साेमबार कर्णाली प्रदेशकाे दैलेखमा एक कोरोना सङ्क्रमित भेटिए

 जेठ ६, २०७७ मंगलबार ८:४:२९ | अमर सुनार
unn.prixa.net

दैलेख – नेपालमा कोरोना सङ्क्रमित फेला परेको साढे तीन महिनासम्म सङ्क्रमित नभेटिएको कर्णाली प्रदेशमा पहिलो पटक दैलेखको आठबीस नगरपालिका–१ सात्तलाका ३५ वर्षीय एक युवकमा कोरोना भाइरस सङ्क्रमण फेला परेको पुष्टि भएको छ ।

कर्णाली प्रदेश प्रयोगशालामा पोजेटिभ देखिएपछि पहिलो केस पुनः पुष्टिका लागि नेपालगञ्ज पठाएकोमा त्यहाँ समेत पोजेटिभ देखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरककुमार अधिकारीले सोमबार राति औपचारिक पुष्टि गर्नुभएको हो ।

भारतको बनबासामा तीन साता रोकिएर आएका ५३ जना मध्ये लक्ष्मी मावि सात्तला क्वारेण्टीनमा शनिवार संकलन गरिएको नोजल स्वाबको परीक्षणपछि त्यहाँ भएका ३९ जनामध्ये एक जनामा मात्र कोरोना देखिएको हो ।

सात्तला स्वास्थ्य चौकीका अनुसार लकडाउनका कारण बनबासा पारी भारतको भूमिमा तीन साता बसेर कञ्चनपुरको गड्डाचौकीले स्वास्थ्य परीक्षण नगरी पठाएका ५३ जना एउटै गाडीमा आएका र तीमध्ये ४ जना बर्दिया झरेका, ८ जना दैलेखको ठाँटीकाँध, एक जना दुल्लू र एक जना चामुण्डाबिन्द्रासैनी नगरपालिकाका व्यक्तिहरु सोझै घरमै पुगेका थिए।

३९ जना सबै आठबीस नगरपालिका–१ सात्तला गाउँकै भएको कारण वडा कार्यालयले विभिन्न सम्पर्क सुत्रको सहयोगमा कञ्चनपुरबाटै एउटा बसमा ल्याइएको कारण सबैलाई सोझै क्वरेण्टीनमा राख्न सकिएको वडाध्यक्ष पर्वसिंह विश्वकर्माले जानकारी दिनुभयो ।

सङ्क्रमित भनिएका ती युवकसँगै कर्णाली प्रदेश प्रयोगशालाको परीक्षण कोरोना भाइरस पोजेटिभ देखिएका अर्का एक युवक समेतलाई आइसाेलेसन अस्पताल सुर्खेत पठाउने तयारी भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड फोकल पर्सन थीरप्रसाद रेग्मीले बताउनुभयो ।

दैलेख सदरमुकाम ३४, दुल्लू अस्पताल ४ र गुराँस गाउँपालिकामा २ समेत ४० वटा आइसाेलेसन बेड भए पनि यहाँ सङ्क्रमण बढ्नसक्ने भएकाले सुरुसुरुको केस सुर्खेत पठाउने तयारी भएको रेग्मीले जानकारी दिनुभयो ।

जिल्लाजिल्लामा संकलन गरी कर्णाली प्रदेश प्रयोगशालामा सोमबारसम्म २ हजार ७ सय ८९ जनाको नेजोफ्राञ्जियल स्वाब परीक्षणमा दैलेखको आठबीस नगरपालिका–१ सात्तलाका ती युवकमा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका प्रयोगशाला संयोजक ओम आचार्यले बताउनुभयो ।

३५ वर्षीय ती युवकमा कोरोना पुष्टि भएपछि आठबीस नगरपालिका कार्यपालिकाको आकस्मिक वैठकले वडा नं। १ लाई पूर्णरुपमा सिल गर्ने र अरु वडाहरुमा पनि हिंडडूललाई कडाई गरिएको नगरप्रमुख खड्गराज उपाध्यायले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: चैत १५, २०८०

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया