कोरोना संकटमा गैरसरकारी संस्था : रहस्यमय मौनता

 जेठ २१, २०७७ बुधबार १२:५३:४७ | भाेजेन्द्र बस्नेत
unn.prixa.net

काठमाण्डाै - अप्ठेरो बेलामा सामाजिक संस्थाले गर्ने सहयोग सबैले सम्झन्छन्, चाहे भुईंचालोका बेला होस्, चाहे बाढी पहिरो, आगलागी र महामारीकै समय किन नहोस् । नेपालमा पनि सामाजिक तथा गैरसरकारी संस्थाले विपदका बेला उल्लेख्य सहयोग गरेका उदाहरण छन् ।

तर कोरोना भाइरसको महामारीबाट उत्पन्न समस्यामा परेकाहरुलाई सहयोग गर्न न सामाजिक संस्था अघि सरेका छन्, न त गैरसरकारी संस्था नै सकृय छन् । बरु यस अवधिमा स्वयंसेवाका नाममा मान्छेको आवतजावत रोक्ने तथा अप्ठेरो परेर काम विशेषले हिँड्नेहरुलाई सताउने काम भएका छन् । 

धेरैको छाक टुट्न लागेको छ, पेसाबाट हात धोएकाहरु अन्योलमा छन्, व्यवसाय बन्द हुँदा अब के गर्ने भन्दै चिन्तामा डुबेकाहरु धेरै छन् । क्वरेण्टीनहरु भद्रगोल छन्, सही सूचना नहुँदा कोरोनालाई अछुत मान्नेहरुको जगजगी छ । निराशा बढेर आत्महत्या गर्दै मान्छेले आफ्नो जीवन आफैं अन्त्य गर्न थालेका छन् । समाज सेवाको मल्हम यस्तो बेला सबैभन्दा प्रभावकारी औषधि हुन्छ, तर समाजसेवा गर्ने संस्थाहरु रहस्यमय रुपले मौन छन् । 

भोकले मान्छे मर्ने बिरलै घटना नेपालमा देखिएको छ । खानेकुरा सकिएपछि हप्तौंसम्म पैदल हिँडेर मानिसहरु आफ्नो थातथलो पुगेका छन् । पैतलाबाट रगत र पिप चुहाउँदै, सुख्खा खानेकुराको भरमा अझ कति त भोकभोकै हिँडेका दृष्यहरु संचारमाध्ययम र सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती भए । गर्भवती तथा दुधे शिशुसँग भोकै र तिर्खै हिँड्नेहरुको बेदना कम पीडादायी रहेन । 

लामो समय हिँडेर अभिभावकसँग आएकी दुई वर्षीया बालिकाको ज्यान गयो । कोरोना संक्रमण देखिएको भए पनि लामो समयको भोक, चिसो, झरी आदिको कारण उनको ज्यान गएको जनस्वास्थ्यविद्हरु बताउँछन् । कोरोनासँगै आएको यो परिस्थितिमा सामाजिक संघ÷संस्थाको सहयोग बिरलै मात्र देखिएको छ । 

सामाजिक संघसंस्थामा लागेका व्यक्ति तथा त्यहाँ जागिर खाने कर्मचारीहरुलाई विपदहरुको बेलामा कसरी काम गर्ने भन्ने ज्ञान हुन्छ । कुन÷कुन क्षेत्रमा मानिस बढी प्रताडित भएका छन् र कहाँ सहयोग आवश्यक पर्छ भन्ने पनि उनीहरुले चाँडो थाहा पाउँछन् । किनकी तालिम र अध्ययन त्यसै अनुसार भएको हुन्छ । समस्यामा परेकाहरुलाई गास, बास तथा अरु अत्यावश्यक सहयोगसँगै अरु कुरा सम्झाएमा उनीहरुको आत्मबल बढ्छ भन्ने पनि सामाजिक क्षेत्रमा काम गर्नेहरुले जानेका हुन्छन् । तर लकडाउनसँगै सामाजिक क्षेत्रमा काम गर्नेहरु पनि अचम्मले हराएका छन् । 

राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा रकम संकलन हुने बेलामा कलाकारदेखि सामाजिक क्षेत्रमा काम गर्नेहरु तँछाडमछाड गर्थे । कतिपय त यही बेला सामाजिक क्रियाकलापमा जोडिएका थिए । तर सहयोग नजुट्ने यो लकडाउनको बेलामा सामान्य भोक मार्ने वा आशाका दुई चार कुरा भनेर मान्छेमा आशा जोगाउन अघि सर्ने जाँगर देखाउने भेटिएनन् । केही ठाउँमा मास्क÷स्यानिटाइजर बाँढ्ने तथा खाना खुवाउने काम भएका छन्, तर निकै थोरै मात्र । अहिले ठूलो संख्यामा मानिस प्रभावित छन्, यस्तो बेलामा आवश्यकता अनुसार राहातसँगै सरसफाईका कुरा र विशेषगरी आत्मबल बढाउने कुरा हुनुपथ्र्यो । तर उनीहरु लकडाउनसँगै लामो बिदा मनाइरहेका छन् । 

नेपालमा सामाजिक संस्था

५१ हजारभन्दा धेरै राष्ट्रिय र दुईसय ३४ वटा अन्तराष्ट्रिय गैरसरकारी संस्था समाजकल्याण परिषदमा आबद्ध छन् । राष्ट्रिय गैरसरकारी संस्था जिल्ला प्रशासन कार्यालयमा दर्ता भइ विभिन्न पालिकाबाट अनुमति लिएर काम गर्छन् । समाजकल्याण परिषदमा आबद्ध हुनुपर्ने बाध्यात्मक अवस्था नभएकोले धेरै संघ÷संस्था पालिकासँगको सहकार्यमा काम गरिरहेका समाज कल्याण परिषदका सूचना अधिकारी दुर्गाप्रसाद भटराइले बताउनुभयो । प्रशासन कार्यालयमा समेत दर्ता नभएका बिभिन्न क्लव तथा समूहहरु पनि सामाजिक क्रियाकलापमा संलग्न भएका हुन्छन् । यसरी हेर्दा लाखौंको संख्यामा सामाजिक संघ÷संस्थाहरु सक्रिय रहेका छन् ।

लकडाउनले समस्या भयो – अध्यक्ष लामा 

गैरसरकारी संस्था महासंघका अध्यक्ष जितराम लामा लकडाउनका कारण सहयोग गर्न निस्कन समस्या भएको बताउनुहुन्छ । तर देखिनगरी काम नभए पनि विभिन्न सामाजिक संस्थाहरुले सहयोगका काम गरिरहेको उहाँले बताउनुभयो । लामा भन्नुहुन्छ “सरकारले राहात बितरण एकद्वार विधिबाट गर्ने भनेको छ त्यही अनुसार गैरसरकारी संस्थाहरुले जुटाएको सहयोग पालिकाहरुमार्फत बाँढिएको छ । पालिकाहरुकै नेतृत्वमा सहयोगका काम भएकाले संघसंस्थाको चर्चा नभएको हुन सक्छ ।”

यस्तै संघसंस्थाका पदाधिकारी तथा कर्मचारीहरुले पनि लकडाउनको पालना गर्दै घरबाटै काम गरिरहेको अध्यक्ष लामा बताउनुहुन्छ । उनीहरुले सहयोग जुटाउनेदेखि सामाजिक संजाल तथा स्थानीय सचारमाध्ययमबाट चेतनामूलक काम गरिरहेको अध्यक्ष लामाको दावी छ । तर धेरैले अरु बेला गाउँगाउँ घुमिरहने सामाजिक संस्थाका प्रतिनिधि तथा कर्मचारीहरुले गाउँको हालखबर समेत नबुझेको गुनासो गर्छन् । 

काम गर्ने अनुमति लिंदैछन् –परिषद 

समाज कल्याण परिषदका प्रवक्ता शिवकुमार बस्नेत लकडाउनकै बेलामा पनि सामाजिक संघसंस्थाहरु सहयोगमा जुटेको दावी गर्दै अहिले विभिन्न कार्यक्रमको लागि अनुमति लिने क्रम बढेको बताउनुहुन्छ । उहाँले भन्नुभयो “६५ वटाभन्दा धेरै राष्ट्रिय र ३५ भन्दा धेरै अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले एक अर्ब ३० करोड भन्दा धेरैको कोरोना केन्द्रित कार्यक्रम स्वीकृत गराएका छन् । यसअघि कार्यक्रम स्वीकृत गराएकाहरुलाई पनि २० प्रतिशतसम्म बजेट कोरोना केन्द्रित कार्यक्रममा खर्च गर्ने अनुमति दिइएको छ, त्यसैले पछिल्ला दिनमा उत्साहजनक सहभागिता बढेको छ ।”

भूकम्प, बाढीपहिरो बेलाको जस्तो सहयोग अन्तर्राष्ट्रिय रुपमा नजुटेको र यसको कारण कोरोनाको संक्रमण विश्वव्यापी भएको प्रवक्ता बस्नेतले बताउनुभयो । लकडाउनका कारण र कोरोना संक्रमण सजिलै सर्ने भएकोले मानिसको नजिक जाने कि नजाने भन्ने विषयले पनि अरु बेलाको विपदमा जस्तो सहयोगको सहभागिता कम भएको बस्नेतले बताउनुभयो । उहाँले अहिले कसरी सामाजिक संघसंस्थालाई प्रभावकारी रुपमा परिचालन गर्न सकिन्छ भन्नेबारेमा छलफल भैरहेको र अब आउन सक्ने समस्यामा सामाजिक संस्थाको सहयोग सक्रिय रुपमा रहने बताउनुभयो ।  

के गर्न सक्नछन् गैरसरकारी संस्थाले ? 

कोरोनाको महामारीमा गैरसरकारी संस्थाबाट अपेक्षा गरिने मुख्य काम मानिसमा डर घटाउनु हो । अहिले कोरोना संक्रमणबाट हुने क्षतिभन्दा कोरोनाको डरका कारण हुने क्षति धेरै भएको छ । आत्महत्या गर्नेहरु बढेका छन्, समस्या भोग्नेहरु बढेका छन्, घरेलु हिँसाहरु बढेका छन् । यस्तो बेलामा सामाजिक संघसंस्थाले मानिसलाई मनोपरामर्श दिएर डर घटाउँदै डरबाट सृजना हुने समस्याहरु रोक्न सक्छन् । यस्तै धेरै बालबालिका बिद्यालय जान पाएका छैनन् । उनीहरु र उनीहरुका अभिभावकहरु भविष्यको चिन्तामा छन् । यस्तो बेलामा व्यवहारिक सीप सिक्दै विद्यालय खुल्ने अवस्थाको पर्र्खाइमा बालबालिका र अभिभावकलाई राख्नको लागि उनीहरुले काम गर्न सक्छन् । 

मान्छेको छाकै टुट्न थालेको छ । उनीहरुका लागि तत्कालीन राहातका कार्यक्रममा पनि सामाजिक संघसंस्थाको सहयोग हुन सक्छ । यस्तै अहिले क्वरेण्टीनहरुमा ठूलो समस्या छ । भद्रगोल क्वरेण्टीनहरु संक्रमण फैलनेसँगै मानिसमा मानसिक समस्या र अरु धेरै किसिमका समस्याहरु उत्पादन गर्ने कारखाना बन्न थालेका छन् । सामाजिक संघसंस्थाले त्यस्ता क्वरेण्टीनहरुको व्यवस्थापनमा सघाउन सक्छन् । त्यहाँ बसेका मानिसलाई मनोपरामर्श दिएर चिन्ता घटाउन सक्छन् । सरसरफाईका लागि सहयोग गर्न सक्छन् । 

अहिले नेपालमा कोरोना संक्रमणको गति उच्च दरमा बढिरहेको छ । भारतबाट ठूलो संख्यामा मानिस आएका छन् भने भारत र तेश्रो देशहरुबाट समेत छिटै अरु धेरै आउँदैछन् । योसँगै अबका केही महिना संक्रमितको संख्या धेरै हुने र क्वरेण्टीन तथा आइसोलेसनमा धेरै मानिस हुने भएकोले समस्या बढ्न सक्छ । 

लकडाउनका कारण मानिसको जनजीवन कष्टकर बनेकोले अब लामो समय यही अवस्थाको लकडाउन रहन सक्दैन । त्यसपछि समस्या अझै बढ्न सक्छ । यस्तो बेलामा सामाजिक संघसंस्थाले सम्बन्धित पालिकासँग समन्वय गरेर सहयोग गर्नुपर्छ । रोगसँग आर्थिक÷सामाजिक र मानसिक समस्या समेत धेरैमा हुने भएकोले यो बेलामा सामाजिक संघसंस्थाको सुझबुझपूर्ण सहयोग आवश्यक छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया