'लकडाउन'का बीच यसरी बन्दैछ नारायणगढ–मुग्लिन सडकखण्डको जलबिरे पुल

 बैशाख १४, २०७७ आइतबार ९:३५:१४ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – वर्षाको समयमा काम गर्नका लागि उच्च जोखिम रहेको जलबिरे पुलको काम लकडाउनको समयमा पनि रोकिएको छैन । वर्षाअघि ढलान र तारले बाँध्ने काम सम्पन्न नभए यसअघि बनाइएका संरचनामा समेत क्षति पुग्ने भएपछि नारायणगढ–मुग्लिन सडकखण्डको जलबिरे पुलको कामलाई निरन्तरता दिइएको हो ।  

नारायणगढ–मुग्लिन सडकखण्डको पुनर्निर्माण सकिएसँगै चार वटा पुलको निर्माण कार्य सुरु गरिएको थियो । जसमध्ये दासढुङ्गा, खानी र मौरी पुलको निर्माण कार्य सकिए पनि जलबिरे पुलको भने अहिलेसम्म ६२ प्रतिशत मात्रै काम सकिएको आयोजनाले जनाएको छ । १३ करोड ९५ लाख रुपैयाँ लागत रहेको जलबिरे पुल ८० मिटर लम्बाइ र ११ मिटर चौडाइको हुने छ ।

पुलमा अहिले ढलानका लागि सेन्टिङ् र रड बाँध्ने काम भइरहेको छ । पुल निर्माणको ६२ प्रतिशत काम पूरा भएको जानकारी दिँदै मुग्लिन–नारायणगढ सडक आयोजनाका इञ्जिनियर शिव खनालले नियमित काम गर्न सकिएमा वैशाख महिनाभित्रमा ढलान गर्न सक्ने गरी काम भइरहेको जानकारी दिनुभयो । 

लकडाउनका कारण मजदुर थप्न नसकिए पनि पहिलेदेखि नै काम गर्दै आएका मजदुरलाई क्वरेण्टीनमा राखेर काम गराइएको जानकारी दिँदै १५ जना मजदुरले अहिले नियमित काम गरिरहेको खनालले बताउनुभयो । 

सन् २०१७ डिसेम्बरबाट निर्माण सुरु गरिएको पुल सम्झौता भएको २१ महिनामा निर्माण सकिनुपर्ने हो तर निर्माणका क्रममा पटक पटक डिजाइन परिवर्तन गर्नुपर्दा ढिलाइ भएको थियो । पुल निर्माण गर्ने स्थान कठिन ठाँउ भएकाले काम गर्दै डिजाइन परिवर्तन गर्दै गर्नुपरेको खनालले जानकारी दिनुभयो ।

नयाँ प्रविधि अनुसार पुलको काम भइरहेको छ । खनालका अनुसार ढलानसँगै सो पुलको बिममा तारले कस्नुपर्ने हुन्छ । वर्षाअघि यति गरेमा अहिलेसम्म भएको काम सुरक्षित हुने खनालको भनाइ छ ।

गएको पाँच वर्षयता नेपालका ४० मिटरभन्दा लामो पुलमा तारले बिमहरुमा कस्ने गरी डिजाईन गरेर काम हुँदै आएको छ । यसको लागि तार भारतको कोलकताबाट ल्याउनुपर्ने हुन्छ ।

नारायगढ–मुग्लिन सडक फराकिलो बनाइएको भए पनि त्यहाँ रहेका १९ वटा पुल साँघुरा थिए । सडक ९ मिटरदेखि ११ मिटरसम्म फराकिलो बनाइएको छ । पुल भने ५ देखि ६ मिटरसम्म मात्र फराकिलो रहेका छन् । 

जलबरिे मन्दिरसँगै जोडेर बनाइएको यो पुल निर्माण सम्पन्न भएपछि नारायणगढ–मुग्लिन सडकको दुरी तीन सय मिटर घट्ने छ । अहिले यो सडक ३६ किलोमिटर दुरीको छ । राजधानी काठमाण्डौ प्रवेश र बाहिरिने प्रमुख सडक भएकाले यो सडकमा सवारी चाप उच्च रहने गर्दछ । 

अन्तिम अपडेट: चैत १४, २०८०

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया