असोज महिनामा झण्डै साढे तीन अर्ब रूपैयाँ बराबरको विदेशी लगा...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डौ - सरकार–सरकार साझेदारी अर्थात जीटुजी सम्झौतामार्फत चीनबाट आउने औषधीको लागि नेपाल एअरलाइन्सका दुईवटा वाइडबडी जहाज बुकिङ भएका छन् ।
नेपाली सेनाले चीनबाट अत्यावश्यक औषधी जहाजबाट र अरु स्थलमार्ग हुँदै ल्याउनको लागि फ्ल्यास फ्रेट लजिस्टिक कम्पनीसँग ढुवानी सम्झौता गरिसकेको छ ।
सुरुमा अप्रिल ५ तारिख अर्थात मंगलबार नेपाल एअरलाइन्सका जहाज चीन जाने तय भएपनि अप्रिल ६ तारिखसम्म चीनमा सार्वजनिक विदा भएकाले औषधी जम्मा हुन नसक्ने भएपछि ६ तारिखमा उडान नहुने भएको छ ।
‘६ तारिखदेखि विभिन्न सहरमा छरिएका सामान जम्मा गरेर ग्वान्झाउ विमानस्थलमा ल्याउन सुरु हुनेछ, त्यसपछि कस्टम क्लियर गर्न ७२ घन्टा लाग्नेछ, उताको सबै कुरा तयार भएपछि यताबाट जहाज जानेछ’, सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले उज्यालोसँग भन्नुभयो ।
झण्डै ४ करोडमा जहाजमार्फत सामान ल्याउने, झण्डै ३ करोडमा स्थलमार्गबाट ढुवानी
नेपाली सेनाले १ करोड ८४ लाख ४१ हजार डलर अर्थात झण्डै २ अर्ब २५ करोड रुपैयाँको ३ सय ४२ टन औषधी र उपकरण ल्याउन चीनको चाइना सिनोफार्म इन्टरनेसनल कर्पोरेसनसँग सम्झौता गरिसकेको छ ।
केहि अत्यावश्यक औषधी र उपकरण तथा केही कोरोना सङ्क्रमण बढ्दै जाँदा चाहिने छन् । सेनाले अत्यावश्यक औषधी जहाजमार्फत आउने र अरु स्थलमार्ग हुँदै आउने जानकारी दिएको छ । यसको लागि फ्ल्यास फ्रेट लजिस्टिक कम्पनी ढुवानीकर्ताको रुपमा छनौट भइसकेको छ ।
सेनाले हवाइमार्गमार्फत सामग्री ल्याउन २ लाख ७२ हजार डलरमा फ्ल्यास फ्रेट कम्पनीसँग सम्झौता गरेको छ । यसलाई नेपालीमा रुपान्तरण गर्दा ४ करोड ४६ लाख रुपैयाँ हुन आउँछ । यहि रकमबाट फ्ल्यास फ्रेटले चीनमा सामान जम्मा गर्नेदेखि वाइडबडी जहाज चार्टड गर्ने र लोड अनलोडको काम गर्नेछ
यस्तै स्थलमार्गमार्फत औषधी र उपकरण ल्याउने जिम्मा पनि फ्ल्यास फ्रेट लजिस्टिकले नै पाएको छ । यसको लागि २ करोड ८६ लाख रुपैयाँमा सम्झौता भएको छ ।
ग्वान्झाउमा एअर ट्राफिक जाम, क्यानडाका दुई वटा जहाज रित्तै फर्किए
९० भन्दा धेरै देशले कोरोना भाइरससँग लड्नको लागि चीनसँग औषधी तथा उपकरणको अर्डर गरेका छन् । दैनिक हजारभन्दा धेरै जहाजले चीनका विभिन्न सहरबाट औषधी र उपकरण ओसारिरहेका चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।
कैयौं देशले एकैपटक सामान अर्डर गरेकाले ग्वान्झाउ र संघाइमा हवाइ जाम हुने गरेको छ । अघिल्लो हप्ता मात्रै क्यानडाले औषधी र उपकरण ल्याउन संघाइ पठाएका दुई वटा कार्गो जहाज रित्तै फर्किएका छन् ।
एउटा क्यानडाको संघीय सरकारले अर्को जहाज प्रान्तिय सरकारले चीन पठाएकोमा हवाई जामका कारण दुईवटै कार्गो जहाज रित्तै क्यानडा फिर्ता भएको द ग्लोवियन डि मेल ले जनाएको छ ।
नेपाल एअरलाइन्सले पनि सुरुमा मे ६ तारिखमा ग्वान्झाउमा जाने तालिका बनाएर त्यहाँको विमानस्थलसँग अनुमती मागिसकेको थियो । तर ६ तारिखमा औषधी र उपकरण जम्मा गरेर ल्याउन नसकेपछि ६ तारिखको उडान स्थगित भएको छ । अर्को उडानको अनुमति पाउन लामो समय लाग्न सक्ने र द्रूत पहलको जरुरी रहेको सेनाले जनाएको छ ।
‘हामीले सेनाको तर्फबाट गर्नुपर्ने पहल जारी राख्नेछौं, तर यो बेला चीनका विमानस्थलमा अत्याधिक चाप भएकाले हामीले भनेकै समयमा अनुमति पाउन मुश्किल हुने कुरा एअरलाइन्सले पनि भनेको छ ’,प्रवक्ता पाण्डेले भन्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।