​तीन वर्षदेखि सुस्तामा झोलुङ्गे पुल निर्माण कार्य अलपत्र, ठेकेदार नै सम्पर्कविहीन

भारतीयकाे दवावकै कारण पुल नबनेकाे अाश‌ंका

 जेठ १४, २०७५ सोमबार १५:१५:२४ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी , जेठ १४ – नवलपरासीको सुस्तामा २२ करोड ८० लाख रुपैयाँको लागतमा निर्माण सुरु भएको झोलुंगे पुल ३ वर्ष बितिसक्दा पनि बन्न सकेको छैन ।

नवलपरासी पश्चिमको पक्लिहवामा रहेको नारायणी नदीवारीबाट पारीको सुस्ता जोड्ने झोलुंगे पुल निमार्णको जिम्मा पाएको ठेकेदार केभी एण्ड पशुपति कन्सट्रक्सन कम्पनिको लापरवाहीले पुल निमार्णको काम अघि नबढेको हो ।

तीनवर्ष भित्र निमार्णको काम सक्ने गरी ठेकेदारले ठेक्का पाएको ३ वर्ष बितिसक्दा पनि २ प्रतिशत काम  पनि नभई निर्माण  अलपत्र परेको छ  । सीमापारीको सुस्ता जोड्ने १५ सय ७१ मिटर लम्बाई र १.७ मिटर चौडाइको झोलुंगे पुल नेपालकै तेश्रो लामो पुल हो ।

तीन वर्षअघि पुल निमार्णका लागि १० क्विण्टल फलामे छड, ६ वटा बाक्ला फलामे पाता र एउटा पुरानो जेनेरेटर ल्याएर छोडेपछि ठेकेदार बेपत्ता भएको सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनुभयो  । ठेकेदार श्याम तामाङ्गलाई पटक–पटक फोन गर्दा पनि सम्पर्क हुन नसकेको र फोन अफ मात्रै हुने गरेको अध्यक्ष पाण्डेले जानकारी दिनुभयो  ।

‘मैले पुलको विषयमा मन्त्रालयदेखि केन्द्रीय र स्थानीय सासंदलाई पटक–पटक जानकारी गराएको छु । तर कुनै पहल भने हुन सकेको छैन’, पाण्डेले भन्नुभयो, ‘पुल निर्माणका सामाग्री पनि अलपत्र अवस्थामा छ भने खिईँएर बिग्रने अवस्था समेत रहेको छ ।’

अध्यक्ष पाण्डेले स्थानीय तथा नजिकै रहेको प्रहरी चौकीलाई ती सामाग्री कोही लिन आएमा रोक्न र आफूलाई खबर गर्न निर्देशन समेत दिएको बताउनुभयो  ।
वि.स. २०७५ असोजमा निमार्ण सम्पन्न गरिसक्नुपर्ने पुल निमार्णमा ठेकेदारले चरम लापरवाही गरेको उहा“को  भनाई रहेको छ  ।

नारायणी नदी पारिपट्टी रहेको सुस्ता पुग्न स्थानीयहरु डुंगा तर्नुपर्ने बाध्यता रहेको छ कि त १५ किलोमिटर घुमेर भारतीय भूमि प्रयोग गरेर मात्रै सुस्ता पुग्नुपर्ने बाध्यता रहेको छ । पुल निर्माण हुने जानकारी पाएपछि खुशी भएका सुस्ताका बासिन्दा ठेकेदारले काम नगर्दा निराश भएका छन् ।

स्थानीय सरकार  र प्रदेश सरकारले पुल निर्माण गर्न आवश्यक पहल गर्न स्थानीयले माग समेत गरेका छन । नारायणी पारी रहेका सुस्ताबासी पुल निर्माण नहुँदा नेपालसँगको सम्बन्ध नै कम हुने गर्दछ ।

नेपाली प्रशासनको गतिविधि समेत सुस्तामा कम हुने गरेको छ, त्यसको तुलनामा भारतीय गतिविधि बढी हुने गरेको स्थानीयले बताएका छन् ।  पुल नभएकै कारण भारतीय बजार धाउनुपर्ने बाध्यता रहेको छ । गएको स्थानीय तहको चुनावमा  मतपेटीका समेत पुल नहुँदा सुस्ताका मतपेटीका घण्टाैं लगाएर डुँङ्गाबाट तारीएको थियो ।

पुल बनेपछि सुस्तामा नेपाली प्रशासनको गतिविधि बढ्ने र सुस्ताका बासिन्दाको नेपाली बजारसँगको निकटता बढाउने भएपछि भारतीय दवावकै कारण झोलुङ्गे पुल निर्माण रोकिएको हुन सक्ने कतिपय स्थानीयले   आशंका व्यक्त गरेका छन् ।

अन्तिम अपडेट: चैत १४, २०८०

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया