बाल क्लबबाट अभिभावक र बालबालिकालाई चेतना जगाउने रामचन्द्र

 चैत ३, २०७६ सोमबार १४:४७:३९ | इन्द्रसरा खड्का
unn.prixa.net

किशोरावस्थाको १३, १४ वर्षे उमेर । हुन त यो दिउँसो विद्यालय जाने र साँझ बिहान साथीहरुसँग खेलेर रमाउने उमेर हो । 

यो उमेरमा गाउँघरका अधिकांश केटाकेटीहरु कहिले खोलामा बगिरहेको पानी रोक्ने त कहिले गुलेलीले उडिरहेको चरालाई निसाना लगाउने काममा रमाउने गर्छन् । 

हो, यही उमेरकाे हुनुहुन्छ रामचन्द्र खड्का । बाँकेको डुडुवा गाउँपालिका ५ का रामचन्द्र खड्का १४ वर्ष पुग्नुभएकाे छ । उहाँ समाजमा रहेका विकृतिविरुद्ध गाउँलेलाई सजग गराउने काम गर्नुहुन्छ । 

रामचन्द्र गाउँमै रहेको शहीद स्मारक माविमा कक्षा ९ मा पढ्नुहुन्छ । विद्यालयमा हरेक शुक्रबार हाजिरी जवाफ प्रतियोगिता, वादविवाद र वक्तृत्वकला लगायतका अतिरिक्त क्रियाकलाप हुन्छन् । 

त्यस्ता कार्यक्रममा पनि बालबालिकाका हक अधिकार के हुन्, अभिभावकको दायित्व के हो, समाज कस्तो हुनुपर्छ र विवाह कति वर्ष पुगेपछि गर्नुपर्छ जस्ता विषयलाई मुख्य आधार बनाएर उहाँले कार्यक्रम गर्नुहुन्छ । 

उहाँमा याे आँट आफै भने आएको होइन । बाल क्लबमा आबद्ध भएपछि उहाँमा यस्तो आँट आएको हो ।  

बाल क्लबले दिएको जाँगर 

शहीद स्मारक माविमा २०७३ सालमा बाल क्लब गठन भयो । नाम राखियो आदर्श बाल क्लब । रामचन्द्र पनि क्लबको सदस्य बन्नुभयाे । कक्षामा राम्रो विद्यार्थी भएकाले शिक्षकले सदस्यमा उहाँकाे नाम सिफारिस गरे । 

तर बाल क्लब के हो, सदस्य भइसकेपछि के गर्नुपर्छ ? जस्ता कुरा रामचन्द्रलाई थाहा थिएन । रामचन्द्र पढाइमा राम्रो भए पनि शिक्षकसँग बोल्न डराउनु हुन्थ्याे । विद्यालयमा हुने कार्यक्रमहरुमा समेत भाग लिन अप्ठेराे मान्नु हुन्थ्याे । 

हाजिरी जवाफ र वक्तृत्वकलामा भाग लिएर अरु विद्यार्थीले पुरस्कार पाएको देख्दा रामचन्द्रलाई भने रमाइलो लाग्थ्यो । बाल क्लबमा सदस्य भइसकेपछि भने उहाँ बाेल्न थाल्नुभयाे । त्यसपछि उहाँलाई क्लबका विभिन्न कार्यक्रम  र गतिविधिमा भाग लिने आँट आयो ।

उहाँ अहिले आफै क्लबको अध्यक्ष हुनुहुन्छ । सुरुमा बोल्न डराउने रामचन्द्र अहिले विद्यालयका शिक्षकसँग क्लबका विभिन्न विषयमा छलफल गर्न अघि सर्नुहुन्छ । क्लबले गर्दा आफूमा आएको परिवर्तन देख्दा रामचन्द्र अचम्म मान्नुहुन्छ ।    

गाउँगाउँमा जनचेतना 

बाल क्लबले विशेषगरी महिला र बालिकामाथि हुने हिंसाविरुद्ध आवाज उठाउने गर्छ । क्लब विद्यालयमा गठन भए पनि त्यसका कार्यक्रमहरु विद्यालयबाहिर पनि गर्नुपर्छ । 

उमेर नपुग्दै बिहे गर्नु हुँदैन, नेपालको कानुनले यसलाई बन्देज गरेको छ भन्दै सडक नाटक र कचहरीलगायतका सांस्कृतिक कार्यक्रम गर्दै चेतना फैलाउनु हुन्छ रामचन्द्र । उहाँ अभिभावकहरुलाई सम्झाउन घरदैलोसम्म पुग्नु हुन्छ । 

यस्तै उहाँले घरको काममा महिलालाई पुरुषले पनि सहयोग गर्नुपर्छ, महिलालाई विभेद गर्नु हुँदैन र छोरीलाई पनि विद्यालय पठाउनुपर्छ भन्ने सन्देश समाजमा फैलाउनु हुन्छ ।  

बाल क्लबमा २५ जना सदस्य छन् । उनीहरु सबै जना कार्यक्रममा सहभागी हुन्छन् । यो क्लबजस्तै बाँकेका राप्ती सोनारी र डुडुवा गाउँपालिकामा १० वटा बाल क्लब छन् । सबै क्लबले आ–आफ्नो गाउँ र टोलमा सचेतनाका कार्यक्रमहरु गर्छन् ।

रामचन्द्रका परिवार खुसी

रामचन्द्रले आफूले सिकेका कुरा घरमा आमाबुवालाई पनि सुनाउनु हुन्छ । महिला र बालिकामाथि के गर्दा हिंसा हुन्छ र यसमा अभिभावकहरुले के गर्नुपर्छ जस्ता विषय आमाबुवालाई सिकाउँदा उहाँकी आमा धनकुमारी खड्कालाई गर्व लाग्छ  ।

आँखा अगाडि सानै देखिने छोराले के राम्रो, के नराम्रो भनेर आफूलाई सम्झाउँदा धनकुमारीलाई छोरा ठूलो भइसकेको भान हुन्छ । धनकुमारीका आठ जना छोराछोरी छन् । लगातार चार वटी छोरी जन्मिदा उहाँले कम्ती दुःख खेप्नु परेन ।

चार वटी छोरी जन्मिसक्दा पनि छोरा नजन्मेको भन्दै परिवारभित्रै र बाहिरबाट उहाँले धेरै कुरा सुन्नुपर्‍यो । जब रामचन्द्रको दाइ पाँचाैँ सन्तानको रुपमा जन्मे । त्यसपछि धनकुमारीले समाजकाे कुरा सुन्नु परेन ।

छोरा नजन्मेको भन्दै उहिले कुरा काट्ने गाउँलेहरु अहिले रामचन्द्रले सानैमा गरेको कामको प्रशंसा गर्छन् ।

मिश्रित समाजका समस्या

बाँकेको डुडुवा गाउँपालिकामा मधेशी, थारु, पहाडिया र मुस्लिमलगायतका समुदायको मिश्रित बसोबास छ । कुनै समुदायमा बालबालिकाको सानै उमेरमा बिहे गदिदिने चलन छ भने कुनैमा सानै उमेरमा आफै भागेर बिहे गर्ने प्रचलन छ । 

कम उमेरमा बिहे गर्नु हुँदैन भन्दा कुनै समुदायलाई पाच्य हुँदैन । जनचेतनामूलक कार्यक्रमलाई समाजमा व्यहारमै लागु गर्न अझै समस्या र चुनौती देखिन्छ ।
अभिभावकहरुले बुझ्न थाले । 

पहिलेभन्दा अहिले अभिभावकहरुले कुरा बुझ्न थालेका छन् । पहिले बालविवाह गर्नु हुँदैन, श्रीमतीलाई कुटपिट गर्नु हुँदैन भन्दा कसैले मान्दैनथे । केटाकेटीहरुले हामीलाई सम्झाउने भन्दै उनीहरुले रामचन्द्र र उनका साथीहरुलाई थर्काउँथे ।

तर अहिले अभिभावकहरुले सहयोग गर्न थालेका छन् । अभिभावकहरुकै सहयोगले आदर्श बाल क्लबले दुई वटा बालविवाह रोकेको छ । 

व्यक्तित्व विकासमा सहयोग 

धेरैजसो अभिभावकले बालबालिकाको पढाइ प्रभावित हुने भन्दै उनीहरुलाई क्लबमा आबद्ध हुन दिँदैनन् । बालबालिकाको क्षेत्रमा काम गर्नेहरुले भने बाल क्लबले बालबालिकाको पढाइ प्रभावित हुने नभइ उनीहरुको क्षमता विकास हुने बताउँछन् ।

१३ वर्षको उमेरदेखि बाल क्लबमा आबद्ध भएर यही क्षेत्रमा काम गरिरहनुभएकी सिविन नेपालकी कार्यक्रम संयोजक निरिजना भट्ट भन्नुहुन्छ, ‘बाल क्लबले विद्यार्थीलाई बाह्य ज्ञान प्राप्तिमा सघाउँछ ।’ 

किताबी ज्ञानभन्दा बाह्य ज्ञानले व्यक्तित्वको विकास गर्ने तर यसले पढाइलाई प्रभावित नगर्ने संयोजक भट्टको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

इन्द्रसरा खड्का

इन्द्रसरा खड्का महिला अधिकार र सामाजिक विषयमा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया