लमजुङ : लकडाउन अवधिभर अरु जिल्लाबाट तरकारी र फलफूल आयातमा रोक

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीको आरडीटी गरिने

 जेठ १०, २०७७ शनिबार ७:९:१४ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ - कोरोना रोकथाम र नियन्त्रणका लागि लमजुङमा लकडाउन अवधिभर अरु जिल्लाबाट तरकारी र फलफूल आयातमा रोक लगाइएको छ ।

शुक्रबार प्रमुख जिल्ला अधिकारी एवं संकट व्यवस्थापन केन्द्र लमजुङका संयोजक लक्ष्मणबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले कोरोना रोकथाम र नियन्त्रणका लागि जिल्लामा लक डाउन अवधिभर बाह्य जिल्लाबाट तरकारी र फलफूल आयातमा रोक लगाउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारले जानकारी दिनुभयो । 

बैठकले हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सुरक्षामा खटिने सुरक्षाकर्मी, थोक बिक्रेता, आवश्यकता देखिएका जनप्रतिनिधि, जिल्लाका पत्रकारहरुको आरडीटी जाँच गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

यस्तै, बैठकले राइनास नगरपालिका-९ मा रहेको भैरव माविमा क्वरेन्टीनको व्यवस्था गर्ने, त्यसको सुरक्षाको व्यवस्थापन नेपाली सेनाको श्रीजंग गणले गर्ने र बेसिशहर नगरपालिकाको सहजीकरणमा रहेको क्वरेन्टीनको सुरक्षा व्यवस्थापन सशस्त्र प्रहरी बल नेपालले गर्ने पनि निर्णय गरेको सहायक प्रजिअ सुनारले बताउनुभयो ।

अन्तिम अपडेट: फागुन २९, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया