भारतमा बसेर नेपालमा हातहतियार र लागुऔषध कारोबार गर्ने गिरोहका मुख्य नाइके पक्राउ

 भदौ ७, २०७७ आइतबार १७:२७:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डौ – हातहतियार खरखजना तथा लागुऔषध मुद्दाका फरार प्रतिवादी भारत बिहार बस्ने ३९ वर्षका बग्गा भन्ने प्रदीप यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

यादवलाई विराटनगर महानगरपालिका १६ दरैयाबाट लागुऔषध १५ बोतल डाइलेक्स डिसी, ५० चक्की नाइट्रोसन र ५१ चक्की नाइट्राभेटसहित शनिबार पक्राउ गरेको प्रहरीले जनाएको छ । यादव भारतमा बसी नेपालको १ नम्बर र २ नम्बर प्रदेशका जिल्लामा अवैधरुपमा हातहतियार तथा लागुऔषधको कारोबार सञ्जाल विस्तार गरी आपराधिक कार्य गर्ने गिरोहका मुख्य नाइके रहेको खुल्न आएको छ । 

यादवले २०७५ मङ्सिर ३ गते उदयपुरको उदयपुरगढी गाँउपालिका १९ का मन्दीप तामाङलाई ‘मेड इन यूएसए’ लेखेको अटोमेटिक पेस्तोल र चार थान गोली सुनसरीको इटहरी उपमहानगरपालिका १२ खनार बस्ने ३५ वर्षीय सुशील कुमार साहुलाई दिन भनी भारतबाट अवैध हातहतियार नेपालतर्फ पठाएका थिए । मन्दीप र सुशीललाई विराटनगर महानगरपालिका १६ को विराटनगर हुलास मेटल चोकबाट प्रहरीले पक्राउ गरी हातहतियार तथा खरखजनासम्बन्धी मुद्दा चलाएको र ती हातहतियार नेपालतर्फ पठाउने गिरोहका मुख्य नाइके यादव रहेको खुल्न आएको थियो । 

यसैगरी २०७५ मङ्सिर ८ गते उनले विराटनगर महानगरपालिका १६ बस्ने २२ वर्षीय विद्यानन्द मण्डल र २० वर्षीय अनुप गिरीलाई तीन सय ८० एम्पुल विभिन्न नियन्त्रित लागुऔषध, एक सय पाँच ग्राम एक सय १० मिलीग्राम ब्राउन सुगर शरीरमा टेपले बाँधी, कटुवा पेस्तोल र दुई राउण्ड गोलीसमेत विराटनगरको बसपार्कमा सुनसरी धरान उपमहानगरपालिका घर भइ ललितपुरको ललितपुर महानगरपालिका ४ एकान्तकुनामा डेरा गरी बस्ने ४१ वर्षीय रुपम राईले पाउने गरी दिइ पठाएका थिए ।

यो घटनामा संलग्न तीन जनालाई प्रहरीले विराटनगर महानगरपालिका ११ को बसपार्कबाट पक्राउ गरी लागुऔषध तथा हातहतियार खरखजना मुद्दा चलाएकोमा हातहतियार र लागुऔषध नेपालतर्फ पठाउने गिरोहको मुख्य नाइके समेत यादव रहेको खुल्न आएको थियो । थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

अन्तिम अपडेट: कात्तिक ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया