सुर्खेत र नेपालगञ्जमा अलपत्र परेका हुम्लीको हवाई मार्गबाट उद्धार

जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र विद्यार्थीलाई ५० प्रतिशत छुट

 बैशाख २०, २०७७ शनिबार १३:५८:८ | मुना हमाल
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेश सरकारको पहलमा सुर्खेत र नेपालगञ्जमा अलपत्र परेका हुम्लाका नागरिकलाई हवाई मार्गबाट उद्धार गर्न थालिएको छ । राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्लामा उनीहरुलाई हवाई मार्गबाट उद्धार गर्न थालिएको हो ।

हुम्लाबाट सुर्खेत र नेपालगञ्जमा पढ्न, उपचार गर्नलगायत विभिन्न कामले आएका नागरिकलाई शनिबारदेखि प्रदेश सरकारको पहलमा जिल्ला पुर्‍याउने व्यवस्था गरिएकाे हो ।  

खान र बस्न समस्या भएर अलपत्र परेकाहरुले उद्धार गर्न आग्रह गरेपछि पहल गरिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्द सिंह बुढाले बताउनुभयो । हवाई भाडा भने नागरिक आफैले तिरेको र प्रदेश सरकारले एयरलाइन्सहरुसँग समन्वय गरेर जेष्ठ नागरिक, पूर्ण अपाङ्गता भएका व्यक्ति र विद्यार्थीहरुलाई ५० प्रतिशत छुट दिइने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । शनिबार बिहान मुख्यमन्त्रीसहितसँग यस विषयमा छलफल गरेर निर्णय लिइएको मन्त्री बुढाले उल्लेख गर्नुभयो । 

सुर्खेत विमानस्थलबाट मात्रै शनिबार बिहान ५० जनालाई हुम्ला पुर्‍याइएको छ । हुम्लामा उद्धार गरेर पठाइएका व्यक्तिहरुलाई सम्बन्धित पालिकासँग क्वरेण्टीनमा राख्नका लागि समन्वय भएको सामजिक विकास मन्त्री दल रावलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अनिवार्य क्वरेण्टीनमा बस्नुपर्छ । यहाँबाट उद्धार गरेर पठाइएका सबैलाई अनिवार्य रुपमा क्वरेण्टीनमा राख्न सम्बन्धित पालिकालाई भनेका छौँ । १४ दिनसम्म क्वरेण्टीनमा राखेपछि कोरोना परीक्षणपछि मात्र घर पठाउने व्यवस्था हुन्छ ।’ 

अन्तिम अपडेट: चैत २३, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया