कोरोना महामारी : पालिकाका जनप्रतिनिधिलाई अवसर

 चैत १३, २०७६ बिहिबार १५:३०:१९ | भाेजेन्द्र बस्नेत
unn.prixa.net

काठमाण्डौ – स्थानीय निर्वाचन भएको झण्डै तीन वर्ष पुग्न लाग्दा गाउँपालिका र नगरपालिकाहरुको कामप्रति आशा चुँडिनै लागेको छ । एकाध पालिकाहरुले राम्रो गरेका छन् । तर धेरैजसो पालिकाप्रति त्यहाँको नागरिकको विश्वास गुम्न थालेको सत्य हो । पालिकाका पदाधिकारीहरु कमिसन, दलवाद र नातावादमा चुर्लुम्मै डुब्दा तीन वर्षअघि नागरिकले देखेको समृद्धिको सपनामा तुषारो परेको छ ।  

धेरैजसो पालिकाका पदाधिकारीहरुले देखेको विकास बाटो खन्नु हो । सबैलाई थाहा छ, विकास गाडी चढेर आउँछ । त्यसैले सडक बनाउनुपर्छ । तर पाखापखेरा छियाछिया हुनेगरी भत्काउनुचाहिँ पर्दैन । जनप्रतिनिधिहरु आफ्नै भाइभतिजा, सालासाली वा कार्यकर्ताका डोजरलाई काम दिनको लागि जमिन भत्काउन वा बाटो खन्न लागिपरेका छन् । 

गाउँपालिकामा सुशासनको कुरा गर्दा मान्छे हाँस्ने थालेका छन् । किनभने जनप्रतिनिधिहरुले आफूलाई छोटे राजा सोच्न थालेका छन् । आफूलाई नागरिकको ‘म्याण्डेट’ छ भन्ने घमण्ड उनीहरुमा यसरी चढेको छ कि नागरिकलाई दासको रुपमा हेर्न थालेका छन् । 

नजिकको सरकार भएपछि स्थानीय सरकार चलाउनेहरु नागरिकप्रति उत्तरदायी हुन्छन् भन्ने मान्यता छ । तर त्यसविपरित पालिकाका जनप्रतिनिधिहरुले नागरिकलाई बेवास्ता गरिरहेका छन् । आफ्नै बाबुबाजेको बिर्ता वा आफैँले कमाएको सम्पत्तिझैँ पालिकाको कोष खर्च गर्दैछन् ।

गाउँपालिकामा सुशासनको कुरा गर्दा मान्छे हाँस्ने थालेका छन् । किनभने जनप्रतिनिधिहरुले आफूलाई छोटे राजा सोच्न थालेका छन् । आफूलाई नागरिकको ‘म्याण्डेट’ छ भन्ने घमण्ड उनीहरुमा यसरी चढेको छ कि नागरिकलाई दासको रुपमा हेर्न थालेका छन् । 

गाउँपालिका र नगरपालिकामा मौलाउँदै गरेको भ्रष्टाचार, बेथिति, नातावाद र सुशासनहीनताले संघीयतामाथि प्रश्न उठ्न थालिसकेको छ । सुधार चाहने मानिसहरुले पालिकाको कार्यशैलीमाथि अब निर्मम प्रश्न गर्नु आवश्यक छ भन्न थालेका छन् । 

तर पालिकाहरुको कामको समीक्षा गर्ने बेला देशमा कोरोना सङ्क्रमणको त्रास फैलिएको छ । सीमा विवाद र एमसीसीलगायतका ठूला विषयलाई ओझेलमा पारेको कोरोनाको बहसले पालिकाहरुको समीक्षा गर्नुपर्ने आवश्यकतालाई ओझेलमा परेको छ । 

तर पालिकाका प्रतिनिधिहरुले कोरोनाको त्रासलाई व्यवस्थापन गर्न राम्रो भूमिका खेले भने उनीहरुले सुनौलो इतिहास रच्न सक्छन् । अहिले हरेक व्यक्तिमा अब के हुन्छ भन्ने डर छ । प्रविधि र ज्ञानको उच्चतम बिन्दुमा पुगेका व्यक्ति तथा संस्थाहरु नै अहिलेको अन्यौलबाट तर्सिएका छन् । आम नागरिकमा डर हुनु स्वभाविक नै हो । 

सम्भावित जोखिमलाई ध्यान दिएर क्वरेण्टीन, आइसोलेसन र उपचारलगायतका कुराको पूर्व तयारी गर्न पालिकाहरुले अब ढिला गर्नुहुन्न । भाइरसको महामारी नियन्त्रण गर्ने यही बेला हो । सङ्क्रमण बढ्दै गयो भने यो हाम्रो काबुमा नरहन पनि सक्छ । त्यसैले पालिकाहरुले ध्यान दिनुपर्छ । 

घरभित्रै थुनिनुको पीडा एकातिर छ भने दैनिक जीवनयापनको समस्या अर्कोतिर छ । अभावहरु सुरु हुन थालेका छन् । केही महिना यस्तै अवस्था रह्यो भने नेपालमा भोकले मान्छे मरेको खबर सुन्न नपर्ला भन्न सकिन्न । तर यो समस्यालाई पालिकाहरुले चाहे भने समयमै व्यवस्थापन गर्न सक्छन् । 

पालिका सबैभन्दा नजिकको सरकार हो । हाम्रो पालिकामा जनप्रतिनिधिको यति राम्रो सञ्जाल छ कि केही सहरबाहेक धेरै ठाउँमा कोही न कोही जनप्रतिनिधिलाई नजिकबाट नचिन्ने मान्छे हुँदैन । गाउँपालिकाको अध्यक्ष वा नगरपालिकाको मेयर मात्र हैन, वडाअध्यक्ष वडा सदस्य र कार्यपालिका सदस्य समेत हरेक टोलमा जनप्रतिनिधि छन् । उनीहरुको परिचालनबाट पालिकाहरुले यो अप्ठ्यारो परिस्थितिलाई पार लगाउन सक्छन् । तर गर्छु भन्ने प्रण जनप्रतिनिधिहरुको आत्माबाटै आउनुपर्छ । 

सबैभन्दा नजिकको सरकार भएकोले स्थानीय सरकारले व्यक्तिलाई व्यक्तिबाट अलग्याउनेदेखि सङ्क्रमणको शंका लागेमा परीक्षण, एकान्तबास र उपचारका लागि समन्वय गर्न प्रभावकारी भूमिका खेल्न सक्छ ।

पालिकाले मानिसलाई अलग्याउने, सचेतनामूलक कार्यक्रम गर्ने, स्वास्थ्य जाँच गर्ने र कोरोनाको सङ्क्रमण भएका मानिसको खोजीलाई तीव्रता दिएको नगरपालिका महासंघका अध्यक्ष अशोककुमार ब्याञ्जुले बताउनुभयो । यो सुखद खबर हो । यो कुरा सबै पालिकाहरुले गर्नुपर्छ ।

कोरोनाको सङ्क्रमण व्यक्ति-व्यक्तिबीचको निकटताबाट फैलिने भएकोले उनीहरुले मानिसलाई घरभित्रै राख्ने कुरामा बढी केन्द्रित हुनुपर्छ । 

सम्भावित जोखिमलाई ध्यान दिएर क्वरेण्टीन, आइसोलेसन र उपचारलगायतका कुराको पूर्व तयारी गर्न पालिकाहरुले अब ढिला गर्नुहुन्न । भाइरसको महामारी नियन्त्रण गर्ने यही बेला हो । सङ्क्रमण बढ्दै गयो भने यो हाम्रो काबुमा नरहन पनि सक्छ । त्यसैले पालिकाहरुले ध्यान दिनुपर्छ । 

अहिले धेरै मानिस सहरबाट गाउँतिर गएकाले पालिकामा फर्किएकाहरुको लगत राख्ने, उनीहरुको अवस्थाबारे जानकारी बटुल्ने र उनीहरुलाई गाउँमै रहेकाहरुसँग भेटघाट नगर्न अनुरोध गर्नेजस्ता काम गरिरहेको गाउँपालिका महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले बताउनुभयो । यदि सबै गाउँपालिकाले यस्तै काम गरे समस्यालाई नियन्त्रणमा राख्न सहज हुन्छ । 

पालिकाहरुले गर्नुपर्ने कामहरुः 

सम्भावित सङ्क्रमण भित्रिन नदिनेः सङ्क्रमणको डरले मानिसहरु सहरबाट गाउँ गएका छन् । पालिकाहरुले आफ्नो क्षेत्रमा को कति नयाँ मान्छे भित्रिए भन्ने लगत राख्नुपर्छ । विदेशबाट आएको वा सङ्क्रमितको नजिकको मानिस हो भने तत्कालै क्वरेण्टीनमा र सामान्य भएमा निगरानीमा राख्नुपर्छ । यस्तो बेला सकेसम्म आफ्नो क्षेत्रमा भित्रिएका नयाँ मानिसलाई १४ दिन अरु मानिससँग सम्पर्क गर्न नदिनु नै बुद्धिमानी हुन्छ । 

चीनले हुवेईबाट मानिसलाई बाहिर जान रोकेर सम्भावित ठूलो संकट रोक्यो भने इटलीमा मानिसहरुको आवातजावात निरन्तर रहँदा उसले गम्भीर अवस्थाको सामना गर्नुपरेको घटनाबाट पालिकाहरुले पाठ सिक्नुपर्छ । 

बरु एक वर्ष बाटो नखने केही फरक पर्दैन । तर बिरामीको उपचार खर्चको व्यवस्था पालिकाहरुले गर्नुपर्छ । सरकारले कोरोना बिरामीको निःशुल्क उपचार गर्ने भनेको छ । त्यसैले गाउँमा सङ्क्रमण फैलिएमा अस्पतालसम्म लैजाने र खर्चको अभाव हुन नदिने व्यवस्था पालिकाहरुले अहिलेदेखि गर्नुपर्छ । 

हरेक व्यक्तिको ख्याल गर्नेः कोही मानिसलाई सामान्य रुघाखोकी लागेपनि थाहा पाउन सकिने खालको जनप्रतिनिधिसँग संयन्त्र भएकोले बिरामीहरुलाई नजिकबाट नियाल्नुपर्छ । रुघा लागेको व्यक्ति कोही नयाँ व्यक्तिसँगको सम्पर्कमा गएको छ भने क्वरेण्टीनमा लगिहाल्नुपर्छ भने अरुसँग सम्पर्क नभएको अवस्थामा सामान्य उपचार गर्नुपर्छ । 

क्वरेण्टीन र आइसोलेशनको व्यवस्था गर्नेः सरकारले हरेक पालिकाले पाँच सयदेखि एक हजार बेडको क्वरेण्टीन बनाउने भनेको छ । यो तत्काल तयार हुनुपर्छ । सम्भावित व्यक्तिलाई अलग्याएर राख्नु उपयुक्त विधि हो । यो काम पालिकाहरुले गर्न सक्छन् र गर्न तत्पर पनि हुनुपर्छ । 

उपचारको व्यवस्थाः अहिले मौसमी रुघाखोकीको समय हो । कोरोना र मौसमी रुघाखोकीका लक्षणहरु मिल्दाजुल्दा हुने भएकोले रुघाखोकीको बिरामी देखिएमा कोरोनाको आशङ्कामा त्रास फैलिने गरेको छ । त्यसैले आउनेजानेको लगतअनुसार त्यस्ता व्यक्तिलाई कोरोनाको जोखिम कति छ भन्ने अनुमान गरी आवश्यक उपचारको व्यवस्था गर्नुपर्छ । 

एम्बुलेन्सको व्यवस्थाः सहरमा समस्या कम होला तर भोलि कुनै दुर्गम गाउँमा कसैलाई कोरोनाको सङ्क्रमण देखिएमा ठूलो समस्याको सामना गर्नुपर्ने हुन्छ । उसलाई अस्पताल लैजान कोही तयार हुने छैन । ज्यान गएमा घाटमा लैजाने मानिस नपाउने अवस्था आउन सक्छ ।

त्यसैले कोरानाको लक्षण देखिएमा बिरामीलाई कसरी अस्पताल लैजाने भन्ने योजना पालिकाहरुले अहिले नै बनाउनुपर्छ । त्यसको लागि अस्पताल, स्वास्थ्यकर्मी र पीपीईलगायत अहिलेदेखि नै तयारी अवस्थामा हुनुपर्छ । 

खर्चको व्यवस्थाः बरु एक वर्ष बाटो नखने केही फरक पर्दैन । तर बिरामीको उपचार खर्चको व्यवस्था पालिकाहरुले गर्नुपर्छ । सरकारले कोरोना बिरामीको निःशुल्क उपचार गर्ने भनेको छ । त्यसैले गाउँमा सङ्क्रमण फैलिएमा अस्पतालसम्म लैजाने र खर्चको अभाव हुन नदिने व्यवस्था पालिकाहरुले अहिलेदेखि गर्नुपर्छ । 

सचेतनामूलक कार्यक्रमः चिन्ताले मानसलाई चितामा पुर्याउँछ । कोरोनाले हरेक मानिसमा चिन्ता थपेको छ । यो हटाउनको लागि पालिकाहरुले भुमिका खेल्न सक्छन् । दक्षिण कोरियाली सरकारले आफ्ना नागरिकलाई अत्यावश्यक सामाग्री र उपचारको अभाव हुन दिन्न भनेर नागरिकलाई ढुक्क बनाएर डर व्यवस्थापन गरेको उदाहरणबाट सिक्नुपर्छ । अहिले कोरोना भाइरसबाट बच्ने उपाय र यसको उपचारबारे पालिकाहरुले सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ ।  

पालिकाका प्रतिनिधिहरुले आफ्नो कौशल र क्षमता देखाउने मौका यही हो । नागरिकको मन जित्ने र नेपालमा भर्खंरै कार्यान्वयनमा आएको संघीयताको महत्त्व दर्साउने बेला पनि यही हो । सुशासनहीनता, स्वच्छेचारिता र व्यक्तिगत लाभमा डुबेको भनेर आरोप खेपिरहेका पालिकाका जनप्रतिनिधिहरुका लागि कोरोना भाइरसको महामारीले जनपक्षीय काम गरेर देखाउने अवसर सिर्जना गरेको छ । 

अन्तिम अपडेट: जेठ ६, २०७७

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया