अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
भक्तपुर – भक्तपुरको सानोठिमीमा बस्दै आउनुभएका सुवास ढकाल इपिएस प्रक्रियाबाट कोरिया गएको चारवर्ष १० महिना पुग्यो । प्रवेशाज्ञा (भिसा) सकिएर अहिले कोरियामा उहाँजस्ता सयौँ मजदुर समस्यामा छन् ।
विश्वभर फैलिएको कोभिड–१९ को सङ्क्रमणले यतिखेर रोजगारी, अध्ययन र विभिन्न पेशा, व्यवसाय गर्न पुगेका कोरियादेखि खाडीदेशसम्मका नेपाली सरकारले कहिले नेपाल फर्काउला भन्ने आशामा छन् ।
काभ्रेमण्डन देउपुर घर भई लामो समय सानोठिमी क्याम्पसका विद्यार्थी नेतासमेत रहेका ढकाल यतिखेर कोरियामा अलपत्र परेका नेपालीको उद्धार गरिदिन सरकारलाई आग्रह गर्नुहुन्छ । भिसा सकिएका नेपाली घर फर्कन पाउने आशामा बसेका छन् । सरकारले यहाँका पीडित नेपालीको उद्धार गरिदेला भनेर दूतावास धाउँदा हैरान भइसकेको बताउनुहुन्छ ।
ढकालका अनुसार यहाँ खान बस्न मासिक पाँच लाख वन अर्थात ५० हजार रुपैयाँ खर्च हुन्छ, वैधानिकरुपमा बसेका विदेशीले कोरिया सरकारलाई अनिवार्यरुपमा मासिक एक लाख १३ हजार वन १२ हजार रुपैयाँ तिर्नुपर्छ । कोरियाबाट ढकाल भन्नुहुन्छ, ‘नेपाल जाने अत्तोपत्तो छैन, दुतावासमा सोध्दा कर्मचारीले समाचार हेर्दै गर्नुस् भन्छन््, हामीले कमाएको पैसा कोरियामै सकिने भो, हामी हाम्रै खर्चमा फर्कन्छौँ, सरकार बिन्ती छ, हामीलाई नेपाल फर्काइदेऊ ।’
सरकारले उद्धार गरिदिए कोरियामा सक्ने पैसा नेपालमै खर्च गर्न तयार रहेको बताउँदै ढकाल भन्नुहुन्छ, ‘सरकारले भिसा सकेर विदेशी भूमिमा अलपत्र परेकालाई तत्काल उद्धार गरे पुग्छ, उद्धारमा लाग्ने विमान चार्टर खर्च, नेपाल आएपछि क्वारेन्टाइनमा बस्न लाग्ने खर्च, होटलमा क्वारेन्टाइन बनाएर राखे, त्यसको खर्च सबै हामी आफैँ व्यहोर्र्छौं, सरकारलाई व्ययभार पार्दैर्नौं, विदेशमा कमाएको पैसा विदेशमै सक्नुभन्दा नेपालमै खर्च गरौँला, मात्रै सरकारले नेपालीलाई विमानस्थलमा ओर्लिने अनुमति दिए पुग्छ ।’
अन्तर्राष्ट्रिय कानूनअनुसार पनि नागरिक आफ्नो देश फर्कन पाउने नैसर्गिक अधिकार हो । कतारबाट नेपाल फर्कने आशामा बसेका सन्तोषी कार्की भन्नुहुन्छ, ‘नेपालबाट सबै देशले आफ्ना नागरिकको उद्धार गरेर लगिसक्यो, हाम्रो देशले फर्काउनु पर्दैन ? हाम्रो पीडा कहिले बुझ्छौ सरकार ?’ अहिले अमेरिका, जापान, अस्ट्रेलिया, बेलायत, क्यानडा, मलेसिया, कतार, युएई, साउदी अरेबिया तथा अमेरिका, युरोप खाडीका देशमा रहेका लाखौँ नेपाली देश फर्कन आतुर छन् ।
गएको ११ वर्षदेखि अमेरिकाको टेक्सस्मा छोराबुहारीको आग्रहमा तीन महिना अमेरिका घुम्न गएका काठमाडौँ चाबहिलका ५२ वर्षीय विष्णुप्रसाद न्यौपाने दम्पत्ती अलपत्र हुनुहुन्छ । न्यौपाने भन्नुहुन्छ, ‘छोराबुहारीका करले अमेरिका घुम्न आइहालियो, अहिले यतै फस्याँै, म मुटुको रोगी, श्रीमतीलाई सुगरको समस्या छ, तीन महिना घुम्न आउँदा यतै मरिन्छ कि भन्ने डर भो, अब त छोराबुहारी पनि नेपाल फर्कन चाहन्छन्, तर कसरी घर पुग्ने खोई ?’
गएको १७ वर्षदेखि बाल्टिमोरमा बस्दै आएका छोराबुहारीसँग विगत पाँचवर्षदेखि ६ महिना अमेरिका र ६ महिना नेपाल बस्दै आउनुभएका ५७ वर्षीय सुदर्शन बस्नेत दम्पत्ती यतिखेर छुट्टिएर बस्नुपरेको छ ।
छोराबुहारीको आग्रहमा अमेरिकाको नागरिकता लिएर हरेक वर्ष ६ महिना नेपाल र ६ महिना अमेरिका बस्ने बस्नेत अहिले उतै हुनुहुन्छ । श्रीमती सुभद्रा एक्लै अहिले सूर्यविनायकस्थित नयाँबस्तीको घरमा हुनुहुन्छ ।
नेपालमा एक आफन्तको छोरीको विवाहका लागि दुई महिनाअघि नेपाल आएकी सुभद्रा भन्नुहुन्छ, ‘अमेरिकाबाट नेपाल हामीसँगै आउने जाने गथ्र्यौं, विवाहमा आउनैपर्ने भएपछि म छिटो आएँ, कोरोनाले अकस्मात् लकडाउन हुँदा उहाँ अमेरिकामै पर्नुभयो, दुई छोरा बुहारी र श्रीमान् अमेरिकामा, म एक्लै यता, चिन्ताको डढेलोले सक्ला जस्तो भयो ।’ उहाँ पनि अलपत्र नेपालीलाई फर्काउने व्यवस्था गरिदिन नेपाल सरकारलाई आग्रह गर्नुहुन्छ ।
अमेरिकामा कोरोना भाइरसको सङ्क्रमण दिनानुदिन बढ्दै जानु, दिनानुदिन बेरोजगार बढ्दै जानु र अमेरिकाले समेत विदेशीलाई आफ्नो देश फर्कन आह्वान गरिसकेकाले सरकारले तत्काल नेपाल फर्काउने व्यवस्था गर्नुपर्ने अमेरिकाको मेरिल्याण्डमा नर्सिङ पढ्दै गरेकी सुजाता पाण्डे बताउनुहुन्छ ।
पाण्डे विद्यार्थीलाई थप समस्या भएको बताउनुहुन्छ । एकातिर काम नपाउनु र अर्कोतर्फ पढाइ नहुनुको पीडाले गर्दा कोरोनाले भन्दा भोक र शोकले यतै मरियला भन्ने डर भएको गुनासो गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘दिनदिनै आमाबुबा रुँदै फोन गर्नुहुन्छ, विदेशमा रहेका नेपालीले पठाएको रेमिट्यान्स भित्र्याउँदा मख्ख पर्ने सरकार यतिखेर विदेशमा आफ्ना नागरिक समस्यामा पर्दा किन बेवास्ता गर्छ ? सरकार हामीलाई हाम्रो देश आउन देऊ ।’
सबभन्दा धेरै समस्या त भ्रमण भिसा र सेमिनारमा जानेहरुलाई परेको उनीहरु बताउँछन् । अमेरिकामा रहेका नेपालीले दूतावासमा दैनिक सम्पर्क गर्ने गरेका छन् । तर दूतावासले सरकारले निर्णय नगरेसम्म केही गर्न नसकिने जवाफ फर्काउने गरेको बताउँछन् । त्यहाँका नेपालीले गैरआवासीय नेपाली सङ्घसमेत गुहारेका छन् । सङ्घले दूतावासदेखि सरकारसमेतलाई दबाब दिइरहेको छ ।
यता लण्डनमा विगत १४ वर्षदेखि बस्दै आउनुभएका काठमाडौँको बानेश्वर, शान्तिनगरका शमशेर शर्माको परिवार नेपाल फर्कन आतुर छ । नेपालमा कम्प्युटर इन्जिनीयर र श्रीमतीको विद्युत प्राधिकरणको जागिर छाडेर लण्डन पुगेका उनीहरु यतिखेर भने देश सम्झिरहेका छन् । विशेषगरी बेलायतमा अध्ययनका लागि जानेहरु अहिले जटिल समस्यामा परिरहेको बताउँदै शर्माले लामो समयदेखि बेलायमा बस्दै आएका नेपालीहरु आफ्नै खर्चमा पनि नेपाल फर्कन आतुर रहेको बताउनुहुन्छ ।
अष्ट्रेलियामा एक वर्ष अगाडि अध्ययनका लागि गएका भक्तपुरको सूर्यविनायक नगरपालिका–४ का सुसन अधिकारी अहिले धेरै नेपाली बिचल्लीमा परेको बताउनुहुन्छ । अष्ट्रेलियामा एनआरएनले केही सहयोग गरे पनि बाँच्न निकै कठिन भएको उहाँ बताउनुहुन्छ ।
अधिकारी भन्नुहुन्छ, ‘कलेज बन्द छ, काम छैन, कोठाभित्रै बसेर कसरी बाँच्नु, यहाँ आउँदा ऋणको भारी बाबुआमाले बोकिरहेका छन्, घरबाट पैसा पठाइदेऊ भन्ने अवस्था पनि छैन, यहाँको सरकारले पनि आफ्नो देश फर्किन भनिसकेको छ, सरकारले घर फर्कने व्यवस्था गरिदिए बाँचिन्थ्यो कि भन्ने आशा छ ।’
खाडीका देशमा रहेका नेपालीको पीडा त्योभन्दा पनि बढी छ । ‘खाडी देशबाट भित्रिएको रेमिट्यान्सले देश चलेको छ त्यसैले सरकार खाडी देशमा फसेका नेपालीको उद्धार गर’, मलेसियमा तीन वर्षदेखि कार्यरत भक्तपुर सिपाडोलका हरिष मानन्धर भन्नुहुन्छ ।
कोरोना भाइरसका कारण सबै नेपाली बेरोजगार भएको बताउँदै उहाँ कैयौँ नेपाली घर न घाटको भएर बस्नुपरेको बताउनुहुन्छ । खाने, बस्ने व्यवस्थासहितको रोजगारीमा आएका नेपालीहरु काम गर्ने कम्पनी बन्द भएपछि तलब पनि दिन छाडेको र कतिपय कम्पनीले खाने, बस्ने सुविधासमेत नदिएपछि बिचल्लीमा परेको बताउनुहुन्छ । केही नेपालीमा समेत कोरोनास सङ्क्रमण देखिएपछि त्रास बढेको छ भने खान र बस्न नपाएपछि धेरै मनोरोगीसमेत हुन पुगेका बताइन्छ ।
एकवर्षअघि रोजगारीका लागि युएईमा जानुभएका काठमाडौँ रामकोटका रविराज गिरी सरकारले कहिले घर फर्काउला भन्ने आशामा बसेको बताउनुहुन्छ । कोरोनाका कारण कम्पनी बन्द भएर तलब नदिएको र कम्पनीले नेपाल फर्किन भनेको बताउँदै धेरै नेपाली कामदारको बिचल्ली भएर सडकमा बास भएको बताउनुहुन्छ । बिरामी उहाँ नेपालबाटै औषधि मगाउने गरे पनि अहिले औषधि नआउँदा थप समस्यामा परेको बताउनुहुन्छ ।
सरकारलाई विदेशी भूमिमा रहेका नेपालीलाई भित्र्याएर सुरक्षित व्यवस्था गर्न चौतर्फी दबाब परेको छ । कोरोना महाव्याधीबाट प्रभावित विभिन्न देशमा अप्ठ्यारोमा परेका नेपालीलाई तत्काल सुरक्षितरुपमा स्वदेश फिर्ताको व्यवस्था गर्न प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्तावसमेत पेश भएको छ । विभिन्न पार्टी र नेताले देश फर्कन चाहने नेपालीलाई सरकारले खर्च गर्न नसके उनीहरुकै खर्चमा ल्याएर क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्ने गरी तत्काल त्यसको तयारीमा सरकार छिट्टै लाग्न मागसमेत गरेका छन् ।
सरकार भने यथास्थितिमा विदेशमा रहेका नेपालीलाई फर्काउने तयारीमा छैन । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले नेपालमा भारतबाट सिमापार गरेर आउनेबाटै कोरोना सङ्क्रमण बढ्दा सम्हाल्न नसक्ने अवस्था देखिएकाले यथास्थितिमा विदेशबाट तत्काल ल्याउन समस्या भएको बताउनुहुन्छ ।
‘विदेशमा समस्यामा परेका नल्याउने त कुरै भएन, त्यस मामिलामा सरकार सकारात्मक छ, तर तपाईं आफैँ हेर्नुहोस् न यथास्थितिमा तत्काल ल्याउन कति गाह्रो छ’, मन्त्री यादवले भन्नुभयो, ‘लाखाैँ नेपालीलाई एकैपटक ल्याउँदा क्वारेन्टाइनको तयारी, सबैको कोरोना परीक्षणका लागि पर्याप्त स्वास्थ्य सामग्री सबैको व्यवस्था सरकारले एकैपटक कसरी गर्ने ? यसबारेमा हामी छलफल गर्दैछौँ ।’
सरकारले जुन देशमा राम्रो अवस्था छ, उनीहरुलाई सकेसम्म अहिले सोही देशमा राख्ने र अन्यका लागि मापदण्ड बनाएर ल्याउनेबारेमा छलफल भइरहेको मन्त्री यादव बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,‘विदेशबाट फर्कन चाहने नेपालीका लागि निश्चित मापदण्ड बनाउने तयारीमा छौँ, राम्रो हुनेहरुलाई अहिले उतै राख्ने र बेरोजगार, अलपत्र परेका कोरोनाबाहेक अन्य रोगका बिरामी, समस्यामा परेकालाई ल्याएर कसरी व्यवस्थापन गर्ने भन्नेबारेमा छलफल भइरहेको छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।