अस्पतालको ओपीडी चाँडै खुल्छ : महानिर्देशक श्रेष्ठ

 बैशाख २४, २०७७ बुधबार ८:४७:४८ | भाेजेन्द्र बस्नेत
unn.prixa.net

काठमाण्डौ – सधैँजसो भिडभाड भइरहने अस्पतालहरु हिजोआज सुनसान जस्तै छन् । अस्पतालमा भिड कम हुनु राम्रो कुरा पनि हो । तर अस्पताल पुग्न नसकेर वा अस्पतालले सेवा नदिएर भिड कम हुनु भने समस्या हो । अहिले अस्पतालहरुमा नियमित बिरामी जाँच गर्ने बहिरङ्ग सेवा (ओपीडी) बन्द छ भने लकडाउनको कारण अस्पताल पुग्न पनि सजिलो छैन ।

लकडाउनको कारण एम्बुलेन्स नपाउँदा बिरामीलाई गाडामा राखेर अस्पताल लैजाँदै गरेको दृश्य तथा नियमित खाइरहेको मुटुरोगको औषधि खान नपाएर ज्यान गएको जस्ता खबरहरु पनि आइरहेका छन् । एकातिर अस्पताल पुग्नै समस्या छ भने पुगिहालेमा सजिलै उपचार पाउने अवस्था पनि छैन । 

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठ भने अस्पतालबाट अत्यावश्यक सेवा सञ्चालन भइरहेकोले आवश्यक परेमा अस्पताल जान तथा नियमित औषधि प्रयोग गरिरहेकाले डाक्टरहरुसँग फोनबाट जानकारी लिएर औषधि थप्न सुझाव दिनुहुन्छ । सबै अस्पतालहरुमा आपत्कालीन सेवा सञ्चालनमा रहेकोले आवश्यक पर्दा आपत्कालीन सुविधाबाटै सेवा लिन सकिने महानिर्देशक श्रेष्ठले बताउनुभयो । 

सबै अस्पतालले बिरामी जाँच्नुपर्छ 

केही सरकारी अस्पताललाई कोरोना परीक्षण तथा उपचारका लागि छुट्याएकोले तीबाहेकका अस्पातलमा अरु रोगका बिरामी जान सक्ने महानिर्देशक श्रेष्ठ बताउनुहुन्छ । महामारीको अवस्थामा अरु रोगका कारण मानिसको स्वास्थ्य जोखिममा नपरोस् भनेर निजी अस्पातलमा समेत सरकारी अस्पतालकै शुल्कमा सेवाहरु सञ्चालन गर्न सहमति भएकोले पायक पर्ने अस्पतालबाट सेवा लिन सकिने श्रेष्ठको भनाइ छ । यदि कुनै अस्पतालले बिरामी जाँच्न नमानेमा वा सरकारी शुल्कभन्दा धेरै पैसा लिएमा मन्त्रालय वा प्रहरीमा खबर गर्न पनि महानिर्देशक श्रेष्ठले आग्रह गर्नुभएको छ । 

खोप, मातृत्व तथा परिवार नियोजनका सेवाहरु यथावत् 

नियमित गर्भपरीक्षण तथा प्रसूति सेवा कतै पनि नरोकिएको महानिर्देशक श्रेष्ठले बताउनुभयो । ‘यी सेवा अत्यावश्यक हुन्, त्यसैले कतै पनि रोकिएको छैन, यदि कुनै स्वास्थ्य संस्थाले यस्ता सेवा रोकेको भए मन्त्रालय वा प्रहरीलाई खबर गर्न सकिन्छ, यस्ता सेवाहरु सरकारी तथा निजी अस्पतालहरुमा यसअघि जस्तै सञ्चालन भइरहेका छन्’, श्रेष्ठले भन्नुभयो । 

मातृत्व जस्तै खोप सेवा पनि नियमित गर्न थालिएको श्रेष्ठले बताउनुभयो । केही समय खोप रोकिँदा विभिन्न रोगको सङ्क्रमण बढेपछि अहिले देशैभरि खोप सेवा सुरु गरिसकिएको उहाँले बताउनुभयो । खोप सेवा रोकिएपछि एक सय ६८ जना बालबालिकामा दादुरा देखिएकोले अहिले सात वटै प्रदेशमार्फत खोप सेवा सुरु गर्न व्यवस्था मिलाइसकिएकोले कतै सुरु नभएमा जानकारी गराउन भन्दै पालिकाहरुले तत्काल सुरु गर्नुपर्ने उहाँले बताउनुभयो । 

यस्तै परिवार नियोजनका सेवाहरु पनि यसअघि जस्तै यथावत् रहेको उहाँले बताउनुभयो । सबै स्वास्थ्य संस्थामार्फत परिवार नियोजनका अस्थायी साधनहरु यसअघिको जस्तै गरी उपलब्ध गराइरहेकोले त्यसको प्रयोग गर्न श्रेष्ठको सुझाव छ । 

परैबाट हैन, आवश्यक जाँच र उपचार हुन्छ

कतिपय बिरामीले स्वास्थ्यकर्मीहरुले परैबाट हेरेर अनुमानका भरमा औषधि दिइरहेको गुनासो गरेका छन् । तर महानिर्देशक श्रेष्ठ भने आवश्यकता अनुसार जाँच गराउन सुझाव दिनुहुन्छ । यसअघि औषधि खाइरहेका दीर्घरोगीको हकमा डाक्टरको सल्लाहामा केही समय औषधि थप्न सकिए पनि कुनै किसिमको असहज महसुस भएमा परीक्षण गराउनुपर्ने उहाँले बताउनुभयो । त्यस्ता दीर्घरोगी वा नयाँ बिरामीहरुले अस्पातलमा सञ्चालनमा रहेको आकास्मिक सेवामार्फत जाँच तथा उपचार गराउन सक्ने उहाँको भनाइ छ । 

ओपीडी चाँडै सुरु हुने 

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले अस्पतालहरुमा नियमित बिरामी परीक्षण गर्ने ओपीडी सेवा चाँडै सुरु हुने बताउनुभएको छ । कोरोनाको डरसँगै अरु रोगका बिरामीहरुले उपचार पाउन नसक्ने अवस्था रोक्न चाँडै ओपीडी सेवा फेरि सुरु गर्न लागिएको श्रेष्ठले बताउनुभयो । लकडाउनको कारण सामान्य परीक्षण तथा रोग छ कि छैन भनेर गरिने परीक्षणहरु कटौती भएको भए पनि अत्यावश्यक हुने सबै स्वास्थ्य सेवा सञ्चालनमा रहेको र कुनै अस्पतालले सेवा नदिएको भएमा प्रहरी वा स्वास्थ्य सेवा विभागमा खबर गरेमा त्यस्ता अस्पतालहरुलाई कारवाही गर्ने उहाँले बताउनुभयो । 

अस्पतालसम्म कसरी पुग्ने ? 

धेरैको गुनासो छ गाडी चल्दैन, अस्पतालसम्म कसरी पुग्ने ? अनि पास नभएको कारण गाडी चलाउन नपाएको गुनासो पनि आइरहेको छ । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्मा लकडाउनको बेला बिरामीहरुलाई नरोकिएको बताउनुहुन्छ । कोरोना शङ्का लागेका बिरामीको आवत जावतको व्यवस्था सरकारले नै गर्ने र अरु रोगका बिरामीले एम्बुलेन्स, अरु गाडी तथा मोटरसाइकलहरु प्रयोग गर्न सक्ने उहाँले बताउनुभयो । बिरामीको नाममा अरुको आवागमन रोक्न पहल भएको भए पनि साँच्चै बिरामी परेकाहरुलाई अस्पताल पुग्न समस्या भएमा नजिकको प्रहरीमा खबर गरेमा त्यहाँबाट सहयोग पाउने व्यवस्था गरेको प्रवक्ता शर्माले बताउनुभयो । 

अस्पतालमा सेवा तथा आवत जावतमा सहजताको लागि काम भइरहेको सरकारी अधिकारीहरुले बताए पनि धेरै बिरामी अस्पताल पुग्नै नपाएको र अस्पताल पुगे पनि उपचार नपाएको गुनासो गरिरहेका छन् । ज्वरोलगायत कोरोनाको सङ्क्रमणसँग मिल्ने लक्षण भएका बिरामीहरुले धेरै सास्ती पाउने गरेको बताएका छन् भने अरु अत्यावश्यक तथा नियमित स्वास्थ्य सेवा पनि नपाइरहेको गुनासो बढिरहेको छ । यदि अत्यावश्यक सेवा नपाएको भएमा नजिकको प्रहरी तथा पालिकाका जनप्रतिनिधिमार्फत जानकारी गराएर सेवा लिन सरकारको आग्रह छ ।  

अन्तिम अपडेट: फागुन ३०, २०८०

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया