अछाममा २ जनामा कोरोना सङ्क्रमण पुष्टि

 जेठ २०, २०७७ मंगलबार ९:१७:४० | चन्द्र थापा
unn.prixa.net

अछाम - अछाम जिल्लामा २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

चौरपाटी गाउँपालिका वडा नम्बर २ का ३३ र ३१ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ । ३३ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पताल धनगढीमा तथा ३१ वर्षीय पुरुषको सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणको क्रममा सङ्क्रमण पुष्टि भएको हो ।

सुर्खेतमा पठाइएको ३० जनाको स्वाबमध्ये १ जनाको पोजिटिभ आएको र बाँकेको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले बताउनु भयो ।

गाउँपालिकाका २ जना युवामा कोरोना अन्क्रमण पुष्टि भएसँगै प्रत्येक वडामा उच्च सर्तकता अपनाइएको गाउँपालिका अध्यक्ष हर्कबहादुर साउदले बताउनु भयो । गाउँपालिकाका जनतलाई बचाउनका लागि प्रमुख जिल्ला अधिकारी, स्वास्थ्य कार्यालयका प्रमुख लगायतसँग समन्वय भइरहेकाले क्वरेन्टीनमा बसेका प्रत्येकको पीसीआर परीक्षण गरिने बताउनु भयो ।

उहाँले कोरोना सङ्क्रमण पुष्टि भएका दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र मंगलबार नै जिल्ला अस्पतालको आइसोलेशनमा भर्ना गराइने बताउनु भयो । 

अन्तिम अपडेट: चैत २१, २०८०

चन्द्र थापा

अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया