‘जमिन गलेकोले पहिरोको जोखिम अझ बढ्यो, चनाखो रहनुस्’

 असार २९, २०७७ सोमबार १३:३४:१५ | मदन पौड्याल
unn.prixa.net

काठमाण्डौ – चार दिन लगातार पानी परेको पहाडी भूभागमा पहिरोको जोखिम अझ बढेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

चार दिन लामो वर्षाले पहाडी भेगको जमिन गलिसकेकाेले कतिपय ठाउँमा पहिरो अझै जान सक्नेबारे चनाखो रहन प्राधिकरणले सचेत गराएको छ । लगातार परेको पानीले जमिन गलिसकेकाले थोरै पानी पर्दैमा पहिरोको जोखिम बढी हुने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताउनुभयो ।

‘गएको बिहीबारदेखि लगातार पानी परेपछि जमिन गलेको छ’, उहाँले भन्नुभयो, ‘पहिरोको जोखिम अझ बढेको छ ।’ उहाँले पहिरोको जोखिम भएको क्षेत्रमा चनाखो रहनसमेत आग्रह गर्नुभएको छ । 

पहिरोको पूर्वसूचना छैन । कुन बस्तीमा पहिरोको जोखिम हुन्छ भन्ने पहिल्यै पहिचान गर्न मुस्किल हुन्छ । समुदायको ज्ञान र अनुभवकै आधार निकै भरपर्दो हुने भन्दै उहाँले पूर्वसतर्कता अपनाउन आग्रह गर्नुभएको छ । 

भूकम्प प्रभावित जिल्लाका केही ठाउँमा भने पहिले नै जोखिम क्षेत्र पहिचान भइसकेको छ । जोखिम आँकलन गरिएको क्षेत्रमा नबसी सुरक्षित ठाउँमा बस्न स्थानीयबासिन्दालाई पोखरेलेको अनुरोध छ । उहाँले अहिले भेल पहिरो बढी आउने गरेको पाइएको र विगतमा पहिरो खसेर बनेको भूभागमा कम्तीमा मनसुन सक्रिय भएका बेला नबसी अन्यत्रै सुरक्षित ठाउँमा बस्न आग्रह गर्नुभएको हो ।

प्राधिकरणका अनुसार यस पटक मनसुन सुरु भएको पहिलो ३० दिनमा पहिरोले धेरै क्षति गरेको छ । यो वर्ष वैशाखदेखि अहिलेसम्म प्रशस्त पानी परिरहेकोले भेल पहिरो, बाढी र डुबानको जोखिम बढाएको प्राधिकरणले जनाएको छ । तर अहिलेसम्म बाढीले तुलनात्मक रुपमा कम क्षति गरेको पनि पोखरेलको भनाइ छ । 

खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् शिवकुमार बाँस्कोटाले भौगोलिक विविधता रहेकाले एक ठाउँको अध्ययनले अर्काे ठाउँमा काम गर्न नसक्ने भएकाले जोखिम पहिचान गरी सुरक्षित भएर बस्नुपर्नेमा जोड दिनुभयो । उहाँका अनुसार मनसुन सक्रिय भएपछि मुख्य गरी चुरे क्षेत्र र महाभारत क्षेत्रमा बढी पहिरो जाने गरेको छ ।

एक महिनामा ९१ जनाको ज्यान गयो, ४४ जना बेपत्ता

मनसुन सुरु भएपछिको एक महिनामा विपद्का घटनामा ९१ जनाको ज्यान गएको छ । ४४ जना बेपत्ता रहेका छन् । मनसुनपछिको विपद्ले देशका २० जिल्ला बढी प्रभावित भएका छन् । अहिलेसम्म म्याग्दी, सिन्धुपाल्चोक, पर्वत, बझाङ, कास्की, जाजरकोट, सङ्खुवासभा, पाल्पा, लमजुङ, गुल्मी, झापा, चितवन, सल्यान, कालीकोट, सुर्खेत, गोरखा, स्याङ्जा, बाग्लुङ, डोटी र दार्चुला बढी प्रभावित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

सबैभन्दा धेरै म्याग्दीमा २८, जाजरकोटमा ११, पर्वतमा नौ, बझाङ र कास्कीमा सात/सात जना, गुल्मीमा पाँच, पाल्पा र लमजुङमा चार/चार जना, सिन्धुपाल्चोकमा तीन जनाको ज्यान गएको प्राधिकरणको तथ्याङ्क छ । त्यस्तै रुकुम पश्चिम र दार्चुलामा दुई/दुई जना, गोरखा, स्याङ्जा, बाग्लुङ, डोटी, सल्यान, कालीकोट, सुर्खेत, झापा र चितवनमा एक/एक जनाले ज्यान गुमाएका छन् । सबैभन्दा धेरै भेल पहिरोले क्षति पुर्‍याएकाेछ ।

पर्वतको दुर्लुङमा जङ्गल माथिबाट भेल पहिरो खसेको थियो । बझाङ र गुल्मीमा पनि भेल पहिरोले क्षति गरेको प्राधिकरणले जनाएको छ । बझाङ र गुल्मीमा एक/एक जना बेपत्ता छन् । त्यस्तै सिन्धुपाल्चोकमा २०, सङ्खुवासभामा ११, म्याग्दीमा चार, जाजरकोटमा तीन जना बेपत्ता रहेका प्राधिकरणले जनाएको छ । बझाङको कालङ्गा र बर्दियाको बबई नदीमा दुई/दुई गरी चार जना बेपत्ता भएका छन् । 

तराईका विभिन्न जिल्लामा डुबान र कटानको समस्या रहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताउनुभयो । बेपत्ताहरूको खोजी र प्रभावितलाई राहत तथा पुनर्स्थापानको काम भइरहेको गृह मन्त्रालयले जनाएको छ । भेल पहिरो, बाढीमा ज्यान गुमाएका र बेपत्ताहरुको विवरण सङ्कलनको काम भइरहेको र अध्यावधिक आधिकारिक विवरण छिट्टै सार्वजनिक गर्ने तयारी भइरहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया