शुक्रबारदेखि खाडीका देश र मलेसियासँगै यूरोपबाट नेपाली पनि स्वदेश आउन नपाउने

 चैत ५, २०७६ बुधबार १९:२७:२५ | उज्यालो सहकर्मी

काठमाण्डौ – आउँदो शुक्रबार राती अर्थात मार्च २० देखि आउँदो वैशाख ३ गतेसम्म रोजगारीका लागि विदेश गएका नेपाली स्वदेश फर्किन नपाउने भएका छन् ।

उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बुधबार बसेको कोभिड १९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले खाडीका ६ देश, मलेसिया, इरान, टर्की, दक्षिण कोरिया, जापान र युरोपका सबै देशबाट नेपाल आउने विदेशी यात्रुसँगै नेपाली नागरिकलाई पनि नेपाल आउन प्रतिबन्ध लगाएको परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले जानकारी दिनुभयो ।

साथै यी देश ट्रान्जिट बनाएर आउने सबै देशका यात्रुलाई पनि नेपाल आउन रोक लगाइएको छ । चीनको वुहानबाट फैलिएको कोरोनाको संक्रमण नेपालीको श्रम गन्तव्य खाडीका देश र मलेसियासम्म फैलिएको छ ।

खाडीका ६ देश र मलेसियामा अहिलेसम्म १ हजार ९ सय ४६ जनामा कोरोनाको सङ्क्रमण भएको छ । पछिल्लो तथ्याँकअनुसार १ सय ७० देशका दुई लाख ४ हजार ७ सय ३२ जनालाई कोरोनाको सङ्क्रमण भएको छ । अहिलेसम्म ८ हजार २ सय ७० जनाको ज्यान गएको छ भने ८२ हजार ८ सय ८९ जना निको भएर घर फर्किएका छन् ।

अन्तिम अपडेट: बैशाख २, २०८१

1 Comments

  • अजय भण्डारी

    March 18, 2020, 8:50 p.m.

    केही समय पहिले देखि म नेपाल आउने सोचमा थिए। सस्तो टिकट पाएको हुनाले मेरो अर्को हफ्ताको फ्लाइट छ। सरकारले यति छोटो समयमा नाका बन्द गरेर म जस्ता कैयौंलाई अलपत्र पारिदियो। अहिले यहाँ काम गरेर पैसा कमाउने अवस्था छैन। केही जोडजाड पारेर लिएको टिकट नि काम नलाग्ने भयो।

  •  0 Reply

तपाईको प्रतिक्रिया