नेपालमा थप तीस जनामा कोरोना सङ्क्रमण पुष्टि : सङ्क्रमित ४८७ पुगे

 जेठ ९, २०७७ शुक्रबार ९:१९:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपालमा आज थप तीस जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

आज आएको रिपोर्ट अनुसार सर्लाहीमा मात्रै १५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार सर्लाही गोडैता नगरपालिकाका वडा नम्बर ८, ९, ११, १३ र १४ तथा सर्लाहीकै रामनगर बहुअर्वा गाउँपालिका ७ का ३८ वर्षका तीन जना, २२ वर्षका दुई जना, २५ वर्षका दुई जना, ३४ वर्षका दुई जना तथा २४, २७, ३२, ३५ र ३९ वर्षका एक–एक जना पुरुष तथा १८ वर्षकी युवती गरी १० जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै कपिलवस्तु वाणगंगा नगरपालिका र मायादेवी गाउँपालिकामा ८ वर्षकी बालिकासहित २४, २५, २७, २९, ३४, ३६, ४५ र ५३ वर्षका पुरुष गरी ९ जना, नवलपरासी सुस्ता गाउँपालिका वडा नम्बर ५ मा ३३ वर्षका पुरुष, नवलपरासी रामग्राम नगरपालिका वडा नम्बर ३ का ३५ वर्षका पुरुष, नवलपरासी रामग्राम नगरपालिकाकै वडा नम्बर १८ की १५ वर्षकी बालिका र नवलपरासी बर्दघाट सुस्ता पूर्व विनय त्रिवेणी गाउँपालिका ६ का ४५ वर्षका पुरुष गरी चार जना तथा चितवन, भरतपुर महानगरपालिका ६ केसरबाघका ७४ वर्षका पुरुष र ७३ वर्षकी महिलासहित ३० जनामा कोरोना पुष्टि भएको हो ।

यो सँगै नेपालमा ४ सय ८७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म सङ्क्रमण पुष्टि भएका मध्ये ४९ जना निको भएर अस्पतालबाट घर फर्किएका छन् । आज थप २१ जनालाई पनि डिस्चार्ज गर्ने भेरी अस्पताल नेपालगन्जको तयारी छ ।

नेपालमा कोरोना सङ्क्रमण भएका तीन जनाको भने ज्यान गएको छ । अहिलेपनि विभिन्न अस्पतालमा ४ सय १ जना आइसोलेशनमा र २५ हजार ३० जनालाई क्वारेन्टीनमा राखिएको मन्त्रालयले जनाएको छ ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका व्यक्तिलाई आइसोलेशनमा र कोरोनाको संभावना भएका व्यक्तिलाई क्वारेन्टीनमा राख्ने गरीन्छ । सरकारले क्वारेन्टीनको लागि कार्यविधि नै तयार गरेको भएपनि त्यसअनुसार कार्यान्वयन नभएको धेरैले गुनासो गर्ने गरेका छन् ।

सरकारले अहिलेसम्म झण्डै ७८ हजार ७ सय जनाको आरडीटी र ३८ हजार ८ सय जनाको पीसीआर गरी १ लाख १७ हजार ५ सय जनाको कोरोना परीक्षण गरेको छ ।

पहिलो चरणमा ५ लाख जनाको कोरोना परीक्षण गर्ने तयारी अनुसार परीक्षणको दायरा बढाइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डाक्टर समिरकुमार अधिकारीले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया