‘लकडाउन’मा प्रहरी र विपन्न परिवारलाई सहयोग गर्न मनकारी हातहरु बढे

 चैत १८, २०७६ मंगलबार १६:१:२६ | भावुक योगी
unn.prixa.net

बर्दिया– देश ‘लकडाउन’मा रहेको बेला दैनिक मजदुरी गरेर गुजारा  गर्ने मानिसहरुको दैनिकी कसरी चलेको होला भन्ने धेरैलाई हेक्का छैन । यस्तै अहोरात्र खटिएका प्रहरीको अवस्था पनि कम कष्टपूर्ण छैन । 

यस्तो सङ्कटको बेलामा ठाकुरबाबा नगरपालिकाका प्रहरी र अति विपन्न वर्गलाई सहयोग गर्न मनकारी हातहरु अघि सरेका छन् । ‘लकडाउन’लाई प्रभावकारी बनाउन खटिएका ठाकुरबाबा नगरपालिकाका प्रहरीलाई हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीले करिब २५ हजार रुपैयाँ बराबरको ‘ड्राइ फुड’ वितरण गरेका छन् । 

नगरपालिकाका इलाका प्रहरी कार्यालय भुरिगाउँ, प्रहरी चौकी बगनाहा, प्रहरी चौकी ठाकुरद्वारा र प्रहरी चौकी बकुवाका लागि इप्रका भुरिगाउँका प्रहरी निरीक्षक वसन्त पाण्डेलाई चाउचाउ ५ सय ७० वटा, बिस्कुट ४ सय २० वटा, पानी २ सय ६४ बोतल र नुहाउने साबुन ३६ वटा हस्तान्तरण गरिएको छ । 

सहकारीको सामाजिक दायित्वअन्र्तगत संस्थाका कर्मचारीद्धारा सहयोग स्वरुप ‘लकडाउन’का बेला खटिएका प्रहरीलाई सहयोग सामाग्री वितरण गरिएको सहकारीका प्रबन्धक गणेश थापाले जानकारी दिनुभयो । 

दिगो ट्रेडर्सका प्रोप्राइटर गोविन्द आचार्यले पनि इलाका प्रहरी कार्यालय भुरिगाउँलाई ५६ किलो कपडा धुने सर्फ हस्तान्तरण गर्नुभएको छ । 

यसैगरी नगरपालिकाका दुई व्यवसायीले अति विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेर मनकारी भावना देखाएका छन् । पेट्रोल पम्प व्यवसायी अनिलकुमार पौडेल र सुनचाँदी व्यवसायी नरेश सुनारले सोमबार ठाकुरबाबा वडा नम्बर १ का अति विपन्न १४ परिवारलाई खाद्य सामाग्री वितरण गर्नुभएको छ । प्रतिपरिवार १० किलो चामल, १ किलो दाल, १ प्याकेट तेल र १ प्याकेट नुन विपन्न परिवारलाई सहयोग गरिएको वडा अध्यक्ष श्यामलाल थारुले बताउनुभयो । 

दैनिक ज्याला मजदुरी गर्ने वर्गको समस्या भनेकै खाद्यान्नको अभाव भएकोले उनीहरुको दैनिकीमा केही सहज होस् भनेर खाद्यान्न सहयोग गरिएको व्यवसायी पौडेलले बताउनुभयो । वडाअध्यक्षले पहिचान गरेका परिवारलाई सहयोग प्रदान गरिएको उहाँको भनाइ छ । आउँदा दिनमा वडाले पहिचान गरेका थप विपन्न परिवारलाई पनि सहयोग गरिने अर्का दाता सुनारले बताउनुभयो ।

साँझबिहान हातमुख जोर्न पिरलो भइरहेको बेला यो सहयोगले आफूहरुलाई निकै राहत महसुस भएको सरस्वती बुढाले बताउनुभयो ।

त्यसैगरी ठाकुरबाबा नगरपालिका वडा नम्बर ६ का युवाहरुले बकुवामा रहेको अस्थायी प्रहरी कार्यालयलाई खाद्यान्न हस्तान्तरण गरेका छन् । 
सुरक्षा निकायलाई काम गर्न सहज होस् भन्ने उद्देश्यले युवाहरुले प्रहरीलाई ७२ बोतल पानी, १ सय ८० वटा चाउचाउ, १ दर्जन साबुन, २५ किलो चिउरा र १ बोरा चामल हस्तान्तरण गरेका हुन् ।

दिनभर सडकमा खटिने प्रहरीलाई ‘ड्युटी’ गर्न सजिलो होस् भन्ने उद्देश्यले खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको समाजसेवी बब काजी भनेर चिनिने विकास केसीले जानकारी दिनुभयो । 

यस्तै सुखाड सुतैया मध्यवर्ती सामुदायिक वन समूहका अध्यक्ष लंक अधिकारीले घरघर गएर नुहाउने साबुन र ३ सय २५ वटा मास्क वितरण गर्नुभएको छ ।

अन्तिम अपडेट: चैत ७, २०८०

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया