कोरोनाको कारण लालीगुराँसको राजधानी भनिने टीमएमजे पर्यटकीय क्षेत्र सुनसान

 जेठ ७, २०७७ बुधबार १३:१:१३ | नवीन गुरुङ
unn.prixa.net

सङ्खुवासभा - पूर्वी पहाडी जिल्लाहरु सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङको सिमानामा पर्ने तिजजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्र लालीगुराँसको राजधानी भनेर चिनिन्छ । यस राजधानीमा यतिवेला वनैभरि राताम्मे भएर लालीगुराँस फुलेका छन् । तर पुरै क्षेत्र सुनसान छ । 

चैत अन्तिम हप्तादेखि वैशाख अन्तिम हप्तासम्म लालीगुराँस ढकमक्क फुल्ने गर्दछन् । विगतका वर्षहरुको तुलनामा यस वर्ष फागुन अन्तिम हप्तासम्म हिउँ परेकोले लालीगुराँस ढिलो गरी फुलेको स्थानीयहरु बताउँछन् । यो वर्ष ढिलो फुलेकाले अहिले पनि वनैभरि लालीगुराँस राताम्मे छन् । 

वन राताम्मे भएपनि यो वर्ष पर्यटकीय क्षेत्र ‘टिएमजे’ सुनसान बनेको छ । विश्वभर फैलिएको कोरोना भाइरस महामारीको कारण सरकारले गएको चैत ११ गतेदेखि लकडाउन गरेपछि पर्यटकीय क्षेत्र सुनसान बनेको हो । समुन्द्री सतहदेखि दुई हजार आठ सय २९ मिटरको उचाइमा रहेको गुफापोखरी, चौकी मङ्गलबारे, सुकेपोखरी, पाँचपोखरी र टुटेदेउरालीलगायतका डाँडाकाँडा र भौगोलिक सौन्दर्य हेर्न पर्यटकहरुको ठूलो घुइँचो लाग्ने गरेको थियो ।

विगतका वर्षहरुमा लालीगुराँस र डाँडाकाँडाको सौन्दर्य हेर्न पर्यटकहरुको भिड लाग्ने गरेको बताउनुहुँदै स्थानीय हिमा खनालले यो वर्ष कोरोनाले व्यापार व्यवसाय सबै चौपट भएको बताउनुभयो । यस क्षेत्रमा विशेष गरी मङ्सिरदेखि माघसम्म हिउँ खेल्न र फागुनदेखि जेठसम्म लालीगुराँस हेर्न पर्यटक आउने गर्छन् । 

पछिल्ला वर्षहरुमा जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था, विद्यालय र स्थानीयहरु रमिता हेर्न आउने गरेको खनालले जानकारी दिनुभयो । त्यसका साथै विराटनगर, धरान, इटहरी र काठमाण्डौबाट समेत घुमफिर गर्न आउने गर्दछन् । प्रायजसो आन्तरिक र बाह्य पर्यटक लालीगुराँस हेर्न, फोटो खिच्न र सहरबजारको भिडबाट केही समयलाई ‘फ्रेस’ हुन यहाँ आउने गरेको खनालको भनाइ छ ।

बि.स. २०५० सालदेखि मङ्गलबारे चौकीबजारमा बस्न थालेकी होटल व्यवसायी हिमा थापा यो वर्ष कोरोनाले आफूहरुको दैनिकी कष्टकर बनेको बताउनुभयो । उहाँले बितेका वर्षहरुमा दैनिक रुपमा ५० देखि एक सय ५० जनासम्म आन्तरिक र बाह्य पर्यटक आएर व्यापार व्यवसाय राम्रो हुने गरेपनि  यस वर्ष हातमुख जोर्न समस्या भएको बताउनुभयो 

टिएमजे क्षेत्र पुगेपछि लालीगुराँसको संसारमा पुगेजस्तो अनुभूति हुने र वनैभरि रातै लालीगुराँस फुलेको देखेर मन त्यत्तिकै लोभ्याउने नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष इन्द्र गिरीले बताउनुभयो । उहाँले त्यहाँको मोनमोहक र प्राकृतिक सौन्दर्य देखेपछि भौगोलिक रुपमा टिएमजे क्षेत्र असाध्यै धनी रहेको अनुभूति हुने गरेको बताउनुभयो । ‘वर्षमा एक पटक मनका सबै पीडा बिर्सिन टिएमजे क्षेत्र जानुपर्छ । यो वर्ष कोरोनाको कारण मन हुँदाहुँदै पनि जान सकिएन,’ गिरीले भन्नुभयो ।

पर्यटकीय गन्तव्य गुफापोखरीमा आन्तरिक र बाह्य पर्यटकलाई व्यवस्थित गर्नका लागि तिनजुरे–मिल्के—जलजले पर्यटन समिति गठन गरेर विभिन्न गतिविधि सञ्चालन गरिरहेको समितिका अध्यक्ष सन्तोष लिम्बुले बताउनुभयो । उहाँले हिउँदमा पर्यटकको भिड लाग्ने भएकोले होटल र लजहरुलाई व्यवस्थित रुपमा सञ्चालन गर्न सचेतनामूलक कार्यक्रम र अभिमुखीकरण गर्ने गरेको जानकारी दिनुभयो । 

‘टिएमजे क्षेत्रको विकासका लागि गुराँस वनको संरक्षण, पर्यटन सूचना केन्द्र सञ्चालन, जाति, भाषा र संस्कृतिसम्बन्धी सङ्ग्रहालयलगायतका विभिन्न सामग्री राखिएको छ,’ अध्यक्ष लिम्बुले भन्नुभयो, ‘पर्यटकहरुको व्यवस्थापन गरेर धेरैभन्दा धेरै पर्यटक भित्र्याउन हामी प्रयासरत छौँ । तर यो वर्ष यहाँका होटल व्यवसायी मारमा परेका छन् । कोरोनाले गर्दा आवातजावात पूर्ण रुपमा बन्द छ ।’

अन्तिम अपडेट: बैशाख १४, २०८१

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया