पीपीईको अभावले उदाङ्गिएको सरकारी लापरबाही

 चैत १७, २०७६ सोमबार १३:४:३० | भाेजेन्द्र बस्नेत
unn.prixa.net

काठमाण्डौ - पर्सनल प्रोटेक्टिभ इक्यूप्मेन्ट (पीपीई) अर्थात व्यक्तिगत सुरक्षाको उपकरण । पछिल्लो समय पिपिइको धेरै चर्चा भयो । यो चिज के हो भन्ने धेरैलाई चासो भयो । धेरै जटिल सामान भएको जस्तो चर्चा भएपनि यो सामान्य वस्तु हो । तर सरुवा रोगबाट बच्नको लागि नभइ नहुने कुरा हो । सम्भावित सरुवा रोग लागेका बिरामीहरुको उपचारमा संलग्न हुने बेला वा उनीहरुको स्याहार गर्ने बेला स्वास्थ्यकर्मीले आफ्नो सुरक्षाका लागि लगाउने कवच हो पीपीई जुन प्लास्टिक वा भाइरस नछिर्ने अन्य वस्तुवाट बनाइएको हुन्छ । यसमा विशेष किसिमको मास्क र चस्मालगायतका सामग्री पनि हुन्छ ।

कोरोना भाइरसको सङ्क्रमण विश्वव्यापी बनेसँगै नेपालका स्वास्थ्य संस्थाहरुमा केही थान पीपीईसमेत नभएको लाजमर्दो तथ्य बाहिरिएको छ । सरुवा रोग लागेकाहरुको परीक्षण र उपचारमा खटिने स्वास्थ्यकर्मीहरुले आफ्नो स्वास्थ्यको सुरक्षा गरेर अरुको उपचार गर्नुपर्छ । तर के हाम्रा स्वास्थ्यकर्मीहरु सेना बिनाहतियार युद्धमा गएकोझैं आफ्नो सुरक्षाकवचबिना नै आजसम्म खटिदै आएका थिए ? 

केही दिनमै म्याद सकिने चिज पनि होइन यो पीपीई । एउटा स्वास्थ्य संस्थामा ५/१० थान र अस्पतालमा ५०/१०० थान पीपीई राख्न सकिन्नथ्यो ? कि यसअघि नेपालमा सरुवा रोगको उपचार गर्नुपर्दैनथ्यो ? अहिले उब्जिएको सबभन्दा गम्भीर प्रश्न हो यो । यसअघि पनि विभिन्न ठाउँमा झाडापखाला र फ्लूलगायतका सरुवारोग देखिएपछि स्वास्थ्यकर्मी खटाइएका थिए । के त्यहाँ पीपीईबिना स्वास्थ्यकर्मीलाई पठाइन्थ्यो ? 

सरकारले पालिकाहरुका सबै वडामा स्वास्थ्य केन्द्र बनाउने कार्यक्रम गएको वर्ष नै ल्याएको थियो । धेरैजसो पालिकामा स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । तर के ती नाम मात्रकै हुन् ? परिवार नियोजनका अस्थायी साधन र सिटामोल बाँढ्न मात्र स्वास्थ्य संस्था स्थापना हुन्छन् भने बेग्लै कुरा हो । अन्यथा पीपीईजस्ता सामान्य र नभइ नहुने वस्तुकोसमेत व्यवस्था नगरी स्वास्थ्यकर्मीहरुलाइ किन खटाइरहेको ? स्वास्थ्यकर्मीले सुरक्षित भएर काम गर्नुपर्दैन ? 

यसअघि पीपीईको व्यवस्था गरिएन । मानौं पीपीई चाहिन्छ भन्ने थाहा नै थिएन । धेरै नेपालीले यस पटक पीपीईको बारेमा सुन्दैछन् । तर चीन हुँदै युरोप र अमेरिकासम्म कोरोना भाइरसको सङ्क्रमण फैलिएको धेरै भइसक्यो । अन्तर्राष्ट्रिय सञ्चारमाध्ययमले बारम्बार ती देशमा पीपीई अभाव भएको खबर दिइरहेका थिए । उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु पीपीई लगाएर उपचारमा संलग्न भैरहेका भिडिओहरु पनि आइरहेका छन् । त्यसबेला पनि किन पीपीईको खोजी र व्यवस्था नगरिएको ? कि हाम्रोमा त पशुपतिनाथ छँदैछन् भन्दै ढुक्क भएर बसेको ? 

नेपाल कोरोनामुक्त देश भनेर विश्वमा प्रचार गरी पर्यटक ल्याउनेजस्ता उल्टो काम चलिरहँदा हामीसँग के छ, के चाहिन्छ, र कहाँबाट ल्याउनेजस्ता विषयमा योजना किन बनाइएन ? प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोख्रेल सरकारले सरकारले किन्न लागेको मूल्यमा कसैले स्वास्थ्य सम्बन्धी सामाग्री दिन्छ भने किन्छौँ भन्दै सामाजिक सञ्जालमार्फत धम्कीपूर्ण अभिव्यक्ति दिँदै हुनुहुन्छ । अति आवश्यक पर्दा बजारमूल्य आकासिन्छ भन्ने थाहा थियो तथा पीपीई र मास्कलगायतका सामाग्री जहिलेपनि चाहिन सक्छ र सम्भावित सङ्कट हाम्रोतिर पनि आउँदैछ भन्ने थाहा हुँदाहुँदै पहिले नै किन जोहो गरिएन ? परीक्षण गर्ने किट्स त नयाँ भयो । अरु सामान त जहिले पनि चाहिने र पाइने चिज होइनन् र ? 

चीनमा कोरोनाको प्रकोप बढिरहँदा दक्षिण कोरियाले आफ्नो तयारी तीव्र बनायो । उसले पीपीई, मास्क तथा थप भेण्टिलेटरको व्यवस्था मात्र गरेन, कोरोना परीक्षण गर्ने किट्सको उत्पादन पनि चाँडोभन्दा चाँडो सुरु गर्यो । आफ्नो देशमा सङ्क्रमण फैलिदासम्म कोरिया तयारी अवस्थामा पुगिसकेको थियो । त्यसैले एकाएक फैलिएको कोरोना सङ्क्रमणलाई उसले आफ्नो नियन्त्रणमा राख्न धेरै हदसम्म सफल भयो । चीनको नजिकै रहेको नेपाल किन सामान्यभन्दा सामान्य तयारी नगरी बसेको ? यसले नेपाल सरकारले योजना नबनाई कसरी अदूरदर्शी ढङ्गले काम गर्दोरहेछ भन्ने देखाएको छ । 

यसअघि पीपीई समेत नराखी बनाइएका स्वास्थ्य केन्द्र र अस्पतालहरुको सम्बन्धमा जो जिम्मेवार भएपनि कोरोना सङ्क्रमणको डरसँगै हाम्रा स्वास्थ्य संस्थाहरुमा कम्तीमा अत्यावश्यक सामाग्री हुनैपर्छ भन्ने चेत सम्बन्धित कार्यालय र जिम्मेवार व्यक्तिमा खुल्नुपर्छ । कठिन परिस्थितिमा पनि स्वास्थ्यकर्मीहरुले व्यक्तिगत सुरक्षाभन्दा आफ्नो कर्तव्यलाई सम्झन्छन् । त्यसैले उनीहरुको सुरक्षाको आधारभूत आवश्यकता सरकारले पूरा गर्नुपर्छ । 

अन्तिम अपडेट: जेठ १३, २०७७

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया