कोरोना विरुद्धको लडाईं : शरीरसँगै मन पनि स्वस्थ राखौं

 जेठ ५, २०७७ सोमबार ८:३९:२ | डा.श्रवणकुमार मिश्र
unn.prixa.net

कोभिड–१९ नयाँ भाइरस हो । यस भाइरसकाबारेमा धेरै कुरा पत्ता लाग्नै बाँकी छ । अध्ययनहरु भैरहेका छन् । अध्ययनबाट नयाँ-नयाँ तथ्य पनि थाहा भैरहेको छ । संसारभर फैलिएको कोभिड–१९ चाँडो सर्ने र सबै ठाउँ तथा उमेर समुहका व्यक्तिलाई सङ्क्रमण गराउन सक्ने भाइरस हो ।

भाइरस सङ्क्रमण भएकामध्ये  पाको उमेर तथा रोग प्रतिरोधी क्षमता कम भएकाहरुलाई धेरै असर गरेको देखिन्छ । 

नेपालमा भइरस र एण्टीबडी निर्माण

नेपालमा अहिलेसम्म कोरोना भाइरस कडा खालको देखिएको छैन । भाइरस फैलने क्रममा त्यसको अवस्था पनि फेरिने हुन्छ । अध्ययनकै क्रममा रहेको भए पनि अहिलेसम्म कडा खालको भाइरस भेटिएको हो । यस्तै सङ्क्रमण भएकाहरुमा विकास हुने एण्टीबडी वा रोग प्रतिरोधी क्षमता पनि कसैमा बन्ने र कसैमा नबन्ने देखिएको छ । किन यस्तो भैरहेको छ भन्ने कुरा अध्ययनकै क्रममा रहेकोले अध्ययनको निष्कर्षपछि मात्र यसबारे थप छलफल गर्न सकिन्छ । 

गर्भवती-सुत्केरीको जोखिम

अहिलेसम्म गर्भवती तथा सुत्केरीमा कोरोना भाइरसको जोखिम बढी भएको भन्ने कुनै प्रमाण छैन । नेपालमा सुत्केरीको ज्यान गएको भए पनि यसैलाई आधार बनाएर सुत्केरी तथा गर्भवतीहरु अरुभन्दा धेरै जोखिममा छन् भन्न मिल्दैन । ठूलो तथ्याँकमा गरिएका अधययनले मात्र यस्तो निष्कर्ष निकाल्ने हो ।

संसारमा अहिलेसम्म यस्तो देखिएको छैन । गर्भवती तथा सुत्केरीहरु धेरै जोखिममा छन् भनेर देखाइएका डरका कारण त्यस्तो अवस्थाका महिलालाई मानसिक रुपमा असर पर्न सक्छ । उनीहरुमा आत्बवल थप्नुपर्छ । गर्भवती तथा सुत्केरी महिलामा रोग प्रतिरोधी क्षमता नासिने भन्ने कुरा पुष्टि भएको छैन ।

६० वर्षभन्दा माथिका बृद्धबृद्धा, क्यान्सर, मधुमेह, एचआइभी एड्स, उच्च रक्तचाप लगाएतका दीर्घरोगी, नियमितरुपमा विभिन्न औषधिहरु प्रयोग गरिरहेका मानिसलाई सङ्क्रमण भैसकेपछि धेरै जोखिम ल्याएको वा ज्यानै गएको भने विश्वको तथ्याँकबाट देखिएको छ ।

रोग प्रतिरोधी क्षमता 

कोरोना मात्र हैन सबै रोगहरु रोग प्रतिरोधी क्षमता कमजोर हुनेहरुलाई लाग्ने हो । शरीरमा प्रतिरोधी क्षमता बलियो छ भने रोगहरुलाई हाम्रो शरीरको क्षमताले जितिदिन्छ र रोगले असर गर्न सक्दैन । कोरोना भाइरस शक्तिशाली नभएकोले धेरै मानिसको प्रतिरोधी क्षमताले भाइरसलाई जितेको कुरा संसारमा देखिएको छ । धेरै मान्छेहरुमा सामान्य लक्षण पनि नदेखिनु शरीरको प्रतिरोध क्षमताले जितेको हो । 

हामीले पनि आफ्नो शरीरको रोग प्रतिरोधी क्षमता बढाउनुपर्छ । रोग प्रतिरोधी क्षमता बढाउन सन्तुलित भोजन गर्ने वा पोषणयुक्त खाना खानुपर्छ । यसको लागि छुट्टै कुरा खानुपर्छ भन्ने छैन हामीले खाइरहेका खानेकुराहरु नै खाने हो । यसलाई मिलाएर खानुपर्छ ।

जे-जे कुरामा पोषण तत्व बढी पाईन्छ भनेर हामीले बुझेका छौं वा प्रयोग गरिरहेका छौं, प्रतिरोधी क्षमता बढाउने खानेकुराहरु तिनै हुन् । प्रशस्त तातोपानी तथा झोलपदार्थ खानुपर्छ । नियमित व्यायाम गर्नुपर्छ । रमाइलो गर्नुपर्छ । 

चिन्ता हटाऔं-नडराऔं

शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन शरीर स्वस्थ हुनुको साथै मन पनि शान्त हुनुपर्छ । खुशी रहने हो भने धेरै रोगबाट बच्न सकिन्छ । अहिले धेरै मानिस आत्तिरहेका छन् । तर यो रोगबाट धेरै आत्तिनुपर्दैन । कोरोना सङ्क्रमण भएकामध्ये धेरै मान्छेमा सामान्य लक्षण समेत देखिंदैन ।

बिरामी भएकाहरु पनि सामान्य लक्षणबाटै निको भएका छन् । मृत्युदर निकै थोरै छ । यसैले आत्तिनु हुँदैन । डरायो भने भाइरस सङ्क्रमण नै नभइकन पनि कोरोना सङ्क्रमणमा देखिने लक्षणहरु देखिन सक्छन् । डरकै कारण श्वास बढ्ने, घ्यारघ्यार हुने, शरीरमा तापक्रम बढ्ने जस्ता लक्षण देखिएको पनि पाइएको छ । यसैले सबैभन्दा महत्वपूर्ण कुरा डर हटाउनुपर्छ । 

कोरोना सङ्क्रमितको संख्या यति पुग्यो, संसारमा यति मान्छे मरे, यति आर्थिक नोक्सानी भयो, अब अर्थतन्त्र डामाडोल हुन्छ जस्ता डर देखाउने खबरहरुबाट टाढै रहनुपर्छ । महामारीसँगै विभिन्न झुटा खबरहरुको पनि बाढी लाग्ने गरेको छ । यस्ता खबरहरु पढ्नु तथा हेर्नु हुँदैन ।

आधिकारिक तथा विश्वासिला संचारमाध्ययमका खबरहरु हेर्ने, नबहकिने, म समस्यासँग लड्न सक्छु भनेर आत्मविश्वास लिनुपर्छ । नडराइकन लडेमा हामीले कोरोनासँगको युद्ध जित्न सक्छौं । तर सचेत भने हुनुपर्छ ।

सरकारले लकडाउनसँगै ल्याएका नियमहरु पालना गर्नुपर्छ, नियमित साबुनपानीले राम्रोसँग हात धुनुपर्छ, घरबाहिर जाँदा मास्क लगाउने, व्यक्तिगत दुरी कायम गर्ने जस्ता सावधानीहरु अपनाउनुपर्छ । तर डराउन भने हुँदैन ।  

(डा. मिश्रसँग उज्यालोका भोजेन्द्र बस्नेतले गरेको कुराकानीमा आधारित) 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

डा.श्रवणकुमार मिश्र

डा मिश्र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाण्डौका भाइरोलजिस्ट हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया