भारतमा एकै परिवारका ८ नेपालीले जिते कोरोनालाई

 बैशाख १३, २०७७ शनिबार १९:१३:४२ | इन्द्रसरा खड्का
unn.prixa.net

काठमाण्डौ - कोरोना भाइरसको सङ्क्रमणबाट अस्पताल भर्ना भएका एकै घरका आठ जना निको भएर घर फर्केका छन् । अछामको चौरपाटी गाउँपालिका वडा नम्बर ५ घर भई भारतको मुम्बई बस्दै आएका उनीहरु शुक्रबार साँझ अस्पतालबाट डिस्चार्ज भएका छन् ।

घर फर्केपछि परिवारका ४५ वर्षीय सदस्यले फेसबुकमा लेख्नुभयो ‘कोरोनालाई पराजित गर्दै २५ दिनपछि सपरिवार एक साथ हुँदा खुसीले गदगद भएको छु । यो खुसीको कुरा देश र विदेशमा रहनुभएका मेरा आफन्तलाई जानकारी गराउन पाउँदा म कति खुसी छु, शब्दमा भन्न सक्दिनँ । हामीले त कोरोनालाई जित्यौँ । तपाईंहरु सुरक्षित रहनुहोला ।’

श्रीमती, छोराछोरी, भाइ र भतिजासहित एकै परिवारका आठ जना मुम्बईका चार अस्पतालमा भर्ना भएका थिए । पच्चिस दिनको अस्पताल बसाइपछि फर्केका उनीहरुले कोरोनाबाट बच्न सकिन्छ भन्दै नडराउन सबैलाई आग्रह गरेका छन् ।

यसरी थाहा भयो

मार्च १८ तारिख अथवा चैत ६ गते परिवारका ४३ वर्षीय माइला भाइ बिरामी परे । सुरुमा ‘फ्याम्ली’ डाक्टरलाई देखाइयो । डाक्टरले सामान्य ज्वरो भन्दै औषधी दिए । औषधी खाँदा सञ्चो भएन । बेस्सरी टाउको दुख्ने र खोकी लाग्न थाल्यो । 

मार्च २६ तारिखको दिन उनलाई नजिकैको निजी अस्पतालमा लगियो । त्यहाँ पनि भाइरल ज्वरो भन्दै औषधी मात्रै दिइयो । सञ्चो भएन । झन् गार्हो हुँदै गयो । बिस्तारै घरका अरुलाई पनि ज्वरो आउन थाल्यो ।

मार्च ३१ तारिख दिउँसो उहाँलाई कोरोना भएको पुष्टि भयो । त्यसपछि कोरोना परीक्षणको लागि परिवारका ११ जनाको स्वाब लगियो । त्यसमध्ये ८ जनालाई कोरोना सङ्क्रमण पुष्टि भयो । त्यसपछि मुम्बईका चार अस्पतालमा आठ जना भर्ना भए ।

‘निकै आत्तिएका थियौँँ’

लमो समयदेखि भारतमा बस्दै आएको उनीहरुको परिवार मुम्बईमै व्यवसाय गरेर बसिरहेको छ । भारत सरकारले मार्च १९ तारिखबाट लकडाउन सुरु गर्यो । सबै जनाको काम बन्द भयो । घरबाहिर निस्कन बन्देज गरिएपछि सपरिवार घरमै बस्न थाले । सबै जनाले टिभी हेर्दै कोरोनाले कुन देशमा कतिको ज्यान गयो, कुन कुन देशमा फैलियो भन्नेबारे कुराकानी गरिरहन्थे ।

दिनहुँ अरुको समाचार थाहा पाइराख्ने उनीहरुले आफूहरु पनि सङ्क्रमित हुनुपर्छ भन्ने कल्पना समेत गरेका थिएनन् । कोरोना सङ्क्रमित भएको थाहा पाउँदा सुरुमा सबै जना निकै आत्तिए । परिवारमा रुवाबासी चल्यो । अस्ताल बस्दा सबै जना छटपटिन थाले । मनमा अनेकौँ कुरा चल्न थाले । सङ्क्रमणभन्दा मनको त्रासले सबै जना गल्दै गए । 

‘तीन दिनसम्म अस्पतालमा हामी सबैलाई सम्हालिन गार्हो भएको थियो । पछि बिस्तारै बानी पर्दै गयो । हामीले डर होइन, आत्मबल बढायौँ । आत्मबलले हामी पुरै परिवार निको भएर घर फिर्कियौँ,’ फेसबुक म्यासेन्जरमा कुरा गर्दै अस्पतालबाट निको भएर फर्किनुभएका एक जनाले भन्नुभयो । अस्पताल भर्ना भएको पछिल्लो दिन आफूलाई सम्हाल्न नसक्दा परिवारका सबैभन्दा जेठा ४५ वर्षीयले अस्पतालकै बेडबाट फेसबुकमा देउडा गीत पोस्ट गर्नुभयो ।

रातिका बगन्या पानी कैका लुगा धुन्छै
अरुलाई सम्झाउन्या मन आफू किन रुन्छै

‘यो गीत मैले त्यतिकै लेखेको थिइनँ । यस्तो होइन, यस्तो गर्नुपर्छ,  जीवनमा सङ्घर्ष गर्नुपर्छ, आत्तिनु हुँदैन भन्दै सधैँ अरुलाई  परिस्थितिमा जुध्न सिकाउँथे  । त्यो दिन म आफैँ डराएँ । निकै रोएँ र यो गीतको याद आयो । अनि फेसबुकमा लेखेँ,’ उहाँले भन्नुभयो ।

आत्मबल नै औषधी

कोरोना सङ्क्रमणको लागि न औषधी बनेको छ न त कुनै खोप । यसको औषधी भनेको आत्मबल हो । सुरुमा निकै आत्तिएका उनीहरु कारोनासँगको लडाइँ जितेर फर्केपछि आत्मबल बलियो बनाएर बाँचेको बताउँछन् ।

आत्मविश्वास र मनोबलले नै कोरोनालाई जितेको भन्दै उनीहरुले मनोबल बलियो पार्न सबैलाई आग्रह गर्छन् । सरकारले जनताको भलाइका लागि लकडाउन गरेको भन्दै उनीहरुले सबैलाई घरभित्रै सुरक्षित बसिदिन पनि आग्रह गर्छन् । 

‘सबै जना सचेत रहेर घरमै बस्यो भने कोरोनाबाट बच्न सकिन्छ । सङ्क्रमण भइहाल्यो भने नआत्तिएर अस्पताल जानुपर्छ । यसरी कोरोनासँग सजिलै लड्न सकिने उनीहरुको अनुभव छ ।

अन्तिम अपडेट: चैत २३, २०८०

इन्द्रसरा खड्का

इन्द्रसरा खड्का महिला अधिकार र सामाजिक विषयमा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया