिन् । तर त्यसपछि भने उनले विदेश गएर केही पैसा कमाउने र आफ्नो खुट्टामा आफैँ उभिने निधो गरिन् । 

सासू–ससुराले पनि सहमति दिए । तर, कुन देश जाने ? कसरी जाने ? उनलाई कुनै मेसो थिएन । २०७४ साल साउनमा उनी घाँस काट्दै थिइन् । उनको मोबाइलमा घण्टी बज्यो । फोन उठाइन् । 

पुरुषको स्वर सुनियो, ‘बहिनी, तपाईं विदेश जाने हो ?’

उनको मुखबाट फ्याट्टै निस्कियो, ‘हो, दाइ’, फोन गर्नेले भन्यो, “काठमाण्डौमा मेरो साथी छ । म उसलाई भन्छु । तपाईं चिन्ता नलिई बस्नुहोस् ।’
त्यो मान्छे को थियो ? कसले उसलाई आफ्नो नम्बर दियो ? उनले सोध्नै बिर्सिइन् । घर फर्केर सासूलाई यो कुरा सुनाइन् । 

सासूले भनिन्, ‘हिजो एक जना गाई किन्न आएको थियो । मैले उसैसँग मेरी बुहारी पनि विदेश जाने कुरा गर्दै छिन् भनेकी थिएँ । उसैले तिमीलाई फोन गरेको हुनुपर्छ ।’

त्यो कुरा त्यहीँ सकियो । अर्को दिन अर्को नचिनेको नम्बरबाट फोन आयो । 

फोन गर्नेले सोध्यो, ‘बहिनी, म काठमाण्डौबाट बोल्दै छु । तपाईं विदेश जाने रे भन्ने सुनेँ । म नेपाली महिलालाई विदेश पठाउने काम गर्छु । तपाईं भन्नुहोस्, कुन देश जाने ?’ 

यसपटक भने उनले फोन गर्नेको परिचय सोध्न भ्याइन् । उनी रहेछन्, सल्यानकै डिल्ली महर । डिल्लीले उजेलीलाई पासपोर्ट बनाइराख्न भने । तर, पासपोर्ट बनाउनु सहज भएन । जिल्ला प्रशासनका कर्मचारीहरूले अनेक प्रश्न सोधे– ‘तपाईंलाई किन पासपोर्ट चाहियो ? कुन देश जाने ? किन जाने ?’

त्यसपछि डिल्ली आफैँ उजेलीलाई लिन सल्यान पुगे । उनले कोसँग के कुरा मिलाए कुन्नि, उजेलीको पासपोर्ट तयार भयो । २०७४ साल भदौ ५ गते उनी डिल्लीसँगै काठमाण्डौ आइन् । 

जिन्दगीमा कहिल्यै सल्यानको सीमा नकाटेकी उजेलीका लागि काठमाण्डौ नै विदेशजस्तो थियो । डिल्लीले उनलाई ५ दिन काठमाण्डौमै राखे । त्यसपछि उनले उजेलीलाई विदेश लैजाने भन्दै बसपार्क पु¥याए । 

उजेलीले सोधिन्, ‘विदेश त प्लेनबाट गइन्छ, होइन र ?’ 
डिल्लीले भने, ‘हो, बसमा दिल्ली जाने, त्यहाँबाट प्लेन चढ्ने !’

बसपार्कमा डिल्लीले हीरा नाम गरेकी महिलासँग उजेलीको भेट गराए । त्यहाँ अरू दुई जना महिला पनि थिए । हीराले नै उजेली र अन्य दुई जना महिलालाई कोहलपुर जाने बस चढाइन् । उनी पनि कोहलपुर गइन् । एक रात उनीहरू त्यहीँ बसे ।

उनीहरू भदौ १२ गते बिहानै कोहलपुरबाट नेपालगन्ज लागे । त्यहाँबाट रिक्सा चढेर रुपैडिया नाका हुँदै भारत पसे । दुई दिनपछि दिल्ली पुगे । उजेली ती दिन सम्झिन्छिन्, ‘दिल्लीको अँध्यारो गल्लीमा हामीलाई खै कहाँ पुर्या‍इयो, म त एकदमै डराएँ ।’

दिल्लीमा उनीहरूको समूहमा झापाका दुई जना महिला थपिए । हीराले उनीहरू पाँचै जनालाई समीर खान भन्ने व्यक्तिको जिम्मा लगाइन् । समीरले उनीहरूलाई श्रीलंका पुर्‍ याएर एउटा ठूलो गोदामजस्तो घरमा राखे ।

त्यहाँ पहिलेदेखि नै ५० जना जति नेपाली महिला रहेछन् । उनीहरूलाई एक–अर्कासँग कुरा गर्न भने दिइँदैन थियो । भदौ ५ गते सल्यान छाडेकी उजेली असोज १० गते मात्रै ओमान पुगिन् ।

एउटा ठूलो घरमा उनी घरेलु कामदारका रूपमा काम गर्थिन् । साहूको व्यवहार त राम्रै थियो । तर, उनका भाइले उनीमाथि गिद्धे नजर लाए । घरमा कोही नभएको मौका छोप्दै उनी लुसुक्क उजेलीछेउ पुग्थे । जबर्जस्ती गर्थे । 

अरूसँग आफ्नो कर्तुतको पोल खोले ज्यान मार्ने धम्की दिन्थे । डरले उजेली मौन बसिन्, आफूमाथिको यौनशोषण सहिन् ।  उनी गर्भवती भइन् । दिनदिनै उनको पेट बढ्दै गयो । अरूले थाहा पाउलान् भन्ने डरले उनले ठूलो म्याक्सी लगाउन थालिन् ।

९ महिनासम्मै पेट लुकाउँदै काम गरिन् । तर, बच्चा जन्मने बेला पेट कसरी लुकाउनु ? उनलाई बेथा लाग्न थाल्यो । साहूले सोध्दा उनले टाउको दुख्यो भन्दै ढाँटिन् । उनलाई अस्पताल लगियो । ४ दिनपछि बच्चा जन्मियो ।

त्यसपछि साहूले रिसाएर उनलाई अस्पतालमै अलपत्र छाडे । अस्पतालले प्रहरीलाई खबर ग¥यो । प्रहरीले सोधपुछ गर्दा उजेलीले नाजवाफ भइन् । उनलाई हिरासतमा राखियो । ४ महिनापछि उनी छोरा लिएर नेपाल फर्किन् । 

प्रतिबन्धले झन् जोखिम

वैदेशिक रोजगार ऐन २०६४ मा वैदेशिक रोजगारीमा कामदार पठाउँदा लैंगिक विभेद नगरिने उल्लेख छ । तर, नेपाल सरकार आफैंले यो ऐनको उल्लंघन गर्दै आएको छ, कहिले नेपाली महिलालाई घरेलु कामदारका रूपमा खाडी मुलुक जानबाट प्रतिबन्ध लगाएर त, कहिले घरेलु कामदारमा जाने महिलाको उमेर हद तोकेर ।   

सरकारले २०६९ साउनमा ३० वर्षभन्दा कम उमेरका नेपाली महिला घरेलु कामदारका रूपमा खाडी देश जान नपाउने निर्णय गरेको थियो । ३ वर्षपछि “वैदेशिक रोजगारमा घरेलु कामदार पठाउनेसम्बन्धी निर्देशिका, २०७२” जारी गर्दै सरकारले उमेर हदलाई २४ वर्षमा झा-यो ।

पछिल्लो पटक २०७३ चैत ३ गते फेरि अर्को निर्णय गर्दै खाडी देशमा घरेलु कामदार पठाउन रोक लगाइयो । नेपाली महिलालाई घरेलु कामदारका रूपमा विदेश जान प्रतिबन्ध लगाउने, फुकुवा गर्ने र उमेर हदमार्फत नियन्त्रण गर्ने यो क्रम विगत दुई दशकदेखि निरन्तर चल्दै आएको छ । 

राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनअनुसार श्रम स्वीकृति नलिइ तेस्रो देश हुँदै अनौपचारिक रूपमा विदेश जाने नेपाली महिलाहरू बँधुवा श्रम र बेचबिखनको उच्च जोखिममा हुन्छन् । 

लुकेर खाडी देश गएका नेपाली महिलाको तथ्यांक सरकार वा अन्य कुनै निकायसँग छैन । साउदी अरबमा रहेको नेपाली दूतावासले २०६९ सालमा गरेको एक अध्ययनअनुसार, यो देशमा मात्रै अनौपचारिक माध्यमबाट आएका नेपाली महिलाको संख्या त्यसबेला ७० हजार थियो । 

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले खाडी देशको स्थलगत अनुगमन भ्रमण गरी तयार पारेको प्रतिवेदनअनुसार, खाडीमा रहेका ६० प्रतिशत नेपाली महिला नेपालकै विमानस्थलबाट भिजिट भिसा वा सेटिङमा गएका हुन् ।

नेपाली महिलालाई गैरकानुनी रूपमा खाडी देश पठाउने सेटिङमा विमानस्थलका कर्मचारी, सुरक्षाकर्मी, वायुसेवा निगमका कर्मचारी र बिचौलियाहरूको प्रत्यक्ष संलग्नता रहेको पनि प्रतिवेदनमा उल्लेख छ । बाँकी ४० प्रतिशत भने भारतका विभिन्न सहर, श्रीलंका, चीन र विभिन्न अफ्रिकी देश हुँदै खाडी पु¥याइने गरेको छ । 
यस्तै, अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले २०१५ मा गरेकोे एक अनुसन्धानअनुसार, सरकारले प्रतिबन्ध र उमेरको हदबन्दी लगाए पनि महिला आप्रवासन रोकिनुको सट्टा उनीहरूमाथिको विभेद र हिंसाले झन् निरन्तरता पाइरहेको छ । 

महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलनसम्बन्धी संयुक्त राष्ट्रसंघीय समिति (सीड) ले सन् २०१८ मा निष्कर्ष निकालेको छ– महिलालाई घरेलु काममा जान लगाइएको प्रतिबन्धले उनीहरूलाई झन् अनौपचारिक श्रम आप्रवासनको जोखिममा धकेलेको छ र यसका कारण उनीहरू बेचबिखनमा पर्ने खतरा पनि बढाएको छ । 

महालेखा परीक्षकको विशेष लेखा परीक्षण प्रतिवेदन २०७५ ले पनि नेपाली महिलामाथि लगाइएको प्रतिबन्ध तथा उमेर हद नेपालको वैदेशिक रोजगार कानून, अन्तर्राष्टिय मानवअधिकार कानुन र आईएलओ महासन्धिका प्रावधानका दृष्टिले स्पष्ट रूपमा विभेदकारी रहेको ठहर गरेको छ । 

प्रतिबन्ध लगाउँदैमा वा उमेर हद तोक्दैमा महिला सुरक्षित नहुने हँुदा उनीहरूलाई सुरक्षित गर्नतर्फ बढी ध्यान दिनुपर्ने थियो । तर, महिला आप्रवासीको विशेष संरक्षणको व्यवस्थाका लागि अपनाउनुपर्ने विभिन्न उपायको खोजीमा सरकारी निकायले त्यति ध्यान दिएको देखिँदैन ।

महालेखा परीक्षकको ५६औँ प्रतिवेदनले पनि ‘विगत ५ वर्षको अवधिमा महिलाहरू वैदेशिक रोजगारीका लागि जाने प्रवृत्तिमा १४ प्रतिशतले वृद्धि भएको र त्यसका कारण महिला हिंसाजस्ता सुरक्षा चुनौतीसमेत थपिएकोमा आवश्यक सुरक्षा रणनीति अपनाइएको देखिँदैन’ भनेको छ । 

‘जानीजानी जोखिम’  

वैदेशिक रोजगार विभागका पूर्व महानिर्देशक भीष्मराज भुसाल महिला कामदारमाथि लगाइने प्रतिबन्ध र उमेर हदबन्दी उचित रहेको तर्क गर्छन् । भन्छन्, ‘सरकारले आफ्ना नागरिकको भलाइका लागि नै यस्तो प्रतिबन्ध वा उमेर हद लगाउने गरेको हो ।’

अधिकांश नेपाली महिला प्रतिबन्ध र उमेर हदबन्दीबारे जानकार हुँदाहुँदै पनि जोखिम मोलेर खाडी देश जाने गरेको भुसाल बताउँछन् । भन्छन्, ‘दलालहरूले महिलालाई अनेकौं प्रलोभन देखाएका हुन्छन्, जसले गर्दा उनीहरू जस्तोसुकै चुनौती मोलेर पनि खाडी जान तयार हुन्छन् ।’ 

विदेशमा काम गर्न इच्छुक महिलाले आवश्यक सीप सिकेर कम्पनीका काममा जाँदा हिंसा र शोषणको सम्भावना न्यून हुने भुसालको भनाइ छ । विभागले औपचारिक तरिकाले रोजगारमा जाने महिला कामदारलाई भने श्रम स्वीकृतिसमेत दिने गरेको छ । 

प्रलोभनमा परेर जानीजानी जोखिम मोल्दै खाडी देश जाने महिलाहरू समस्यामा परेपछि उजुरी दिन पनि हिच्किचाउँछन् । सामान्यतः कुनै महिलाले पनि अवैध मार्ग हुँदै घरेलु कामदारका रूपमा खाडी देश जाँदा समस्यामा परेँ भनेर उजुरी दिने नगरेको भुसाल बताउँछन् । 

झन्डै एक वर्षदेखि विभागका महानिर्देशक रहेका भुसाल भन्छन्, ‘कमसेकम मेरा पालामा चाहिँ अहिलेसम्म कुनै महिला पनि यस्तो उजुरी दिन आएका छैनन् । बरु, विभाग आफैंले यस्ता महिला खोज्दै उजुरी दिन लगाउँछ, तै पनि उनीहरू उजुरी दिन धक मान्छन् ।’

सरकारसँग सार्थक योजना छैन

नेपाली महिलालाई जोखिम मोलेर खाडी जानबाट निरुत्साहित गर्न प्रतिबन्ध र उमेरको हदबन्दीजस्ता कठोर तर निरर्थक कदम चालेको सरकारले त्यसका लागि अन्य सार्थक योजना भने अघि सार्न सकेको छैन ।

यो विषयमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय होस् वा वैदेशिक रोजगार विभाग, कोही स्पष्ट छैनन् । यसैले, महिला जोखिममा पर्ने र जसोतसो गरेर तिनको उद्धार गर्ने क्रम जारी छ ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण शाखाका प्रमुख विश्वमाया न्यौपाने चालू आर्थिक वर्षमा मात्रै १३ जना नेपाली महिलाको विभिन्न खाडी देशबाट उद्धार गरिसकिएको बताउँछिन् । 

यस्तै, गत साल नेपाल सरकार र विभिन्न गैरसरकारी संस्थाको सहयोगमा खाडीबाट १ हजार ६ सय महिलाको उद्धार गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ । वैदेशिक रोजगारीमा पुगेका महिला समस्यामा परेपछि सम्बन्धित दूतावासको सहयोगमा उद्धार गरिएको हो । 

उजुरी पर्दैन : प्रहरी 

मानव बेचबिखन अनुसन्धान ब्युरोले हालसम्म तेस्रो बाटो हुँदै विदेश जान लागेका र विभिन्न देशमा गएर समस्यामा परेका २०६ जना नेपाली  महिलाको उद्धार गरेको जनाएको छ ।

तर, उद्धार गरिएका महिलाहरू नै न्याय र क्षतिपूर्तिका लागि दह्रोसँग नउभिने गरेकाले अनुसन्धान निष्कर्षमा नपुग्ने ब्युरोका प्रमुख ईश्वरबाबु कार्की बताउँछन् । उनी भन्छन्, ‘उद्धार गरी नेपाल ल्याइएका महिलाहरू पछि हाम्रो सम्पर्कमा आउँनै चाहँदैनन्, जसले गर्दा उनीहरूलाई अवैध रूपमा खाडी पठाउने दलालहरूको आत्मबल झन् बढ्छ ।’

यस्ता दलालहरू ती महिलाले नचिनेका पनि हुँदैनन्, प्रायः सबै आफन्त र नातेदारमार्फत नै खाडी पुग्ने गर्छन् ।” उनी भन्छन्, “विदेशबाट आउँदा दलालप्रति आक्रोशित देखिने महिलाहरू पनि पछि पीडककै पक्षमा उभिन्छन्, जसले गर्दा पीडकहरू कारबाहीमा पर्दैनन् र फेरि अन्य महिलाहरू जोखिममा पर्छन् ।” 

गएको भदौ महिनादेखि खाडीबाट फर्केका घरेलु कामदारले पुनः श्रम स्वीकृति पाउन थालेका छन् । तर, नयाँ कामदारको हकमा यो व्यवस्था छैन । भदौ ४ गते संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विदेश फर्किने बाटो खोलेको हो ।

यही समितिको निर्देशनकै कारण महिला घरेलु कामदारलाई विदेश जान भने प्रतिबन्ध नै रहेको समितिका उपसचिव शिवदत्त बरालले बताए । 

अवस्था कहालीलाग्दो : पौरखी नेपाल 

प्रतिबन्धले महिलाहरू झनै जोखिममा परेका छन् । तेस्रो बाटो हुँदै खाडी देश पुगेका महिलाको अवस्था निकै कहालीलाग्दो छ । अहिले पनि महिनामा सयौँ नेपाली महिला जोखिम मोलेर पैसा कमाउन खाडी पुग्ने गरेका छन् ।  

धेरै महिला भिजिट भिसामा खाडी जाने भएकाले त्यहाँ कति नेपाली महिला छन् भन्ने तथ्यांक छैन । हामीले आफ्नै स्रोतबाट संकलन गरेको सूचनाअनुसार भने लेबनानमा १२ देखि १४ हजार नेपाली महिला घरेलु कामदार छन् ।

साउदी अरबमा ७० हजारभन्दा बढी नेपाली महिला कामदार छन् । इराकको एउटा प्रान्तमा मात्रै १२ हजार नेपाली महिला कामदार छन् । कुवेतमा ९ हजार छन् । प्रतिबन्ध फुकुवा गरी सीप र भाषा सिकाएर कामदार पठाउनु नै श्रेयष्कर हुन्छ । 

फर्केपछि पनि समस्या : माइती नेपाल 

सरकारले “समृद्ध नेपाल : सुखी नेपाली” को नारा सफल पार्न सबैभन्दा पहिले प्रतिबन्ध फुकुवा गर्नुपर्छ । अहिले वैदेशिक रोजगारको नाममा खुलेआम मानव बेचबिखन भइरहेको छ ।

हामीकहाँ आएका निवेदनको आधारमा हेर्दा उद्धार गरिएका महिलाहरू नेपाल आइसकेपछि पनि समस्यामा परेका छन् । उनीहरूमध्ये कतिपय नागरिकता र परिवारविहीन छन् । उनीहरूबाट जन्मेका बच्चालाई झनै समस्या छ ।

कामको खोजीमा रहेका महिलालाई लगाइएको प्रतिबन्धले महिला खुसी भएका छैनन् । सरकार हामी सबैको अभिभावक हो । महिलालाई समस्या र जोखिममा पारी, उनीहरूमाथि विभेद गरी समृद्ध नेपाल र सुखी नेपालीको नारा कसरी सार्थक हुन्छ ?  

प्रतिबन्ध हटाऊ : अधिकारकर्मी श्रेष्ठ 

सुरक्षित आप्रवासनको पक्षमा पैरवी गर्ने अधिकारकर्मी तथा राष्ट्रसंघीय निकायहरूले समेत महिला कामदारहरूमाथि लगाइएको प्रतिबन्ध खुला गर्न सरकारलाई दबाब दिने गरेका छन् ।

महिला अधिकारकर्मी सरु जोशी श्रेष्ठ भन्छिन्, ‘सरकारले सुरक्षाका अन्य उपाय अपनाएर महिला कामदारमाथि लगाइएको प्रतिबन्ध खुला गरिनुपर्छ । प्रतिबन्धका कारण महिलाहरू सुरक्षित हुनुको सट्टा थप जोखिममा परे ।’

उनीहरू शोषण र बेचबिखनको सिकार बन्न थाले । प्रतिबन्धका कारण महिलाहरू श्रम गन्तव्यहरूमा नै अलपत्र परेका छन् ।

मिडिया फाउण्डेशनकाे सहयाेगमा 

अन्तिम अपडेट: जेठ १५, २०७७

इन्द्रसरा खड्का

इन्द्रसरा खड्का महिला अधिकार र सामाजिक विषयमा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया