विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या चार लाख नाघ्यो

 जेठ २५, २०७७ आइतबार १२:४१:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - विश्वभर कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या चार लाख नाघेको छ ।

विश्वको कोरोना भाइरसबारेको तथ्याङक सार्वजनिक गरिरहेको वल्र्डओमिटरका अनुसार कोरोना भाइरसबाट चार लाख दुई हजार भन्दा धेरैले ज्यान गुमाएका हुन् । 

चीनको वुहानबाट शुरु भएर विश्वका दुइ सय १३ देशमा फैलिएको कोरोना भाइरसबाट ६९ लाख ८२ हजार भन्दा धेरै मानिस सङ्क्रमित भएका छन् । सङ्क्रमित मध्ये ३४ लाख १३ हजार भन्दा धेरैले कोरोनालाई जितेर स्वास्थ्यलाभ गरेका छन् । 

भारत छैटौँ नम्बरमा 

छिमेकी देश भारत कोरोना भाइरसबाट धेरै मानिस सङ्क्रमित भएका देशहरु मध्ये छैटौं नम्बरमा पुगेको छ । चीनबाट युरोप तथा अमेरिकाका देशहरुमा सङ्क्रमण फैलिदा निकै कम सङ्क्रमित मात्र भएको भारतमा पछिल्लो समयमा सङ्क्रमण ह्वात्तै बढेको हो ।

आइतबार बिहानसम्ममा भारतमा दुई लाख ४७ हजार भन्दा धेरै मानिस कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार ९ सय नाघेको छ । 

भारतमा सङ्क्रमितहरुले कोरोनालाई जित्ने दर भने उच्च छ । भारतमा कुल सङ्क्रमितमध्ये झण्डै ५० प्रतिशत अर्थात एक लाख १९ हजार भन्दा धेरै सङ्क्रमितले कोरोनालाई जितेका छन् ।

सबैभन्दा धेरै अमेरिकामा १९ लाख ८८ हजार भन्दा धेरैमा सङ्क्रमण भएको छ भने दोश्रोमा ब्राजिल, तेश्रोमा रसिया, चौथोमा स्पेन र पाँचौमा बेलायतमा धेरै सङ्क्रमित रहेका छन् ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया