एमसीसी संशाेधन नगरे खारेज गर : साझा पार्टी

'सबै दाताले एमसीसीकै जस्तो प्रावधान राख्न चाहे के होला ?'

 जेठ १३, २०७७ मंगलबार १२:४१:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – साझा पार्टीले अमेरिकाको च्यालेन्ज कर्पोरेशन एमसीसी (कम्प्याक्ट) सम्झौता संशोधन नगरि पारित गर्न नहुने बताएको छ । साझा पार्टीका प्रवक्ता डाक्टर सूर्यराज आचार्यले विज्ञप्ति निकालेर एमसीसी सम्झौताका कतिपय प्रावधान नेपालको राष्ट्रिय स्वाभिमान र हितविरुद्ध रहेको र ती संशाेधन नगरि संसदबाट पास गर्न नहुने बताउनुभएको हो ।

एमसीसी नेपालको कानुनभन्दा माथि हुने, नेपालको १३ करोड डलर लगानी रहने आयोजनाको लेखापरीक्षणमा महालेखा परीक्षक संलग्न नहुने, नेपालभित्रै निर्माण हुने प्रसारण लाइनका लागि भारतको स्वीकृति लिनुपर्ने, आयोजनामा रोजगारीकाे लागि नागरिकताको बन्देज नहुने, सम्झौताका केही दफा आयोजना सम्पन्न भइसकेपछि पनि क्रियाशील रहनेलगायत सम्झौताका प्रावधान आपत्तिजनक रहेको उल्लेख गरिएको छ ।

यी प्रावधानको समीक्षा र सुझावकाे लागि साझा पार्टीले स्वतन्त्र विज्ञहरूको कार्यदल गठन गर्न पनि माग गरेको छ । पूर्वाधार विकासको द्विपक्षीय अनुदान सहयोगको सम्झौता राष्ट्रिय हितमा दुरगामी प्रभाव पर्न सक्ने गरी अन्तर्राष्ट्रिय सन्धिको रूपमा संसदबाट पारित गरिनु वाञ्छनीय नभएको साझा पार्टीकाे ठहर छ । साथै साझा पार्टीले सबै दाताले त्यस्तै प्रकृतिको सम्झौताको माग गरे पञ्चशील र असंलग्नतामा आधारित नेपालको स्वतन्त्र परराष्ट्र नीतिमा कस्तो प्रभाव पार्ला भन्नेतर्फ गम्भीरताका साथ सोच्न सरकारलाई आग्रह गरेको छ ।

साझा पार्टीले सत्तारुढ दल नेकपाभित्रै र आम नागरिकबाट समेत एमसीसी सम्झौता विना संशाेधन पारित हुन नहुने आवाज उठिरहेकाले बहुमतको आडमा एमसीसीलाई पारित गरेरै छाड्ने सरकारको ढिपी दम्भयुक्त र दुर्भाग्यपूर्ण रहेको भन्दै साझा पार्टीले आपत्तिजनक बुँदाहरू संशाेधन नगर्ने हो भने एमसीसी सम्झौता नेपालको तर्फबाट खारेज गर्न माग गरेको छ ।

सरकारका गलत सोच र निर्णयमाथि खबरदारी गर्नुपर्ने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस एमसीसी सम्झौताको पक्षमा उभिनु विडम्बनापूर्ण रहेको भन्दै साझा पार्टीले कांग्रेसका नेता, सदस्य तथा आम जनसमुदायलाई देशको हितका लागि विना संशाेधनको एमसीसी सम्झौताको खारेजीको पक्षमा उभिन आह्वान पनि गरेको छ । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया