कोरोनाले त्रसित नेपालका जेष्ठ नागरिकहरु

 चैत १३, २०७६ बिहिबार १४:३२:३० | इन्द्रसरा खड्का
unn.prixa.net

ललितपुर भैँसेपाटीका भक्तराज रञ्जित ६५ वर्ष पुग्नुभयो । पहिलेदेखि पत्रपत्रिका पढ्ने र समाचार सुन्ने बानी भएका उहाँ अहिले रेडियोबाट आउने समाचार नबिराएर सुन्ने र टेलिभिजन हेर्ने गर्नुुहुन्छ । 

जब कोरोना सङ्क्रमितको सङ्ख्या बढेको, मर्नेको सङ्ख्या बढेको सुन्नुहुन्छ तब उहाँको मन अत्तालिन्छ । समाचारमा मर्नेको सङ्ख्या बालबालिका र वृद्धवृद्धाको बढी भएको थाहा पाउनुहुन्छ, तब थप तनाव हुन्छ उहाँलाई ।

आफूलाई हेर्दा अझै जवान छु र भाइरससँग लड्ने क्षमता छ जस्तो लाग्छ उहाँलाई । तर जब कोरोनाबाट मर्नेहरुको उमेर हेर्नुहुन्छ तब आफू वृद्ध भएको भान हुन्छ ।
विदेशमा रहेका सन्तानको चिन्ता

उहाँलाई आफूभन्दा बढी छोराछोरीको चिन्ता लाग्छ । भक्तराजका एक छोरा र एक छोरी छन् । दुवै जना विदेशमा । छोरी अमेरिका र छोरा अस्ट्रेलिया ।
आफ्ना सन्तान सधैँ साथमा भएको सबभन्दा राम्रो । तर घरमा दुई जना बुढाबुढी मात्रै ।

छोराछोरी बस्ने दुवै देशमा कोरोना भाइरसको सङ्क्रमण बढ्दो छ । आमाबुवाको मन न हो, यस्तो अवस्थामा छोराछोरी टाढा हुँदा उहाँहरुलाई असाध्यै पिर लागेको छ । 

अहिले बुढेसकालका सहारा नै उहाँहरुको साथमा छैनन् । हुन त छोराछोरी पढाइका लागि विदेशिएका हुन् । तर पनि मनले मान्दैन । भक्तराज र उहाँकी श्रीमती नेपालमा सुरक्षित हुनुहुन्छ । तर छोराछोरीको चिन्ताले बढी सताएको छ । कतै केही भइ पो हाल्छ कि ?

‘हिजो अस्तिकोभन्दा आज बढी डर लागेको छ । किनकी नेपालमा सङ्क्रमितको सङ्ख्या बढ्दै छ । सङ्क्रमित युवाहरु भए पनि उनीहरु आएको हवाई जहाज र उनीहरुले भेटेका आफन्तहरुमा भाइरस फैलिसकेको छ होला । अब हामी कसरी सुरक्षित हुनु’, उहाँले भन्नुभयो ।

गोरखापत्र संस्थानमा २३ वर्ष काम गर्नुभएका भक्तराज समाजसेवाको काम गर्नुहुन्छ । यो उमेरसम्म आइपुग्दा उहाँ महामारीको चेपटामा पर्नुभएको छैन । तर आमाबुवाले महामारीबारे धेरै कुरा सुनाउनुभएको थियो । पश्चिममा दादुरा र झाडापखालाजस्ता महामारीबारे उहाँ आफैँले पनि सुन्नुभएको छ । 

भक्तराजलाई अहिले दिनमा दुई, तीन पटक छोराछोरीसँग कुरा नगर्दा चित्त बुझ्दैन । भाइबर, इमो र फेसबुकबाट हरेक दिन कुरा हुन्छ । तैपनि उहाँको मन ढुक्क हुँदैन ।

उहाँजस्तै थुप्रै आमाबुवालाई यस्तै पिर छ । उमेर ढल्केकाहरुलाई केही भइपो हाल्छु कि भन्ने डर लाग्छ । हुन त जन्मेपछि एक दिन मर्नु नै छ । तर मर्न डर लाग्दोरहेछ । बि.स. २०६८ सालको जनगणनाअनुसार नेपालमा जेष्ठ नागरिकको सङ्ख्या २३ लाख ५४ हजार छ । तर २०७६ सालसम्म पुग्दा यो अनुमानित सङ्ख्या ३० लाखभन्दा बढी छ ।

जेष्ठ नागरिकलाई त्रास 

एजिङ्ग नेपालका व्यवस्थापक प्रकाश गौतम अहिलेको अवस्थामा जेष्ठ नागरिक डराएको बताउनुहुन्छ ।

सञ्चार माध्याममा आएका खबरहरुले उनीहरुमा त्रास बढेको उहाँले बताउनुभयो । मर्ने र सङ्क्रमित हुनेहरुमा युवाहरु पनि भएपनि सञ्चारमाध्यामले वृद्धवृद्धाको सङ्ख्या धेरै रहेको बताउँदा उनीहरुको मानसिक स्वास्थ्यमा असर पुगेको गौतम बताउनुहुन्छ ।

स्वास्थ्य सेवाको सहज र प्रयाप्त पहुँच भएका विकसित देशका जेष्ठ नागरिकहरु समेत कोरोना भाइरसले सुरक्षित नभएको खबरले नेपालका जेष्ठ नागरिकहरुलाई झन् बढी त्रसित बनाएको छ ।

गौतम भन्नुहुन्छ, ‘इटाली र स्पेनमा ५० वर्षभन्दा माथिका व्यक्ति बढी सङ्क्रमित भएको भन्दै सञ्चारमाध्यमले बुढापाकालाई त्रसित बनाउनेगरी समाचार प्रसारण गर्यो ।’

यस्ता समाचारले नेपालका जेष्ठ नागरिक झनै त्रसित भएको बताउँदै उहाँले सबै उमेर समूहका व्यक्ति सजग रहनुपर्ने आवश्यक रहेको बताउनुभयो । 
स्वास्थ्य सेवाको सहज र प्रयाप्त पहुँच भएका विकसित देशका जेष्ठ नागरिकहरु समेत कोरोना भाइरसले सुरक्षित नभएको खबरले नेपालका जेष्ठ नागरिकहरुलाई झन् बढी त्रसित बनाएको छ ।

परिवारसँगै बस्ने अवसर

नेपाल अहिले ‘लकडाउन’ छ । सबै जना आआफ्नो घरमा छन् । दिनहुँ अफिसको काममा व्यस्त हुनेहरुले पनि अहिले परिवारसँग बस्न पाएका छन् । ग्रामीण स्तरमा पनि कामको सिलसिलामा बाहिर गएका सबै घर फर्केका छन् । 

तर यसले समस्या पनि भएको छ । यो उमेरमा उनीहरुलाई बेलाबेलामा अस्पताल गइराख्नुपर्छ । स्वास्थ्य जाँच गराइरहनुपर्ने भएकोले ‘लकडाउन’ले समस्या भएको जेष्ठ नागरिकहरु बताउँछन् । लामो समयसम्म यस्तै हुने हो भने आफूहरुका लागि घरमै स्वास्थ्य सेवा चाहिने उनीहरुको भनाइ छ ।

भारत गएका र अन्य देश गएकाहरु पनि फर्केका छन् । यस्तो अवस्थामा धेरैजसो जेष्ठ नागरिकले सिङ्गो परिवारको साथमा पाएका छन् । छोराबुहारी अफिस र  नातिनातिना विद्यालय जाँदा घरमा एक्लिने गरेका जेष्ठ नागरिकले यतिबेला परिवारसँगै बस्ने अवसर पाउँदा खुसी भएको साहित्यकार चट्टयाङ मास्टर बताउनुहुन्छ । 

अर्ति लिन मिल्छ 

उमेरले ८०, ९० कटेका जेष्ठ नागरिकसँग बसेर ज्ञान र सिप सिक्ने अवसर हो यो । विगतमा उनीहरुले भोगेका विपत्, महामारी र त्यसबाट बच्न अपनाएका उपायबारे ज्ञान लिँदा फाइदा हुने चट्याङ मास्टर बताउनुहुन्छ ।

लकडाउनले समस्या

कोरोना भाइरसबाट बच्न सरकारले चालेको कदमले जेष्ठ नागरिकका लागि फाइदा र बेफाइदा दुवै भएको चट्याङ मास्टरको भनाइ छ । सरकारले ‘लकडाउन’ गरेकोमा जेष्ठ नागरिक खुसी छन् । 

तर यसले समस्या पनि भएको छ । यो उमेरमा उनीहरुलाई बेलाबेलामा अस्पताल गइराख्नुपर्छ । स्वास्थ्य जाँच गराइरहनुपर्ने भएकोले ‘लकडाउन’ले समस्या भएको जेष्ठ नागरिकहरु बताउँछन् । लामो समयसम्म यस्तै हुने हो भने आफूहरुका लागि घरमै स्वास्थ्य सेवा चाहिने उनीहरुको भनाइ छ ।

अन्तिम अपडेट: चैत १६, २०८०

इन्द्रसरा खड्का

इन्द्रसरा खड्का महिला अधिकार र सामाजिक विषयमा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया