चीनको वुहानमा कोरोना सङ्क्रमित शून्य

 बैशाख १५, २०७७ सोमबार ६:१३:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

चीनको वुहान शहरमा पहिलो पटक कोरोना सङ्क्रमित शून्यमा झरेको छ ।

गएको डिसेम्बर अन्तिममा पहिलोपटक वुहानमा कोरोना सङ्क्रमण देखिएको थियो । शुक्रबार अस्पतालमा रहेका ११ जना कोरोना सङ्क्रमित डिस्चार्ज गरेपछि एक जना पनि नयाँ बिरामी नथपिएका चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेगले बताउनुभएको छ । यो सबै स्वास्थ्यकर्मीको मिहेनतले सम्भव भएको उहाँले बताउनुभएको चीनको सरकारी समाचार संस्था सिन्हवाले जनाएको छ ।

वुहानमा कोरोना सङ्क्रमण फैलिएपछि ७६ दिनसम्म लकडाउन गरिएको थियो । चीनमा अहिलेसम्म ८२ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा ५० हजारभन्दा धेरै वुहानका मात्र रहेका पनि खबरमा उल्लेख छ । चीनमा अहिलेसम्म साढे ४ हजारभन्दा धेरैको ज्यान गएको छ ।

चीनको वुहानबाट फैलिएको कोरोनाको सङ्क्रमणका कारण अहिले विश्वभरी साढे २९ लाख भन्दा धेरैमा कोरोना पुष्टि भएको छ । जसमध्ये ८ लाख ७७ हजारभन्दा धेरै निको भएका छन् । १९ लाख भन्दा धेरैको उपचार चलिरहेको छ । उपचार गराईरहेका मध्ये ५७ हजार ५ सय ९१ जना अर्थात ३ प्रतिशतको अवस्था जटिल रहेको र बाँकी अरुको अवस्था सामान्य रहेको वल्डओमिटले जनाएको छ ।

२ लाख ६ हजारभन्दा धेरैको भने ज्यान गएको छ । सबैभन्दा धेरै अमेरिकामा ९ लाख ८६ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा ५५ हजारभन्दा धेरैको ज्यान गएको छ । यस्तै गएको २४ घण्टामा इटालीमा यो महिनाकै कम २ सय ६० जनाको ज्यान गएको छ । त्यहाँ ज्यान गुमाउनेको संख्या साढे २६ हजार नाघेको छ ।

यसैगरी स्पेनमा २३ हजारभन्दा धेरै, फ्रान्समा साढे २२ हजारभन्दा धेरै र बेलायतमा साढे २० हजारभन्दा धेरैको ज्यान गएको छ । भारतमा पनि सङ्क्रमितको संख्या बढ्दो छ । भारतमा अहिलेसम्म साढे २७ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएकोमा साढे ८ सय भन्दा धेरैको ज्यान गैसकेको छ ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया