मध्यपूर्वको द्वन्द्वले दीर्घकालसम्म असर पार्ने अन्तर्राष्ट्रिय मुद्रा ...
कात्तिक १६, २०८१ शुक्रबार
दाङ - दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १ तेर्छेगाउँमा बँदेल र बाँदरले अन्नबाली खान थालेपछि खेती गर्न छोडिएको थियो । चारैतिरबाट जङ्गलले घेरेको पहाडी भिरालो बस्तीका अधिकांश मानिस आफ्नो जीवन यापनका लागि तराई झरेका छन् । सुरुमा तेर्छेगाउँमा २० घरपरिवारभन्दा धेरैको बस्ती थियो । उनीहरुले आफूलाई चाहिने अन्नपातका लागि खेतीपाती गर्दथे । तर बँदेल र बाँदरजस्ता जङ्गली जनावरले रातिराति आएर अन्नबाली खाइदिएपछि गाउँलेहरुले खेती गर्न छोड्दै गए ।
१० बिगाहा बाँझो
यस गाउँका अधिकांश युवा रोजगारीका लागि भारत र अन्य देश जाने र कमाएको पैसाले परिवार पाल्ने गर्दछन् । यस्तै बचेको पैसाले तराईमा घरघडेरी समेत जोडेका छन् । जसको कारण यस गाउँका आधाभन्दा धेरैको बसोबास रामपुर, साहीपुर, कालिमाटी र वरपरको तराईका गाउँ हुने गरेको छ । त्यसैले तेर्छेगाउँमा उनीहरुको जग्गा बाँझै थियो । तर बाँझो जग्गामा अहिले बेसार, अदुवा र पिँडालु खेती सुरु गरिएको छ ।
स्थानीय टेकन भण्डारी र वसन्त भण्डारीले खेती गर्न छाडिएका करिब ५ बिगाहा जग्गामा बेसार, पिँडालु र अदुवा खेती गर्नुभएको छ । ‘यो वर्ष पाँच बिगाहामा खेती गरेका छौँ,’ टेकन भण्डारीले भन्नुभयो, ‘आउँदो वर्षमा हामीले गाउँका कुनै पनि जग्गा बाँझो राख्ने छैनौँ ।’ तेर्छेगाउँमा अहिले मात्र ८ घरपरिवारको बसोबास छ । यहाँ करिब १० बिगाहा जग्गा बाँझो छ ।
नेपालमा अहिले लकडाउन छ । भारतमा लकडाउन सुरु हुन थालेपछि रोजगारीको क्रममा त्यहाँ रहेका युवाहरु गएको चैत महिनामा घर फर्किएका छन् । लकडाउन कहिलेसम्म रहन्छ भन्ने अन्यौल एकातिर छँदैछ । अर्कोतिर लकडाउन सकिएपछि भारतमा तत्कालै नयाँ वा पुरानै रोजगारी पाइन्छ भन्नेमा गाउँ फर्केका युवाहरु आश्वस्त छैनन् । ‘लकडाउन कहिले सकिने हो थाहा छैन । सकिएपछि तत्काल भारत जाने अवस्था पनि छैन,’ त्यस गाउँका सचिन खत्रीले भन्नुभयो, ‘अब गाउँमा गोठ बनाउने हो । व्यवसायिक बाख्रा पालन गर्ने हो ।’
सिस्नोको व्यापार
भारतबाट फर्केका युवासहित १५ जनालाई दैनिक खाना र ६ सय रुपैयाँ पारिश्रमिक दिएर अदुवा, बेसार र पिँडालु खेतीमा काममा लगाइएको टेकन भण्डारीले बताउनुभयो । यस वर्ष भण्डारीले ६ क्विन्टल बेसार खेती गरिसक्नुभएको छ । गाउँमा व्यवसायिक रुपमा अदुवा, बेसार र पिँडालु खेती गर्ने योजना रहेको भण्डारीले बताउनुभयो ।
मिहिनेत गरियो भने भारतमा कमाएजति यहीँ पनि कमाउन सकिने स्थानीय युवाहरुको विश्वास छ । युवाहरुले सिस्नोको सागलाई जम्मा गरेर सिस्नोको धुलो समेत बनाइरहेका छन् । बजारमा सिस्नोको धुलोको माग धेरै रहेको सुनेपछि आफूहरुले सिस्नो सङ्कलन गरेर धुलो बनाउने काम थालेको भण्डारीले बताउनुभयो ।
बजारीकरण सहकारीले गर्ने
तेर्छेगाउँमा उत्पादन हुने अर्गानिक अदुवा, बेसार, पिँडालु र सिस्नोको धुलोको बजारीकरण गर्न घोराहीमा रहेको सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्थाले सहयोग गर्ने भएको छ । सहकारी संस्थाले सञ्चालन गर्न लागेको सहकारी सहुलियत बजारमार्फत अदुवा, बेसार, पिँडालु र सिस्नोको धुलो उपभोक्ताहरुसम्म पुर्याउने योजनामा रहेको संस्थाका अध्यक्ष ध्रुवराज पौडेलले बताउनुभयो ।
प्रदेश नम्बर ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको ५० प्रतिशत अनुदान र सहकारी संस्थाको ५० प्रतिशत लागतमा सञ्चालन गर्न लागिएको सहकारी बजारमा तेर्छेगाउँमा उत्पादन हुने कृषि उपव बेचबिखन हुने अध्यक्ष पौडेलको भनाइ छ ।
प्रदेशको मन्त्रालय र सहकारी संस्थाबीच सम्झौता भएर सहुलियत बजारका लागि आवश्यक काम भइरहेको संस्थाले जनाएको छ । सर्वोत्तम सहकारी संस्थाको कार्यक्षेत्र जिल्लाभर रहेको छ । त्यसैले सहकारी संस्थाले सम्पूर्ण दैनिक उपभोग्य सामानहरु एउटै छानामुनि सहुलियत दरमा उपलबध गराउने योजनाअनुसार काम गरिरहेको अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।
शाेबलाल पुरी
May 11, 2020, 7:36 p.m.देशमा जाेस,जाँगर,ईमानदार ,लगनशीलता साथ मेहनत गरेमा पक्कै पनि सुन फलाउन सकिन्छ अनि अात्म निर्भर अर्थतन्त्र मार्फत समाजवादकाे लक्ष्य पूरा गर्न सकिन्छ ।